गणेश मौनी
सिलगढी
डोटी जिल्लाको खप्तड आसपासको क्षेत्रलाई केन्द्र बिन्दु बनाएर हिजो मध्य राती गएको शक्तिशाली भुकम्पले सिंगो सुदूरपश्चिम हल्लाएको छ । भुकम्पका कारण डोटी जिल्लामा ६ जनाको मृत्यू र ५ जना घाईते भएका छन ।
हिजो गएको भूकम्पका कारण घर भत्किन गई डोटीको पूर्बिचौकी गाउँपालिका वडा नंं ३ ठाडाँगाउँ गैरागाउँमा मृत्यू हुनेहरुमा ४ जना बालबालिका र २ जना बयस्क रहेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरु ५० वर्षिय प्रेम बोहरा, ४० वर्षिया भगवती बोहरा, १४ वर्षिया धनसरी बोहरा, १४ वर्षिया तुल्सि बोहरा, १३ वर्षिय सीता बोहरा, र ८ बर्षिय हर्क बोहरा रहेको ईलाका प्रहरी कार्यालय सानागाउँका प्रहरी सहायक निरिक्षक नयनसिंह भाटले जानकारी दिनु भयो । यसै गरि घाईते हुनेहरुमा क्रमस : ईन्नरीदेबि बोहरा, धौली बोहरा, किस्ना बोहरा, साना बोहरा र महाबिर बोहरा रहेका छन । घाईते भएका ५ जनालाई उपचारको लागि जिल्ला अस्पताल डोटी ल्याईएको छ । भुकम्पका कारण गैरागाउँका ८ घर पूर्ण रुपमा क्षेतीग्रस्त भएको प्रहरीले जनाएको छ ।
जिल्लाभरि भुकम्पको झड्काले दर्जनौं घरहरुलाई क्षेती पूर्याएको स्थानीय बासिन्दाहरुले फोन तथा सामाजिक सन्जाल मार्फत जानकारी गराएका छन । भुकम्प कारण जिल्लाभरि भएको क्षेतीको विवरण आउन बाँकी रहेको बताईएको छ ।
भूकम्प मापन केन्द्रका अनुसार डोटी जिल्लामा केन्द्र विन्दू बनाई गएको सो भूकम्प ६ दशमलव ६ रेक्टर स्केलको हो । मध्यराति २ बजेर १२ बजे शुरु भई केही सेकेन्डसम्म गएको सो भूकम्पले सुदूरपश्चिमका अधिकांश जिल्लाहरुमा प्रभाव पारेको बताईएको छ ।
यसअघि हिजोमात्रै डोटी नै केन्द्रविन्दू बनाएर दुईपल्ट भूइचालोहरु गएका थिए । केन्द्रको रेकर्डअनुसार, हिजो सांझ ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ रेक्टर स्केल र ९ बजेर ७ मिनेटमा ५ दशमलव ७ रेक्टर स्केलका भूइचालोले सुदूर पश्चिम क्षेत्रलाई निकै नै हल्लाएको थियो ।