
घण्टेश्वर अनलाईन
टेक्सास अमेरिका
टेक्सास राज्यका बिभिन्न स्थानमा रहेका नेपाली समुदायले यस बर्षको होली पर्ब उल्लासपूर्बक मनाएका छन । नेपालका बिभिन्न जिल्लाबाट आएर टेक्सासका बिभिन्न स्थानमा बसोबास गर्ने नेपाली समुदायले क्षेत्रगत रुपमा आफ्नो सँस्कृति अनुसार शनिबार र आईतबार होली पर्ब मनाएको नेपाली समाज टेक्सासका महासचिब सन्देश उप्रेतीले जानकारी दिनु भयो ।
महासचिब उप्रेतीका अनुसार टेक्सासमा नेपाली समुदायको नेतृत्वदायी सँस्थाका रुपमा नेपाली समाज टेक्सास रहेको छ भने नेपालको भुगोल अनुसार क्षेत्रगत रुपमा बिभिन्न समाजहरु कृयाशिल रहेका छन ।
होली कार्यक्रममा नेपालीहरु आफ्नो सँस्कृति अनुसार पोशाक, भेषभुषामा सजिएर आउनुका साथै कार्यक्रममा बिभिन्न साँस्कृतिक प्रस्तुतीका साथै बिभिन्न खानाका परिकारहरुले सहभागीलाई नेपालको झल्को दिलाएको थियो ।
बिभिन्न समाजले आयोजना गरेको होली कार्यक्रममा युवा मात्र नभएर नेपालबाट आएका अभिभावक, बालबालिकाले समेत उत्तिकै मनोरञ्जन लिएका थिए । ‘अमेरिकामा मनाईने चाडपर्बको मुख्य उद्देश्य नै नेपाली संस्कृति र परम्परालाई प्रवद्र्धन गर्ने र अमेरिकामा जन्मेका र हुर्केका दोस्रो पुस्तालाई चिनाउने हो,’ महासचिब उप्रेतीले भने ।
टेक्सासको ग्रेपभाईनमा नेपाली समाजको मेघा होली
नेपाली समाज टेक्सास र ईन्द्रणी साँस्कृतिक सँघको आयोजनामा आईतबार टेक्सासको ग्रेपभाईन पार्कमा मेघा होली कार्यक्रम आयोजना गरियो । होली कार्यक्रममा एक आपसमा रङ्ग लगाएर शुभकामना आदान प्रदान कार्यक्रमका साथै वालवालिकाका लागि बिभिन्न खेलकुद कार्यक्रम, ईन्द्रणी साँस्कृतिक सँघका कलाकारहरुद्वारा बिबिध साँस्कृति कार्यक्रम प्रस्तुती गरिएको थियो ।
कार्यक्रममा प्रस्तुत गरिएको बिबिध साँस्कृतिक कार्यक्रमले होली कार्यक्रमलाई थप सँगीतमय बनाएको थियो । यसका साथै स्थानीय कलाकार तथा ब्याण्डले समेत कार्यक्रममा सांगीतिक रंग भरिदिएका थिए । कार्यक्रममा सहभागी हुन आएका अभिभावकहरु समेत विभिन्न रंगमा रंगिएर आधुनिक संगीतमा नाचिरहेका थिए ।
होली कार्यक्रममा सहभागिहरुलाई धन्यवाद दिदै नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेले नेपालीहरु भौतिक रुपमा जति टाढा भएपनि नेपाली चाडपर्बले एकताबद्ध बनाएको बताउनु भयो ।
यसैगरि ईन्द्रेणी साँस्कृतिक सँघका बरिष्ठ उपाध्यक्ष सन्जिव पराजुलीले नेपाली सँस्कृति नै नेपालीहरुको वास्तविक पहिचान भएकाले नेपाली सँस्कृतिको सँरक्षण र सम्बद्र्धन गर्ने जिम्मेवारी पनि नेपालीको भएको धारणा ब्यक्त गर्नु भयो ।
उक्त होली कार्यक्रममा करिब २ हजार ५ सय नेपाली समुदायको उपस्थिती रहेको महसचिब सन्देश उप्रेतीले जानकारी दिनु भयो ।
सुदूरपश्चिमको सँस्कृति झल्किने होली
सुदूरपश्चिम नेपाली समाज टेक्सासको आयोजनामा शनिबार ग्रेपभाईन पार्कमा होली कार्यक्रम आयोजना गरिएको थियो । ड्यालस, फोर्टवर्थ, अस्टिन तथा ह्युस्टन क्षेत्रबाट समेत सुदूरपश्चिमेलीहरुको उल्लेख्य सहभागिता रहेको उक्त होली कार्यक्रममा सुदूरपश्चिम क्षेत्रमा प्रसिद्ध होली गीत तथा डेउडा गीत प्रस्तुत गरिएको थियो ।
उक्त होली कार्यक्रममा सुदूरपश्चिमको प्रसिद्ध डेउडाका पारखीहरु धित मरिन्जेल डेउडा खेल्नुका साथै डेउडा गीतमा नाचेका थिए । सुदूरपश्चिमको सँस्कृतिको सम्बद्र्धन गर्ने उद्देश्यले होली लगायतका चाडपर्बहरु मनाउने गरिएको समाजका अध्यक्ष नवराज योगीले बताउनु भयो ।
मधेशी समुदायको पहिचान सहितको होली
टेक्सासको बिभिन्न स्थानमा बसोवास गर्ने मधेशी समुदायले आफ्नो पहिचान सहित टेक्सासको ग्रेपभाईन पार्कमा होली पर्ब मनाएका छन ।
अमेरिका मधेशी समाज र मधेशी एशोसियशन अफ अमेरिकाको सँयुक्त आयोजनामा भएको होली कार्यक्रममा मधेशी महिला पुरुषहरु आफ्नो पोशाकमा सजिएर होली मनाएका थिए ।
शनिबार आयोजना गरिएको होली कार्यक्रममा टेक्सासका बिभिन्न स्थानबाट मधेशी अगुवाहरु सहित मधेशी महिला पुरुषको उल्लेख्य सहभागिता रहेको थियो ।
रङ्गहरुको पर्ब होलीको अवसरमा बिभिन्न होली गीतहरु प्रस्तुत गरिनुका साथै नाचगान गरेर होली कार्यक्रमलाई थप रङ्गीन र सँङ्गीतमय मनाएका थिए ।
लुम्बिनीबासीहरुको साँस्कृतिक झाँकी सहितको होली
यस बर्षको होली पर्ब टेक्सासमा बसोवास गर्ने लुम्बिनीबासीहरुले धुमधामका साथ मनाएका छन । लुम्बिनी सेवा समाज अमेरिकाको आयोजना तथा आईटी सुत्र तथा एभरेष्ट फेडरल क्रेडिट युनियनको सहयोगमा अर्लिङटनको रिभर लिगेसी पार्कमा होली कार्यक्रम आयोजना गरिएको थियो ।
टेक्सासका बिभिन्न स्थानमा बसोवास गर्ने लुम्बिनीबासीहरुको उल्लेख्य सहभागिता रहेको होली बिशेष कार्यक्रममा शुभकामना आदान प्रदान कार्यक्रम, लुम्बिनी क्षेत्रको सँस्कृति झल्किने बिबिध साँस्कृतिक कार्यक्रमहरु, झाँकीहरु, प्रस्तुत गरिनुका साथै वाल वालिकाका लागि बिबिध खेलकुद कार्यक्रमको आयोजना गरिएको समाजका महासचिब युधिष्टर नेपालले जानकारी दिनु भयो ।
सँस्थाका महासचिब युधिष्टर नेपालको अध्यक्षता तथा सचिब शिब गैरेको सन्चालनमा सम्पन्न होली कार्यक्रममा कोषाध्यक्ष टँक अधिकारीले स्वागत गर्नु भएको थियो ।