कबिराम डाँगी
जोरायल, डोटी
“ओई काँजल, आँखी लगाई दे गाजल” डोटीका लोकप्रिय कलाकार चक्र बमको स्वरमा रहेको चर्चित र सार्बधिक रुचाईएको गीत हो । यस गीतका गायक डोटीका लोकप्रिय कलाकार चक्र बमले जोरायलमा जारी जोरायल महोत्सबको अन्तिम दिन मन्चमा गाउँदा दर्शकहरु धुलो उड्ने गरि नाचें । कतिपय युवाहरु यो गीत फेरी गाउन आग्रह गर्दै वन्स मोर भन्दै थिए ।
जोरायलमा जारी जोरायल महोत्सबको अन्तिम दिन शनिबार डोटीका लोकप्रिय कलाकार चक्र बमले आफ्ना प्रस्तुतीहरु मार्फत दर्शकहरुलाई भरपुर मनोरन्जन दिए । उनले आफ्नो स्वरमा रहेका बिभिन्न गीतहरु प्रस्तुत गरेका थिए ।
युवाहरु माझ लोकप्रिय तथा चर्चित कलाकार चक्र बम जोरायल महोत्सबको अन्तिम दिन आउने खबर पाएपछि महोत्सबमा दर्शकहरुको निकै ठूलो भिड लागेको थियो ।
दर्शकहरुको भिड बढेपछि प्रहरी तथा स्थानीय स्वयंसेवकलाई व्यवस्थापन गर्न हम्मेहम्मे परेको थियो ।
२०७९ चैत्र २८ गते देखि शुरु भएको जोरायल महोत्सबको अन्तिम दिन कलाकार चक्र बमका साथै अन्य कलाकारहरु गणेश चौतारी, सरस्वती धामी, हरिष काकी, बाल कलाकार सोहन ओझा तथा कलाकार तथा मोडेल शोभा त्रिपाठीले बिभिन्न प्रस्तुती मार्फत मनोरन्जन दिएका थिए ।
“शिक्षा, स्वास्थ्य, खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवर्द्धन ः जोरायल महोत्सव कला, सीप र संस्कृतिको संरक्षण” भन्ने नाराका साथ आयोजना गरिएको उक्त महोत्सबमा बाहिरी भन्दा स्थानीय कला, सँस्कृति तथा प्रतिभाहरुलाई स्थान दिईएको आयोजक सँस्था युनिक युथ स्पोर्ट्स क्लबका अध्यक्ष पवन शाहुले बताउनु भयो ।
अध्यक्ष शाहुका अनुसार स्थानीय कला, सँस्कृतिको सम्बद्र्धन, व्यापार व्यवसाय तथा कृषि, पर्यटनको प्रबद्र्धनमा टेवा पुर्याउने उद्देश्यले महोत्सब आयोजना गरिएको थियो ।
महोत्सब नाफा घाटा भन्दा पनि जोरायललाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन गरिएको प्रयास हो । आगामी वर्ष महोत्सबबाट शिक्षा लिदै थप व्यवस्थित रुपमा महोत्सब आयोजना गरिने अध्यक्ष पवन शाहुको भनाई थियो ।
महोत्सबमा जोरायल गाउँ पालिका वडा नं. १ स्थित जैविक विविधता कृषि सहकारी सँस्था लिमिटेडको स्टल मुख्य आकर्षण थियो । सहकारीले लोपोन्मुख वालीको खाद्य परिकार, लोपोन्मुख वालीको प्रदर्शनी, मूल बिऊ प्रदर्शनी गरेको थियो ।