घण्टेश्वर अनलाईन
बडिकेदार, डोटी
डोटीको बडीकेदार गाउँपालिकामा भ्रष्टाचार र अनियमितता बढेको भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बुधबार गाउँ पालिका कार्यालयमा तालाबन्दी गरेको छ ।
बडिकेदार गाउँ पालिकामा दिनप्रतिदिन बढ्दै गएको भ्रष्टाचार अनियमितताको छानबिन गरि कारवाहीको माग गर्दै दुई महिना अघि गाउँ पालिकामा बुझाएको ज्ञापन पत्रको कुनै सुनुवाई नभएकाले अनिश्चितकालिन तालाबन्दी गर्नु परेको सो पार्टीले बिज्ञप्ती मार्फत जानकारी दिएको छ ।
बडिकेदार गाउँपालिकामा गुणस्तरहिन औषधी खरिद गरेको, सामाजिक सुरक्षा भत्ता वितरण झञ्झटिलो बनाएको, गाउँपालिकाका बिभिन्न योजनामा भ्रष्टाचार हुने गरेको, गाउँपालिकाले कर्मचारी भर्नामा मनोमानी गरेको लगायतका जनगुनासाहरु ब्यापक रुपमा आएको भन्दै बिभिन्न १२ वटा माग राखेर गत फागुन १२ गते सो पार्टीले गाउँ पालिका कार्यालयमा ज्ञापनपत्र बुझाएको थियो ।
गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएपछि गाउँ पालिकाबाट प्रदान गरिने सेवाहरु प्रभावित भएका छन । ‘हामी कार्यालयमा काम गर्दै थियौं, बन्दकर्ताहरु आउनुभयो, कर्मचारी सबैलाई बाहिर पठाएर तालाबन्दी गर्नुभयो’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलाराज भट्टले जानकारी दिनु भयो ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको तालाबन्दी खुलाउन जनप्रतिनिधीहरु र बन्दकर्ता पार्टीका बिचमा छलफल भईरहेको बडिकेदार गाउँपालिकाले जनाएको छ । तर सो पार्टीले बडिकेदार गाउँपालिकामा भएको भ्रष्टाचार अनियमितता छाविन गरि कारवाही गरिनु पर्ने र जनताका गुनासाहरु सम्बोधन गरिनु पर्ने माग राखेको छ ।