सुदूरपश्चिमको पर्यटन प्रबर्द्धन गर्न खप्तडमा अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन हुने

घण्टेश्वर अनलाईन
सिलगढी डोटी
सुदूरपश्चिमको पर्यटन प्रबर्द्धन गर्न पर्यटकीय क्षेत्र खप्तडमा ३ दिने  अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन हुने भएको छ ।
सुदूरपश्चिमको धार्मिक, ऐतिहासिक तथा प्रमुख पर्यटकीय स्थल खप्तडलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्ने उद्देश्यले खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिले सम्मेलनको आयोजना गर्न लागेको हो ।
यही जेष्ठ महिनाको २३ गते देखि शुरु हुने ३ दिने सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक भीमबहादुर खड्काले जानकारी दिनु भयो । कार्यकारी निर्देशक खड्काका अनुसार उक्त सम्मेलनमा योगगुरु रामदेव, जगतगुरु कृपाचार्य, आचार्य बालकृष्ण, पूर्वप्रधानमन्त्री, सङ्घीय र प्रदेश सरकारका मन्त्रीहरुको सहभागिता रहने छ भने सम्मेलन अबधिभर स्वामी रामदेवले योगाभ्यास र ध्यान गराउने तथा प्रवचन दिने तय भएको छ । सम्मेलनका क्रममा खप्तडको पौराणिक र आध्यात्मिक पक्षका विषयमा कार्यपत्र प्रस्तुत गरिने खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिले जनाएको छ ।
बिभिन्न राजनैतिक, प्रशासनिक, सामाजिक, शैक्षिक, धार्मिक, पत्रकारिता लगायतका क्षेत्रबाट करिब ५ सय जना अगुवा ब्यक्तित्वहरुलाई सहभागि गराउने लक्ष रहेको उक्त सम्मेलनमा करिब ३ करोड खर्च हुने अनुमान गरिएको छ ।
सम्मेलनको तयारी क्रममा बिहिवार धनगढीमा आयोजना गरिएको तयारी बैठकमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, प्रदेश मन्त्रीहरु, साँसदहरु तथा स्थानीय तहका जनप्रतिनिधिहरुले सम्मेलन सुदूरपश्चिमको ईज्जत र प्रतिष्ठाको बिषय भएकाले सफल बनाउन लाग्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
तयारी बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले धार्मिक सम्मेलनले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा खप्तडको पहिचानलाई थप बढाउने विश्वास व्यक्त गर्नु भयो ।

सुदूरपश्चिमको डोटी, अछाम, बझाँग र बाजुरा जिल्लाको सँगम स्थल खप्तडमा हरेक बर्ष गँगा दशहराको दिन मेला लाग्ने गर्दछ । खप्तड घुम्नका लागि जेठ, असारदेखि मङ्सिरसम्मको समय उपयुक्त मानिन्छ ।

Leave A Reply

Your email address will not be published.