गणेश मौनी
सिलगढी
यस बर्षको खप्तड दशहरा मेला खेलकुदमय बनाईने भएको छ । खप्तड दशहरा मेलालाई खेलकुदमय बनाउन डोटी उद्योग वाणिज्य सँघ डोटी तथा सुदूरपश्चिम प्रदेश खेलकुद परिषदले बिभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्ने भएका छन ।
सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तडमा जेष्ठ महिनाको १६ गते लाग्ने यसबर्षको दशहरा मेलामा आउने दर्शनार्थीहरु तथा पर्यटकहरुले खप्तडको सुन्दरताको अवलोकन गर्नुका साथै साँस्कृतिक कार्यक्रमका साथै खेलकुद कार्यक्रमको माध्यमबाट मनोरन्जन लिने डोटी उद्योग वाणिज्य सँघका अध्यक्ष मोहन कलेलले बताउनु भयो ।
अध्यक्ष कलेलका अनुसार खप्तड सुदूरपश्चिमको ऐतिहासिक, धार्मिक तथा आफैमा सुन्दर स्थल त हुदै हो । त्यसमा पनि सुन्दर खप्तडमा थप आकर्षण थप्न दशहरा मेलाको अवसर पारेर बिभिन्न कार्यक्रमहरु आयोजना गरिएको हो ।
खप्तड दशहरा मेलाको अवसरमा हाई अल्टिच्युड म्याराथन प्रतियोगिता, महिलाहरुका लागि हाफ म्याराथन प्रतियोगिता, घोडा दौड प्रतियोगिता, पुरुष भलिबल प्रतियोगिता तथा डेउडा गीत प्रतियोगिता आयोजना गर्ने कार्यक्रम रहेको छ । बिभिन्न खेलकुद प्रतियोगितामा सुदूरपश्चिमका करिब ३ सय खेलाडीहरु तथा करिब १० हजार बढी आन्तरिक पर्यटकहरुले खप्तड तथा मेलाको अवलोकन गर्ने अनुमान गरिएको छ ।
खप्तड शैलेश्वरी हाई अल्टिच्युड म्याराथन प्रतियोगिता मेलाको प्रमुख आकर्षण रहेको आयोजकले बताएका छन । म्याराथनको नियम अनुसार न्यूनतम ४२.५ किलोमिटर दुरीमा प्रतियोगिता सन्चालन गरिने छ । तीन हजार तीन सयको उचाईबाट प्रतियोगिता सन्चालन हुने भएकाले यसलाई हाई अल्टिच्युड भनिएको हो । प्रतियोगिताको हिसाबमा हाई अल्टिच्युड म्याराथन प्रतियोगिता नेपालमै पहिलो प्रतियोगिता रहेको भैरव प्रसाद गण सिलगढीका गणपति जनमत कार्कीले जानकारी दिनु भयो ।
खुल्ला प्रतियोगिता भएकाले म्याराथनमा प्रतियोगितामा सुदूरपश्चिमका बिभिन्न जिल्लाबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीहरु, हरेक जिल्लाका खेलकुद बिकास समितिले सिफारिस गरेका महिला पुरुष खेलाडीहरु तथा ७ देखि १० जना सम्म बिदेशी खेलाडीहरु आउने सम्भावना रहेको छ । आयोजक जिल्ला भएकाले डोटीबाट खेलाडीको सँख्या बढी हुन सक्ने आयोजकले बताएका छन ।
आयोजकका अनुसार म्याराथन प्रतियोगिताको लागि खुल्लातर्फ ६० जना र बिभागिय तर्फ करिब ४० जना गरी बढीमा १०० जनाको सहभागिता रहने छ भने प्रतियोगितामा प्रथम हुनेलाई एक लाख २५ हजार, द्वितीयलाई ८० हजार र तृतीय हुनेलाई ५० हजार, सान्त्वता हुने ७ जनालाई क्रमशः १०, ९, ८, ७, ६, ५ र ४ हजार नगद पुरस्कार दिइने छ ।
खप्तड मेलाको अवसरमा आयोजना गरिने खेलकुद तथा साँस्कृतिक कार्यक्रमको लागि कुल २६ लाख आठ हजार पाँच सय खर्च हुने र डोटीका स्थानीय तह तथा खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले खर्च व्यवस्थापन गर्ने बताईएको छ ।
यस्तै हाफ म्याराथन (महिला) मा प्रथमहुनेलाई ५० हजार , द्वितीय हुनेलाई ३० हजार, तृतीय हुनेलाई २० हजार नगद पुरस्कार दिइने छ । सान्त्वना हुने २ जनालाई ५ हजार र २ हजार दिईने बताइएको छ । मेलाको अवसरमा आयोजना गरिने पुरुष भलिबल प्रतियोगिता, घोडा दौड प्रतियोगिता तथा देउडा प्रतियोगितका बिजेताहरुलाई आकर्षक पुरुस्कारको व्यवस्था गरिएको डोटी उद्योग वाणिज्य सँघले जनाएको छ ।
आयोजकका अनुसार म्याराथन प्रतियोगिता जेठ १७ गते बिहान ६ बजे खप्तडदेखि शैलेश्वरीसम्म र महिलाहरुका लागि हाफ म्याराथन सोहि दिन सोही समयमा झिग्रानादेखि शैलेश्वरीसम्म संचालन हुने भएको छ । अन्य कार्यक्रम पुरुष भलिबल प्रतियोगिता जेठ १३ गतेदेखि १६ गतेसम्म, घोडा दौड प्रतियोगिता जेठ १५ गते, देउडा प्रतियोगिता १६ गते राती खप्तड क्षेत्रमै संचालन गरिने कार्यक्रम रहेको छ ।
डोटी उद्योग बाणिज्य संघ दिपायल तथा सुदूरपश्चिम खेलकुद परिषद्को आयोजनामा हुन लागेको प्रतियोगिताको सम्पूर्ण व्यवस्थापन श्री नम्बर ५ बाहिनी अड्डा राजपुर, श्री भैरब प्रसाद गण सिलगढी र सिंह शार्दुल गुल्म खप्तड ब्यारेकले गर्ने भएका छन ।