घण्टेश्वर अनलाईन
सिलगढी
सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तडमा लाग्ने दशहरा मेलाको अवसरमा आयोजना गरिएकोे हाई अल्टिच्युड खप्तड शैलेश्वरी म्याराथन प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका सहभागिहरु बिजेता बनेका छन ।
सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तडमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा पुरुष तर्फ त्रिभुवन आर्मी क्लबका धावक खडकबहादुर खड्का र महिला तर्फ पनि क्लबकै पूर्णलक्ष्मी न्यौपाने बिजेता बनेको आयोजकले जनाएका छन ।
जाजरकोट जिल्ला घर भएका पुरुष तर्फका सहभागि खड्काले निर्धारण गरिएको ४२ किलोमिटर दूरी २ घण्टा ३७ मिनेट ४६ सकेन्डमा पार गरेका थिए । यसै गरि त्रिभुवन आर्मी क्लबकै सहभागि बैतडीका नरेन्द्रसिं रावतले म्याराथनमा दोस्रो स्थान हासिल गरेका छन । उनले २ घण्टा ३९ मिनेट ३४ सेकेन्डमा निर्धारित दूरी पार गरेका थिए । प्रतियोगितामा तेश्रो स्थान हात पारेका जुम्ला स्पोर्टस क्लबका बिरेन्द्र पाण्डेयले निर्धारित दूरी २ घण्टा ४२ मिनेट ४४ सेकेन्डमा पार गरेका थिए ।
यसैगरि महिलातर्फको हाफ म्याराथनमा बिजेता बनेकी त्रिभुवन आर्मीकी पूर्णलक्ष्मी न्यौपाने १ घण्टा १४ मिनेट १८ सेकेन्डमा निर्धारित दूरी २१.५ किलोमिटर पार गरेकी थिईन । यस्तै म्याराथनमा दोश्रो बनेकी नेपाल पुलिस क्लबका सहभागि डोटीकी रेखा बिष्टले १ घण्टा २२ मिनेट १० सेकेन्डमा र तेश्रो स्थान प्राप्त गरेकी भैरव प्रसाद गणकी सहभागि सुन्तली कडायतले एक घण्टा २६ मिनेट ८ सेकेन्डमा दूरी पुरा गरेकी थिईन । म्यारथन प्रतियोगिता अन्तरगत पुरुष तर्फ खप्तड देखि सिलगढीको शैलेश्वरी मन्दिरसम्म ४२ किलो मिटर र हाप म्याराथन अन्तरगत महिलाको लागि झिग्राना देखि सिलगढीको शैलेश्वरी मन्दिरसम्म २१ किलोमीटर दूरी निर्धारण गरिएको थियो ।
उक्त म्याराथन प्रतियोगितामा पुरुष तर्फ प्रथम हुनेलाई १ लाख, दोश्रो हुनेलाई ८० हजार र तेश्रो हुनेलाई ५० हजार नगद, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । यसै गरि महिला तर्फ प्रथम हुनेले ५० हजार, दोश्रो स्थान प्राप्त गर्नेले ३० हजार र तेश्रो स्थान हासिल गर्नेले २० हजार नगद, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकल जनाएका छन ।
कुल ४८ जना स्वदेशी तथा बिदेशी धावकहरु सहभागि बनेको शैलेश्वरी खप्तड म्याराथन प्रतियोगिता डोटी उद्योग वाणिज्य संघ र सुदूरपश्चिम खेलकुद परिषदको आयोजना तथा नेपाली सेनाको भैरव प्रसाद गण सिलगढीले व्यवस्थापन गरेको थियो ।