सामुदायिक पत्रकारिताले समुदाय वीचको सम्बन्धलाई घनिष्ट बनाउछ – बरिष्ठ उपाध्यक्ष बिष्ट

घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
नेपाल पत्रकार महासँघका बरिष्ठ उपाध्यक्ष रमेश बिष्टले पत्रकारहरुले सामुदायिक पत्रकारिताको माध्यमबाट समुदायसँगको सम्बन्धलाई थप घनिष्ट बनाउदै लग्नु पर्ने बिचार ब्यक्त गर्नु भएको छ ।
नेपाल अमेरिका पत्रकार सँघ.(नेजा) द्वारा आज ड्यालसमा आयोजना गरिएको सामुदायिक अन्तरकृया कार्यक्रममा बिष्टले पछिल्लो समयमा सामुदायिक पत्रकारिताको महत्व झन बढेको बताउदै पत्रकारले सामुदायिक पत्रकारिता नगर्ने हो भने मिडियामा आउने फेक न्यूजका कारण समुदायको मिडिया प्रतिको बिश्वास घट्दै जाने बताउनु भयो ।
नेजाका अध्यक्ष सुरज भण्डारीको अध्यक्षता तथा महासचिब बाबुराम दाहालको सन्चालनमा सम्पन्न सो कार्यक्रममा महासँघका बरिष्ठ उपाध्यक्ष बिष्टले अमेरिकामा नेपाली भाषामा गरिने पत्रकारिताका लक्षित बर्गपनि नेपाली समुदायनै भएकाले नेपालीहरुले प्राप्त गरेका सफलताहरु, सँघर्षका कथाहरु र समुदायका लागि दिएको योगदानका सामग्रीहरु मिडियाले समेट्न सकेमा नेपालबाट हेर्ने दृष्टिकोणमा समेत परिबर्तन हुने धारणा राख्नु भयो ।
बिष्टले नेपाल पत्रकार महासँघ र नेपाल अमेरिका पत्रकार सँघ (नेजा) बिचको सम्बन्धको चर्चा गर्दै भबिश्यमा पनि दुई सँस्था बीचको सम्बन्ध थप बलियो बनेर जाने बिश्वास व्यक्त गर्नु भयो । नेजाद्वारा स्थापित ठूलो धनरासीको ग्रामीण उत्कृष्ट पत्रकारिताका पुरस्कारले नेजालाई समुदाय स्तरमा स्थापित गरिसकेको बताउदै पत्रकारिता पुरस्कारले नेपालका पत्रकारहरुलाई सामुदायिक पत्रकारिता गर्न प्रेरित गरेको धारणा व्यक्त गर्नु भयो ।
उक्त कार्यक्रममा युलेस सिटी काउन्सिलका सदस्य टीका पौडेल, नेपाली समाज टेक्ससका कावा अध्यक्ष जनक भण्डारी, बिडिए टेक्ससका अध्यक्ष अजय बगाले, नेजाका उपाध्यक्ष सुजन पण्डित, क्षेत्रीय सँयोजक रोशन अधिकारी लगायतका बक्ताहरुले अमेरिकामा नेपाली समुदायका लागि नेपाली मिडियाले दिएको योगदान बारे चर्चा गरेका थिए ।  कार्यक्रममा नेपाली समुदायका बिभिन्न सँस्थाका प्रतिनिधिहरु, बिभिन्न मिडियामा आबद्ध पत्रकारहरुको सहभागिता रहेको थियो ।

 

 

Leave A Reply

Your email address will not be published.