घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले अमेरिकाको टेम्पोरेरी प्रोटेक्टेड स्टाटस (टीपीएस) र आप्रवास कानुनको बारेमा नेपाली समुदायलाई जानकारी गराएको छ ।
टेम्पोरेरी प्रोटेक्टेड स्टाटस (टीपीएस) र आप्रवास कानुनको पछिल्लो अपडेटका बारेमा जानकारी दिन नेजाले जूम मार्फत शनिबार अन्तरकृया कार्यक्रमको आयोजना गरेको थियो ।
नेजाका अध्यक्ष सुरज भण्डारीको अध्यक्षता तथा महासचिब बाबुराम दाहालको सन्चालनमा सम्पन्न अन्तरकृया कार्यक्रममा टेम्पोरेरी प्रोटेक्टेड स्टाटस (टीपीएस) र आप्रवास कानुनका जानकार कानूनविद् रमेश श्रेष्ठले पछिल्लो अपडेटको बारेमा जानकारी दिदै टीपीएसमा रहेका व्यक्तिहरूले आफ्ना आफन्तहरूलाई अन्य भिसामा आएका व्यक्तिसरह नै अमेरिकामा आमन्त्रण गर्न सक्ने जानकारी दिनुभयो । कानूनविद् श्रेष्ठका अनुसार ‘टीपीएसमा रहेकाहरूले छोटो अवधिका लागि यात्रा कागजात (ट्राभल डकुमेन्ट) बनाएर अमेरिका बाहिर समेत भ्रमण गर्न सक्नेछन् ।’
यसै गरि अधिकार सँस्थाकी अभियान संयोजक प्रार्थना गुरुङले टीपीएस नवीकरणका लागि अधिकारले अमेरिकाको न्युयोर्क, क्यालिफोर्निया, टेक्सासलगायकाका स्थानमा निःशुल्क टीपीएस क्लिनिक सञ्चालनको तयारी गरिरहेको जानकारी दिनुभयो ।
अभियानकै अनिल शाहीले टीपीएसको समयावधि थपका लागि मात्र नभई टीपीएस वाहकलाई स्थायी रुपमा अमेरिका बस्ने प्रबन्धका लागि दबाबमूलक अभियान चलाउनु पर्नेमा जोड दिनुभयो ।
उक्त अन्तरकृया कार्यक्रममा टेम्पोरेरी प्रोटेक्टेड स्टाटस (टीपीएस) र आप्रवास कानुनका वारेमा सहभागिहरुका बिभिन्न जिज्ञासाको उत्तर कानूनविद् श्रेष्ठले जवाफ दिनु भएको थियो ।
हाल टीपीएस प्राप्त १४ हजार ५ सय नेपाली रहेका छन् । सन् २०१५ मा नेपालमा महाविनाशकारी भूकम्प गएपछि सो समयमा अमेरिकामा रहेका नेपालीहरूका लागि टीपीएस सेवाको घोषणा गरेको थियो ।
अमेरिकाले नेपाललगायत चार मुलुकका टीपीएसधारीका लागि १८ महिनाको समयावधि थप गरेको सन्दर्भमा नेपाली समुदायलाई जानकारी दिन अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको नेजाले जनाएको छ ।
म्याद सकिन केही महिना बाँकी रहँदा डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी डीएचएसले गत १३ जुन, २०२३ मा १८ महिनाका लागि टीपीएसको अवधि थप गर्ने घोषणा गरेको हो । नेपालसँगै एल साल्भाडोर, होन्डुरस र निकारागुवाको पनि टीपीएस सुविधाको म्याद थप गरिएको छ । अब आउँदो २४ अक्टोबरदेखि २३ डिसेम्बर भित्र टीपीएस स्टाटसमा रहेकाहरूले म्याद थपका लाग पुनः दर्ता गर्नुपर्ने छ ।
कार्यक्रममा बोल्दै नेजाका अध्यक्ष सरज भण्डारीले अमेरिकामा रहेका नेपाली समुदायका साझा सरोकारका बिषयमा नेजाले समुदायसँगको अन्तरकृया कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयो ।
नेजाका उपाध्यक्ष सुजन पण्डितले स्वागत तथा कार्यक्रमको उद्देश्य माथी प्रकाश पानु भएको उक्त कार्यक्रममा नेजाका संस्थापक अध्यक्ष गिरीश, पोखरेल, पूर्वअध्यक्ष भोला आचार्य लगायतले आफ्ना धारणा राख्नुभएको थियो ।