नेपाली समुदाय र पत्रकार बीचको सम्बन्ध बलियो बनाउनु पर्ने कुरामा जोड

घण्टेश्वर अनलाईन
लसएन्जल्स, क्यालिफोर्निया
क्यालिफोर्नियाको लसएन्जल्स क्षेत्रमा रहेका नेपाली समुदायका अगुवाहरुले समुदाय र पत्रकारहरुका बीचमा नङ मासुको सम्बन्ध हुनु पर्ने कुरामा जोड दिएका छन ।
नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले सोमबार क्यालिफोर्नियाको लसएन्जल्समा आयोजना गरेको सामुदायिक अन्तरकृया कार्यक्रममा सहभागिहरुले पत्रकारहरु प्रवासमा नेपाली समुदायका आँखा भएकाले पत्रकारहरुले नेपाली समुदायका सवालहरु उजागर गर्नु पर्ने तथा सत्यतथ्य सूचना सम्प्रेषण गर्नु पर्ने बताए ।
सहभागिहरुले समुदाय र पत्रकारहरुका बीचमा नियमित अन्तरकृया हुनु पर्ने, पत्रकारहरुले सामुदायिक पत्रकारिताको माध्यमबाट समुदायका सवाल उजागर गर्दै सहि सूचना प्रवाह गर्नु पर्ने, समुदायले पनि पत्रकारिता क्षेत्रलाई प्रबद्र्धन गर्न सहयोग गर्नु पर्ने, पत्रकारहरुले समुदायलाई बिभाजन होईन जोड्ने काममा सहयोग गर्नु पर्ने धारणा राखेका थिए ।
कार्यक्रममा बोल्दै नेपाल सरकारका महावाणिज्य दूत ऋषि ढकालले अमेरिकामा रहेका नेपाली समुदायका लागि नेपाली पत्रकारहरुले खेलेको भूमिका प्रशँसनिय रहेको बताउनु भयो ।
यसैगरि नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष सुरज भण्डारीले नेजाले सामुदायिक अन्तरकृया लगायत बिभिन्न माध्यमबाट नेपाली समुदायलाई एकताबद्ध बनाउने काममा भूमिका निर्बाह गरेको धारणा व्यक्त गर्नु भयो ।
पत्रकारहरुले समुदायका लागि पत्रकारिता गर्ने भएकाले पत्रकार र समुदायका बीचमा निरन्तर सम्बाद, अन्तरकृया र सहयोग आदान प्रदान हुनु पर्ने अध्यक्ष भण्डारीको जोड थियो ।
नेपाल अमेरिका पत्रकार सँघ (नेजा) का पश्चिम क्षेत्रका क्षेत्रीय संयोजक रोशन अधिकारीले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिदै सामुदायिक अन्तरकृया कार्यक्रमले समुदाय र पत्रकार बीचको सम्बन्ध थप बलियो हुने बताउनु भयो ।
कार्यक्रममा नेपाली समुदायका बिभिन्न सँस्थाका प्रतिनिधिहरु, पत्रकारहरुले आ आफ्ना धारणा व्यक्त गरेका थिए ।

Leave A Reply

Your email address will not be published.