नेपालको राजनैतिक परिबर्तनमा जनसम्पर्क समितिको महत्वपूर्ण योगदान छ ः डिला सङ्ग्रौला, केन्द्रीय सदस्य नेपाली काँग्रेस

घण्टेश्वर अनलाईन
न्यूयोर्क, अमेरिका
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा नेपाल महिला संघका पूर्व अध्यक्ष डा. डिला सँग्रौलाले नेपालको राजनैतिक परिबर्तनमा नेपाली जनसम्पर्क समितिको महत्वपूर्ण योगदान रहेको बताउनु भएको छ ।
नेपाली जनसम्पर्क समिति अमेरिकाले न्यूयोर्कमा आईतबार आयोजना गरेको अन्तरकृया कार्यक्रममा बोल्दै काँग्रेस नेतृ सँग्रौलाले प्रवासमा रहेका नेपाली जनसम्पर्क समिति नेपाली काँग्रेसका महत्वपूर्ण खम्बा रहेको बताउदै नेपालमा शान्ति, लोकतन्त्र र स्थायित्वको पक्षमा निरन्तर खबरदारी गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
नेतृ सँग्रौलाले नेपालको विकासमा गैरआवासीय नेपालीहरुले खेलेको भूमिकाको चर्चा गर्दै गैरआवसीय नेपालीहरुलाई बिना भेदभाव अधिकार दिने कुरामा नेपाली काँग्रेस प्रतिबद्ध रहेको बताउनु भयो ।
उक्त अन्तरकृया कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा नेपाल तरुण दलका पूर्ब अध्यक्ष जीतजँग बस्नेतले नेपालको पछिल्लो राजनैतिक घट्नाक्रमको वारेमा चर्चा गर्दै पार्टीका केही नेताहरुले लोकप्रियताका लागि सार्बजनिक रुपमा ब्यक्त गरेको बोलीले आम कार्यकर्ताहरुमा निराशा पैदा गरेको बताउनु भयो ।
यसैगरि कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका पूर्ब आमन्त्रित केन्द्रिय सदस्य तथा नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्टले नेपाली काँग्रेसको पहलमा नेपालको नागरिकता ऐनको संशोधन विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेसँगै गैरआवासीय नेपाली नागरिकता पाउने बाटो खोल्नु स्वागतयोग्य भएको बताउनु भयो ।
एक पटकको नेपाली सधैंको नेपाली भएकाले गैरआवासीय नेपालीहरुले नेपाली नागरिक सरह जन्मसिद्ध अधिकार, सांस्कृतिक अधिकार पाउनु पर्ने नेता बिष्टको भनाई थियो । नेता बिष्टले नेपाली जनसम्पर्क समिति तथा आम गैरआवासीय नेपालीहरुले बिगत लामो समय देखि उठाउदै आएको कतिपय सवालहरु नागरिकता बिधेयकमा समेटिएको बताउदै नेता बिष्टले थप अधिकारको लागि सँघर्ष गर्नु पर्ने धारणा राख्नु भयो ।
नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिब मुनेन्द्रविक्रम नेङ्वाङको सन्चालनमा सम्पन्न कार्यक्रममा महासमिति सदस्य मृदुला कोइरालाले पनि समयसामयिक नेपाली राजनैतिक घट्नाक्रमको बारेमा बोल्नु भएको थियो । कार्यक्रममा कांग्रेस पूर्व महासमिति सदस्य श्यामकाजी गुरुङले स्वागत गर्नु भएको कार्यक्रममा नेपाली समुदायका अगुवाहरुको उपस्थिती रहेको थियो ।