घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास
नेपालका चर्चित तेक्वान्दो खेलाडी दीपक बिष्टको टेक्सासको ड्यालस स्थित नेपाली समुदायद्वारा भब्य स्वागत तथा सम्मान गरिएको छ । पारिवारिक भ्रमणमा अमेरिकामा रहेका खेलाडी बिष्ट दम्पतीलाई नेपाली समाज टेक्सास तथा सुदूरपश्चिम नेपाली समाज टेक्सासले सँयुक्त रुपमा एक कार्यक्रमको आयोजना गरि स्वागत तथा सम्मान गरेका हुन ।
ड्यालसको हस्र्टमा सोमबार आयोजना गरिएको सम्मान कार्यक्रममा नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्ले, पूर्ब अध्यक्ष दिनेश शर्मा तथा सुदूरपश्चिम नेपाली समाजका अध्यक्ष नवराज नाथ योगी तथा पूर्ब अध्यक्ष प्रेमबहादुर शाहीले किर्तिमानी तेक्वान्दो खेलाडी बिष्ट दम्पतीलाई खादा, सम्मान पत्र तथा मायाको चिनो प्रदान गरेका थिए । उक्त अवसरमा टेक्सासको ड्यालसमा कर्मक्षेत्र बनाएका नेपालका बिभिन्न खेलका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीलाई पनि सम्मान गरिएको थियो ।
उक्त स्वागत तथा सम्मान कार्यक्रममा बोल्ने नेपाली समुदायका अगुवाहरुले कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक बिष्टले नेपालको खेलकुद क्षेत्रमा पुर्याएको योगदानको जति चर्चा गरेपनि कमि हुने बताउदै राष्ट्रले बिष्ट जस्ता खेलाडीको उचित मुल्याँकन गर्नु पर्ने बिचार व्यक्त गरेका थिए ।
सुदूरपश्चिम नेपाली समाज टेक्सासका अध्यक्ष नवराज नाथ योगीको अध्यक्षता तथा नेपाली समाज टेक्सासका महासचिब सन्देश उप्रेतीको सन्चालनमा सम्पन्न सम्मान कार्यक्रममा बोल्दै नेपाल ओलम्पिक एशोसियसनका अध्यक्ष समेत रहेका बिष्टले आफुले प्रवासमा पनि मातृभूमिको जस्तै न्यानो माया पाएको भन्दै भावुक भनाई राखेका थिए । बिष्टले आफ्नो पारिवारिक पृष्ठभूमिका साथै खेलकुद क्षेत्रमा ३० बर्षसम्म गरेका सँघर्षका कथा सुनाउदा उपस्थित सहभागिहरु भावुक बनेका थिए ।
मैले जीवनको उर्जाशिल समय खेलकुद क्षेत्रमा खर्च गरें । स्वदेश तथा बिदेशमा पनि नेपाली समुदायद्वारा दिने माया सम्मान नै जीवनको प्रमुख उपलब्धी ठानेको छु, बिष्टले भने ।
नेपालमा खेलकुद क्षेत्रको बिकासको लागि थुप्रै सम्भावना रहेको भएपनि राज्यपक्षबाट खेलकुद क्षेत्रलाई उपेक्षा गरिएको गुनासो गरे । अन्य देशमा खेलकुद क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखिन्छ । तर नेपालमा खेलकुदको बिकास, युवा बिद्यार्थीहरुलाई खेलकुद क्षेत्रमा आकर्षित गर्न अभियान चलाउनु पर्ने अवस्था रहेको बताउनु भयो । आफुले नेपाल ओलम्पिक एशोसियशनको तर्फबाट नेपालका बिभिन्न जिल्ला स्तर तथा स्कुलमा समेत गएर युवा बिद्यार्थीहरुलाई आफ्ना सँघर्षका कथा तथा पाएको सम्मानको वारेमा सुनाएर खेलकुद प्रति आकर्षित गर्ने प्रयास गरिरहेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै नेपालको राष्ट्रिय खेलाडी तथा बिष्टकी जिवनसँगिनी आयशा शाक्यले पनि आफ्ना भनाई राख्नु भएको थियो । स्वदेश तथा बिदेशमा पनि नेपाली समुदायले हामीलाई दिएको न्यानो माया र सम्मानको गुन आफुहरुले कहिल्यै पनि तिर्न नसक्ने बताउदै शाक्यले आफुहरुले बाँकी जीवन खेलकुद क्षेत्रमा समर्पित गरेर राष्ट्रको शीर उचो बनाउने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
कार्यक्रममा खेलाडी बिष्ट दम्पतीलाई सम्मान गर्दै नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेले विष्टले खेल मार्फत नेपाललाई बिश्वसामु चिनाउने काम गरेको भन्दै मुक्तकण्ठले प्रशँसा गर्नु भयो । खेलकुद राष्ट्र तथा सभ्य समाजको पहिचान भएको बताउदै अध्यक्ष वाग्लेले नेपाली समाज टेक्सासले पनि खेलकुद टास्क फोर्स बनाएर नेपाली समुदायमा खेलाडी उत्पादन तथा खेलकुद क्षेत्रको प्रबद्र्धनका काम गरिरहेको जानकारी दिनु भयो ।
यसैगरि सुदूरपश्चिम नेपाली समाजका पूर्ब अध्यक्ष प्रेमबहादुर शाहीले सुदूरपश्चिममा जन्मेर तेक्वान्दो खेल मार्फत नेपाललाई अन्तराष्ट्रिय क्षेत्रमा परिचित गराउने बिष्टलाई राज्यले उच्च मुल्याँकन गरेर उचित सम्मान दिनु पर्ने धारणा व्यक्त गर्नु भयो । खेलाडी बिष्ट नेपालका लागि मात्रै नभई बिदेशमा जन्मेका र हुर्केका दोश्रो पुस्ताका लागि पनि प्रेरणाका श्रोत रहेको शाहीको भनाई थियो ।
यस्तै नेपाल अमेरिका पत्रकार सँघ(नेजा)का अध्यक्ष सुरज भण्डारीले तेक्वान्दो खेल मार्फत नेपालको ईज्जत र नाम बिश्वभर फैलाउन योगदान पुर्याउने नेपालका कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक बिष्टलाई अमेरिकाका नेपाली समुदायले सम्मान गर्न पाउनु गर्वको कुरा भएको बताउनु भयो ।
नेपाली समाज टेक्सासका पूर्ब अध्यक्ष तथा गैरआवासीय नेपाली सँघ अमेरिकाका उपाध्यक्ष सुमन थापाले सभ्य तथा अनुशासित समाज निर्माणको लागि खेल क्षेत्रमा लगानी गर्नु पर्ने धारणा ब्यक्त गर्नु भयो ।
टेक्सासको ड्यालस फोर्टवर्थ क्षेत्रका नेपाली समुदायका अगुवाहरु, पत्रकारहरुको सहभागिता रहेको उक्त कार्यक्रममा सुदूरपश्चिम नेपाली समाज टेक्सासका महासचिब गोविन्द शाहीले स्वागत गर्नु भएको थियो ।