एनआरएनएमा नेपाली समुदायको आकर्षण बढ्ने गरि काम गर्छौ ः हेमबहादुर ठकुल्ला उपाध्यक्ष पदका उम्मेदवार क्यालिफोर्निया च्याप्टर
अमेरिकामा एनआरएनए निर्बाचन ः उम्मेदवारसँग घण्टेश्वर अनलाईनको साक्षात्कार कार्यक्रम
घण्टेश्वर अनलाईन ः हेमबहादुर ठकुल्ला जि, घण्टेश्वर अनलाईनको साक्षात्कार कार्यक्रममा स्वागत छ ।
हेमबहादुर ठकुल्ला ः तपाई अनि घण्टेश्वर अनलाईन परिवारलाई धन्यवाद छ ।
घण्टेश्वर अनलाईन ः तपाई क्यालिफार्नियाका मतदाताहरुलाई आफ्नो परिचय कसरी दिन चाहानु हुन्छ ?
हेमबहादुर ठकुल्ला ः मेरो नाम हेमबहादुर ठकुल्ला हो । मेरो घर सुदूरपश्चिम प्रदेशको अछाम जिल्लामा पर्दछ । ईकोलोजिमा स्नातकोत्तर तहको अध्ययन पुरा गरेको छु । म नेपालमा पनि बिभिन्न सामाजिक सँस्थामा आबद्ध भई सामाजिक सेवाका काममा सकृय थिएँ । म सन १९८९ मा भारतको मुम्बैमा नेपाली जनसम्पर्क समितिमा आबद्ध भएको थिएँ । सन २०१६ मा अमेरिका आएपछि क्यालिफोर्निया राज्यको लसएन्जल्समा बसोवास गर्दै आएको छु । म क्यालिफोर्नियाको लसएन्जल्स आईसकेपछि बिभिन्न सँस्थामा आबद्ध भई सामाजिक सेवाका कामलाई निरन्तरता दिदै आएको छु । सुदूरपश्चिम नेपाली समाज लसएन्जल्सको उपाध्यक्ष, पशुपतिनाथ तथा बुद्धमन्दिरको कार्य समिति सदस्य, गैरआवासीय नेपाली सँघ क्यालिफोर्निया च्याप्टरको बर्तमान कार्यसमितिको सदस्य पदमा कार्यरत छु । गैरआवासीय नेपाली सँघ (सन २०२३ –२५) को लागि हुन गईरहेको आसन्न निर्बाचनमा च्याप्टरको उपाध्यक्ष पदमा उम्मेदवारी दिएको छु ।
घण्टेश्वर अनलाईन ः च्याप्टर कार्य समितिको उपाध्यक्ष पदमा उम्मेदवारी दिनु भएको छ । चुनावी तयारी कसरी अगाडी बढाउदै हुनु हुन्छ ?
हेमबहादुर ठकुल्ला ः हामी निर्बाचनको प्रचार प्रसारलाई टीमको तर्फबाट र व्यक्तिगत रुपमा पनि अगाडी बढाई रहेका छौं । अमेरिकामा भौगोलिक बनावटका कारण सबै मतदाताका वीचमा पुग्न कठिन छ तर हामी बिभिन्न माध्यमको प्रयोग गरेर मतदाताका बीचमा पुग्ने, मत माग्ने कार्यलाई जारी राखेका छौं । टीम सहित बिभिन्न शहरमा मतदाताहरुसँग भेटघाट, छलफल, अन्तरकृया गर्ने आफ्ना धारणा, चुनावी प्रतिबद्धताहरु वरे मतदातालाई जानकारी गराउने काम गरिरहेका छौं । हामीले क्यालिफोर्नया च्याप्टरलाई बलियो र उत्कृष्ट बनाउने, गैरआवासीय नेपालीहरुले गर्व गर्ने बनाउने भनेका छौं । त्यसका लागि सशक्त टीमको आबश्यकता पर्दछ । हामीले पनि सबै क्षेत्रलाई समेटेर, बिभिन्न क्षेत्रमा बिज्ञता, अनुभव भएका ब्यक्तिहरुलाई समेटेर टीम निर्माण गरेका छौं । हामी हाम्रो टीमलाई बिजयी गराउन मतदाताहरुलाई अनुरोध गरिरहेका छौं ।
घण्टेश्वर अनलाईन ः तपाईले निर्बाचनमा प्रतिबद्धताको कुरा गर्नु भयो । केके छन तपाईका प्रतिबद्धता तथा एजेण्डाहरु ?
हेमबहादुर ठकुल्ला ः प्रतिबद्धता भनेको निर्बाचित भईसकेपछि गर्ने कार्यको एक किसिमको खाका हो । हामीले क्यालिफोर्निया च्याप्टरलाई सुदृढ बनाउनका लागि,नेपाली समुदायले गर्व गर्न लायक बनाउनका लागि निर्बाचन अघि हामीले देखेका, सुनेका, महसुस गरेका कुरामा प्रतिबद्धता तयार गरेका छौं । तर पूर्ण भने होईन । हामी निर्बाचन पश्चात पनि नेपाली समुदायका बीचमा गएर नेपाली समुदायबाट सल्लाह सुझाव सँकलन छौं । साझा सवालहरु पहिचान गछौं । कार्य योजनामा समाबेश गरेर कार्यान्वयनमा ल्याउछौं । हाम्रा हरेक काममा नेपाली समुदायलाई सहभागि गराउछौं । हामीले पहिले त च्याप्टरलाई सँस्थागत रुपमा बलियो र सुदृढ बनाउँछौं । च्याप्टरका सबै पदाधिकारी सदस्यहरुलाई भूमिका जिम्मेवारी बाँडफाँड गछौं । अमेरिका स्थित नेपाली दूताबाससँगको सहकार्यमा बिभिन्न समयमा घुम्ती शिविर मार्फत नेपाल राहादानी सेवा लगायतका नेपाल सरकारका सेवा उपलब्ध गराउने, नेपालको पर्यटन प्रबद्र्धनमा टेवा पुर्याउन बिभिन्न नेपाली समुदायका सँस्थाहरुसँग मिलेर नेपाल महोत्सव आयोजना गर्ने, अमेरिकामा जन्मेका र हुर्केका वालवालिकाहरुलाई नेपालसँग जोड्न नेपाली भाषा, सँस्कृतिको वारेमा जानकारी गराउन बिभिन्न कार्यक्रम सन्चालन गर्ने, नेपालबाट अमेरिका आएका नेपालीहरुका लागि सवारी चालक अनुमति पत्र, कर सम्बन्धि परामर्श, अँग्रेजी भाषा, जागीर खोज्न, अपार्टमेन्ट खोज्न सहजिकरण गर्ने उद्देश्यले हेल्प डेस्क स्थापना गर्ने लगायतका काम गर्ने, क्यालिफोर्निया च्याप्टरका सबै गतिबिधिहरुलाई पारदर्शी र बिश्वसनिय बनाउने लगायतका प्रतिबद्धताहरु रहेका छन । निर्बाचन पछि पनि छलफल गरेर थप समेटेछौं ।
घण्टेश्वर अनलाईन ः निर्बाचन परिणाम तपाई र तपाईको टीमको पक्षमा आउँछ भन्ने कुरामा कत्तिको बिश्वस्त हुनु हुन्छ ?
हेमबहादुर ठकुल्ला ः हरेक निर्बाचन लड्ने मान्छे निर्बाचनको परिणाम आफ्नो पक्षमा आउछ भन्ने कुरामा बिश्वस्त हुन्छ नै । हामी पनि बिश्वस्त छौं । हामीले सशक्त काम गर्न सक्ने टीम निर्माण गरेका छौं । हामीले नेपाली समुदायको सहभागितामा क्यालिफोर्निया च्याप्टरलाई सवल, सुदृढ बनाउने उत्कृष्ट बनाउने भनेका छौं । एनआरएनएमा नेपाली समुदायको आकर्षण बढ्ने गरि काम गर्छौ । यो प्रतिबद्धताहरुलाई सबै मतदाताहरुले मन पनि पराउनु भएको छ ।
घण्टेश्वर अनलाईन ः गैरआवासीय नेपाली सँघ अरु वेलामा निष्कृय र निर्बाचनको समयमा सकृय हुने सँस्था भनेर भनिन्छ । यसमा तपाई के भन्नु हुन्छ ?
हेमबहादुर ठकुल्ला ः हो । गैरआवासीय नेपाल सँघमा राम्रो टीम नबन्दा यो समस्या आउने पनि गरेको छ । त्यसैले हामी निर्बाचनको समयमा मात्र होईन एउटा गतिशिल र नेतृत्वदायी सामाजिक सँस्था निर्माण गर्ने भनेका हौं । हामी त्यसो हुन दिदैनौं । निर्बाचनबाट हाम्रो सशक्त टीम निर्बाचित भएमा उत्कृष्ट काम गरेर देखाउछौं । परिणाम हाम्रो पक्षमा नआएमा पाि यो सामाजिक सँस्थालाइए गतिशिल बनाउन आ आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गछौं ।
घण्टेश्वर अनलाईन ः अन्तमा आम मतदाताहरुलाई के भन्न चाहानु हुन्छ ?
हेमबहादुर ठकुल्ला ः हामी निर्बाचनको सँघारमा छौं । हामी भ्याएसम्म सबै मतदाताका बीचमा पुग्ने प्रयास गरेका छौं । बिभिन्न सिटीमा छलफल अन्तरकृया भेटघाट गर्दै आएका छौं । सामाजिक सन्जाल, घण्टेश्वर अनलाईन जस्तो लोकप्रिय मिडियाहरु मार्फत पनि आफ्नो धारणाहरु प्रतिबद्धताहरु सार्बजनिक गरिरहेका छौं । टेलिफोन मार्फत पनि सम्पर्क जारी राखेका छौं । त्यसैले म हेमबहादुर ठकुल्ला सहित हाम्रो टीमलाई अमुल्य मत दिई बिजयी गराउन हुन बिनम्र अनुरोध गर्दछौं ।