गैरआवासीय नेपाली सँघलाई युवाहरुको आकर्षणको केन्द्र बनाउनु पर्दछ ः त्रिभुवन पाण्डे , उम्मेदवार युवा उपाध्यक्ष

                                        “अमेरिकामा एनआरएनए निर्बाचन ः उम्मेदवारसँग अनलाईनको साक्षात्कार”
घण्टेश्वर अनलाईन ः साक्षात्कार कार्यक्रममा स्वागत छ, त्रिभुवन पाण्डे जि
त्रिभुवन पाण्डे ः तपाई अनि तपाईको लोकप्रिय अनलाईनलाई पनि धेरै धेरै धन्यवाद छ ।
घण्टेश्वर अनलाईन ः तपाई आम गैरआवासीय नेपाली सँघका मतदाताहरु, सदस्यहरुलाई आफ्नो परिचय कसरी दिनु हुन्छ ?
त्रिभुवन पाण्डे ः मेरो नाम त्रिभुवन पाण्डे हो । मेरो घर नेपालको गुल्मी जिल्लामा पर्दछ । म सन २०१७ मा बिद्यार्थी भिसामा अमेरिका आएपछि अमेरिकाको टेक्सास राज्यलाई कर्मथलो बनाएर सामाजिक काममा सकृय रहेको छु । मैले पढेको बिषय सूचना प्रबिधि तथा बित्त व्यवस्थापन बिषय हो ।
घण्टेश्वर अनलाईन ः तपाईले सामाजिक क्षेत्रमा पनि सकृय रहेको भन्नु भयो । तपाईको सामाजिक क्षेत्रमा आबद्धताको बारेमा बताईदिनुस न ?
त्रिभुवन पाण्डे ः म नेपालबाट आए देखि नै गैरआवासीय नेपाली सँघमा आबद्ध भई बिभिन्न गतिबिधिहरुमा सकृय भएँ । सन २०१९–०२१ म गैरआवासीय नेपाली सँघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाद्वारा गठित बिद्यार्थी कार्य दलको अध्यक्ष, सन २०२१–२३ मा गैरआवासीय नेपाली सँघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाको युवा सँयोजक काम गरेको अनुभव छ । खास गरि गैरआवासीय नेपाली सँघमा काम गर्दा मैले युवा केन्द्रित भएर काम गरें । बिद्यार्थी कार्यदलको अध्यक्ष हुँदा मैले अमेरिकाका ३० बटा कलेज र युनिभर्सिटीहरुमा स्टुडेन्ट एम्बासडर नियुक्त गरेर एनआरएनएलाई युवाहरुसंग जोडेका थिए । साथै यिनै एम्बासडरहरुसंगको सहकार्यमा कोरोना महमारीका बेला अमेरिकाका विभिन्न ठांउमा अप्ठेरोमा परेका यूवा विद्यार्थीहरुलाई सहयोग पनि गरेका थियौं । मैले गरेको कामको मूल्यांकन गरेर मलाई युवा साथीहरुले युथ कोअर्डिनेटर बनाउनु भयो । मैले गरेको कामको वारेमा नेपाली समुदायले नजिकबाट मुल्याँकन गर्नु भएको छ । त्यसैले आम युवाहरुको प्रतिनिधित्व गर्दै जूलाई महिनाको २२ र २३ गते हुन गईरहेको गैरआवासीय नेपाली सँघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाको युवा उपाध्यक्ष पदमा उम्मेदवारी दिएको छु ।
घण्टेश्वर अनलाईन ः तपाईले युवा उपाध्यक्ष पद नै किन रोज्नु भयो ?
त्रिभुवन पाण्डे ः मैले माथी पनि उल्लेख गरिसकेको छु । मैले गैरआवासीय नेपाली सँघमा आबद्ध भएदेखि नै युवा क्षेत्रमा काम गरिरहेको छु । आफुपनि युवा भएकाले युवा क्षेत्रमा काम गर्दा प्रवासमा युवाहरुका साझा समस्याहरु, अवसरहरु, चुनौतीहरु, युवाहरुसँगै काम गर्दा युवा क्षेत्रका सम्भावनाहरु, गैरआवासीय नेपाली सँघले युवा क्षेत्रमा गर्न सक्ने कामहरुको वारेमा अध्ययन गर्ने, बुझ्ने अवसर प्राप्त गरेको छु । त्यसैले जुन क्षेत्रमा आफ्नो बिज्ञता छ, चाहना छ । त्यसैमा काम गर्नु राम्रो हुन्छ । केही नयाँ काम र परिबर्तन गर्न सकिन्छ । त्यसैले युवा क्षेत्रमा युवाहरुसँगै काम गर्ने ईच्छा भएकाले युवा उपाध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ ।
घण्टेश्वर अनलाईन ः तपाईलाई थाहा छ, अहिले स्पष्ट रुपमा दुई वटा टीमले निर्बाचनमा प्रतिष्पर्धा गर्दैछन । राजनैतिक दलको कतै कतै छायाँ पनि देखिन थालेको भन्ने सुनिन्छ । तपाई चैं कुन समुहको तर्फबाट उम्मेदारी दिनु भएको हो ?
त्रिभुवन पाण्डे ः तपाईले सान्दर्भिक कुरा उठाउनु भयो । गैरआवासीय नेपाली सँघ सामाजिक सँस्था हो । यसको सामाजिक चरित्र कुनैपनि हालतमा भत्किन दिनु हुँदैन । राजनैतिक दलको छायाँबाट, गुट उपगुटबाट टाढा राख्नु पर्छ । यो पद कुनै राजकिय पद पनि होईन । सेवासुबिधा लिन जाने पद पनि होईन । आफ्नो नेपाली समुदायको लागि सेवा गर्न जाने पदन हो । यो त बिशुद्ध समाजसेवी पद हो । त्यसैले तपाईले केही भनेको कुरा केही हदसम्म सत्य हो । तर म कुनै पनि गुटउपगुट, राजनैतिक दल, टीमको उम्मेदवार होईन । म आम नेपाली समुदाय , आम युवा बर्गको साझा र एक मात्र उम्मेदवार हुँ ।
घण्टेश्वर अनलाईन ः कुनै पनि टीममा परिएन भने निर्बाचन जित्न सकिन्न भन्छन ? तपाई के भन्नु हुन्छ ।
त्रिभुवन पाण्डे ः जोसँग योग्यता, क्षमता, एजेण्डा छैन, उसको लागि त्यो लागु होला । तर मलाई कुनै समस्या छैन । म सँग स्पष्ट एजेण्डा छन । कार्यक्रम छन । आम मतदाताहरुले मेरा एजेण्डाहरुलाई मन पराएका छन । आम मतदाताहरु, युवा साथीहरुले मलाई आशिर्वाद दिईरहनु भएको छ । हौसला दिई रहनु भएको छ । सल्लाह सुझाव दिईरहनु भएको छ । माया दिई रहनु भएको छ । मलाई टीममा पर्नु र नपर्नुको कुनै अर्थ राख्दैन । म सबैको साझा र स्वतन्त्र उम्मेदवार हो । मलाई निर्बाचन जित्ने कुरामा कुनै समस्या छैन ।
घण्टेश्वर अनलाईन ः तपाईले एजेण्डाको कुरा उठाउनु भयो । युवाको क्षेत्रमा काम गर्न तपाईसँग के कस्ता प्रतिबद्धताहरु, एजेण्डाहरु रहेका छन ?
त्रिभुवन पाण्डे ः तपाईलाई थाहा छ । गैरआवासीय नेपाली सँघ प्रति नेपाली समुदायहरु, युवा बर्गको आकर्षण घट्दै छ । तपाई अमेरिकामा रहेका नेपाली समुदायको सँख्या र मतदाता सँख्या हेर्नु भयो भने पनि त्यो स्पष्ट हुन्छ । त्यसैले हामी हाम्रा कामको माध्यमबाट गैरआवासीय नेपाली सँघमा आम युवा बर्ग तथा आम नेपाली समुदायको आकर्षण बढाउँछौं ।
म बिगत लामो समय देखि गैरआवासीय नेपाली सँघलाई प्लेटफर्म बनाएर युवाहरुको क्षेत्रमा काम गरिरहेको छु । युवाहरुका लागि युवाहरुसँगै छु । युवाहरुका क्षेत्रमा काम गर्ने भनेको समूह कार्य(टीम वर्क) हो । हामी युवाहरुका लागि युवाहरुले टीम वर्क बनाएर काम गर्ने हो ।
अमेरिकाका बिभिन्न स्थानमा युवा बिद्यार्थीहरु रहनु भएको छ । ती युवाहरुले आ आफ्नो बिषयगत क्षेत्रमा बिज्ञता, योग्यता र क्षमता हासिल गर्नु भएको छ । हामी नेपाली युवा बिद्यार्थीहरुले हासिल गरेको बिज्ञतालाई नेपाली समुदायको हितमा प्रयोग गर्न चाहान्छौं । रचनात्मक काममा युवाहरुलाई परिचालन गर्न चाहान्छौं ।
अर्को कुरा युवा बिद्यार्थीका क्षेत्रमा मानसिक स्वास्थ्यको पनि समस्या देखिएको छ । यसका क्षेत्रमा आबश्यक परामर्श र सहयोग गर्ने, युवा बिद्यार्थीहरुलाई छात्रबृत्ति, भर्ना, अपार्टमेन्ट, ड्राईभिङ लाईसेन्स जस्ता बिषयमा पनि सहयोग र सहजिकरण गर्नु पर्ने आबश्यकता देखिएको छ । त्यसको लागि च्याप्टरहरुको पनि क्षमता अभिबृद्धि गर्नु पर्ने अवस्था रहेको छ । च्याप्टर मार्फत गर्ने बिषय च्याप्टर मार्फत हल गर्ने र एनसिसि मार्फत हल गर्ने बिषय एनसिसि मार्फत पहल गर्नु पर्दछ । गैरआवासीय नेपाली सँघलाई युवाहरुको आकर्षणको केन्द्र बनाउनु पर्दछ ।
घण्टेश्वर अनलाईन ः निर्बाचनको परिणाम तपाईको पक्षमा आउछ भन्ने कुरामा कत्तिको बिश्वस्त हुनु हुन्छ ?
त्रिभुवन पाण्डे ः मत शतप्रतिशत बिश्वस्त छु । म कुनै गुट, टीम, राजनैतिक दलको उम्मेदवार होईन । म आम अमेरिकाका गैरआवासीय नेपाली दाजुभाई तथा दिदी बहिनीहरु, आम युवा बर्गको साझा र स्वतन्त्र उम्मेदवार हुँ । म कुनै निश्चित ब्यक्ति तथा टीमको उम्मेदवार भएको भए डर हुन्थ्यो । मत सबैको साझा उम्मेदवार भएपछि निर्बाचनको परिणाम मेरो पक्षमा आउछ भन्ने कुरामा बिश्वस्त नहुने भन्ने कुरै भएन । मेरो नैतिक रुपमा जित भईसकेको छ ।

घण्टेश्वर अनलाईन ः अन्तमा तपाई यस घण्टेश्वर अनलाईन मार्फत आम मतदाताहरुलाई के भन्न चाहानु हुन्छ ?
त्रिभुवन पाण्डे ः अमेरिकामा छोटो समयमा लोकप्रिय बनेको तपाईको घण्टेश्वर अनलाईन मार्फत सबै आम मतदाताहरुलाई नमस्कार भन्न चाहान्छु । निर्बाचन जूलाई २२ र २३ तारेखमा हुँदैछ । मतदतान गर्नलाई २ दिन भनेपनि २२ तारेख बिहान ८ बजे देखि २३ तारेख बिहान ८ बजे सम्म २४ घण्टाको समय छुट्याईएको छ । त्यसैले सबैले तोकिएको समयमा साबधानीपूर्बक बिबेकपूर्ण निर्णय गरेर मतदानमा सहभागि हुन अनुरोध गर्दछु । म पनि नेपाली समुदायको तपाई छोरो, भतिज, दाई, भाई आसन्न निर्बाचनमा युवा उपाध्यक्ष पदमा उम्मेदवारी दिएको छु । त्यसैले आफ्नो अमुल्य मत दिई युवा उपाध्यक्ष पदमा बिजयी गराई दिन हुन अनुरोध गर्दछु ।

Leave A Reply

Your email address will not be published.