घण्टेश्वर अनलाईन
न्यूयोर्क, अमेरिका
अमेरिकाको न्यूयोर्कमा गौरा पर्ब मनाउन तयारी शुरु गरिएको छ । सुदूरपश्चिम नेपाली समाज न्यूयोर्कद्वारा यस बर्षको गौरा पर्ब आगामी अगष्ट २५ तारेख शुक्रबारका दिन बिभिन्न कार्यक्रमका साथ मनाउन आबश्यक तयारी शुरु गरिएको अध्यक्ष रामबहादुर देउवाले जानकारी दिनु भयो ।
अध्यक्ष देउवाका अनुसार यस बर्षको गौरा पर्ब न्यूयोर्क स्थित सत्यनारायण मन्दिर परिसरमा मनाईने छ ।
गौरापर्बको अवसरमा गौरा देबीको पूजा, गौरा देबी र महेश्वरलाई नचाउने (वालो नचाउने), महिलाहरुद्वारा अठेवाली बाचन, देउडा देल र लाखे नाच, बिरुडा सहित फल फड्काउने र प्रसाद बितरण, गौरा सेलाउने लगायतका कार्यक्रम आयोजना गरिने सुदूरपश्चिम नेपाली समाज न्यूयोर्कले जनाएको छ ।
गौरा पर्बको अवसरमा सुदूरपश्चिमको पहिरनमा प्रमुख सँस्कृतिक बाजा दाईन दमाहाको नाच सहित गौरा प्रदर्शन प्रमुख आकर्षण रहने आयोजकले बताएका छन । सुदूरपश्चिम नेपाली समाज न्यूयोर्कले सुदूरपश्चिमका प्रमुख चाड पर्बहरु हरेक बर्ष महत्वका साथ मनाउदै आएको छ ।