सर्बोच्चका वरिष्ठतम न्यायाधीश श्रेष्ठ प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस

All time tax

घण्टेश्वर अनलाईन
काठमाण्डौं
सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस भएका छन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहिबार बसेको संवैधानिक परिषद्को बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
संवैधानिक परिषद्को सिफारिससँगै अब श्रेष्ठले संसदीय सुनुवाइको प्रक्रिया पूरा गरेपछि राष्ट्रपतिले उनलाई प्रधानन्यायाधीशमा नियुक्त गर्नेछन् । यसबीचमा आइतबारदेखि श्रेष्ठ कायममुकायम प्रधानन्यायाधीश बन्नेछन् ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्की पर्सि (साउन २० गते) अनिवार्य अवकाशमा जाँदै छन । संविधानको धारा २८४ को उपधारा ३ मा प्रधानन्यायाधीशको पद रिक्त हुनुभन्दा एक महिनाअघि नै संवैधानिक परिषद्ले नियुक्तिका लागि सिफारिस गर्नुपर्ने व्यवस्था छ । सर्वोच्चमा बहाल १४ मध्ये वरिष्ठतम् न्यायाधीश श्रेष्ठ नै प्रधानन्यायाधीशको रोल क्रममा एक नम्बरमा थिए ।
प्रधानन्यायाधीशको लागि सिफारिस भएका श्रेष्ठ को हुन् ?
बि. सं. २०१६ असोज २० गते सुदूरपश्चिमको डोटी सिलगढीमा जन्मेका श्रेष्ठले कानुनमा स्नातक र मानविकी संकायमा स्नातकोत्तर गरेका छन् । वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ कानुन व्यवसायीको पृष्ठभूमिबाट नभएर न्याय सेवाको कर्मचारीका रुपमा अदालत प्रवेश गरेका हुन् ।
उनले २०३९ सालमा अदालतको शाखा अधिकृतबाट न्याय सेवामा प्रवेश गरे । २०५० सालदेखि उदयपुर जिल्ला न्यायाधीशबाट उनको नयाँ जिम्मेवारी शुरु भयो । श्रेष्ठ पुनरावेदन अदालतको न्यायाधीश हुँदै २०७३ साउन १७ देखि सर्वोच्च अदालतको न्यायाधीश बनेका हुन् ।

Leave A Reply

Your email address will not be published.