अस्पतालकै लापरवाहीका कारण पत्रकार बिश्वकर्माको मृत्यु भएको महासँघको निष्कर्ष

घण्टेश्वर अनलाईन काठमाण्डौं
नेपाल पत्रकार महासंघले टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार लालबहादुर (एलबी) विश्वकर्माको अस्पतालको लापरबाहीकै कारण निधन भएको निष्कर्ष निकालेको छ । पत्रकार बिश्वकर्माको मृत्युका विषयमा अध्ययन गर्न नेपाल पत्रकार महासंघले गठन गरेको तीन सदस्यीय अध्ययन समितिले पत्रकार विश्वकर्माको दु:खद निधन हुनुमा सिभिल अस्पतालको लापरवाही मुख्य कारण रहेको ठहर गरेको हो ।
महासंघका केन्द्रीय सदस्य एवम् अध्ययन समितिका संयोजक रामकृष्ण अधिकारीले शुक्रबार महासंघले गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै विश्वकर्माको निधनमा सिभिल अस्पतालको लापरबाही मुख्य कारण रहेको बताउनु भयो । पाटन अस्पतालले समेत संवेदनशील अवस्थामा अस्पताल पुर्‍याइएका बिरामीलाई गम्भीरतापूर्वक लिएर उपचार नगरि लापरवाही गरेको महासँघले भनेको छ ।
‘स्वास्थ्य सेवा संवैधानिक हक भएको मुलुकमा नागरिकको जीवन बचाउनु अस्पतालको पहिलो दायित्व हुनुपर्ने हो । तर, नेपाल सरकार समेतको स्वामित्वमा सँचालित अस्पताल प्रशासन सेवाग्राहीमैत्री नहुुनुको परिणाम नै पत्रकार विश्वकर्माको निधन भएको हो, महासँघको प्रतिबेदनमा भनिएको छ ।
अरुको अधिकारको लागि कलम चलाउने पत्रकार नै महामारीको समयमा अस्पतालमा पुगेर समेत उचित स्वास्थ्य उपचारबाट बञ्चित हुनु र मृत्युवरण गर्नुपर्ने अवस्था सिर्जना हुनु अत्यन्तै दु:खद् हो,’ महासंघले आफ्नो प्रतिवेदनमा भनेको छ, ‘यस प्रकरणको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनु अस्पतालहरुको जिम्मेवारी र कर्तव्य हो ।’
प्रतिवेदनमा महामारीका बेला अस्पतालमा भएको लापरवाहीका कारण पत्रकार विश्वकर्माको निधन भएको देखिएकाले उनको परिवारलाई उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरिएको छ । मृतक परिवारलाई महासंघले ५० हजार रुपैयाँ राहतको घोषणा गर्दै विश्वकर्माकी श्रीमतीलाई जीवन निर्वाहका लागि रोजगारी र साढे ३ वर्षको छोराको उच्च शिक्षासम्मको जिम्मेवारी उनी कार्यरत रहेको सञ्चार गृह र सरकारले लिनुपर्ने बताएको छ ।
कोभिड–१९ महामारीका कारण सञ्चार क्षेत्र र पत्रकारहरु संक्रमणको जोखिमका बीच नागरिकलाई सूचना दिने कार्यमा सक्रिय रहे पनि पत्रकार विश्वकर्माको निधनले आमसञ्चार क्षेत्रमा भय सिर्जना गरेको महासंघले जनाएको छ । महासंघले अग्रपंक्तिमा रहेर खटिरहेका पत्रकारहरुको स्वास्थ्य उपचारकालागि विशेष व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
सरकारले सरकारी अस्पतालमा पत्रकारहरुको नि:शुल्क उपचार हुने भनी पटक पटक घोषणा गरे पनि त्यो घोषणा कागजी पुलिन्दामात्रै बनेको अवस्था रहेको पनि प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, ‘घोषणा गर्ने मात्रै होइन, त्यसको व्यवहारिक कार्यान्वयनकालागि महासंघ सरकारसँग आग्रह गर्दछ ।’
महासंघले कुनै सञ्चारकर्मीलाई पेशागत सुरक्षा, भौतिक सुरक्षादेखि स्वास्थ्य सुरक्षासम्मका विषयमा केही कुनै समस्या भएमा पत्रकार महासंघको सम्पर्कमा आउन पनि आग्रह गरेको छ ।
अछाम घर भई काठमाडौंमा कार्यरत विश्वकर्मा टिभी टुडेमा वरिष्ठ संवाददाताको रुपमा कार्यरत थिए । सुरुमा कोभिडको लक्षण देखिए पनि आर्थिक अभावका कारण परीक्षण नगरी घरेलु उपचार गरेका उनी श्वासप्रश्वासमा समस्या भएर अस्पताल पुग्दा उपचारमा संलग्न चिकित्सकहरुले कोभिडको शंकास्पद बिरामीको रुपमा लिएका थिए । तर, उनीसँग उपचार गराउने आर्थिक अभाव भएको बुझेपछि सिभिल अस्पतालले उपचारमा लापरबाही गरेको महासंघको ठहर छ । सिभिलपछि उनलाई उपचारका लागि पाटन पुर्‍याइएमा माघ ६ गते बिहान उपचारकै क्रममा पाटन अस्पतालमा निधन भएको थियो ।

Leave A Reply

Your email address will not be published.