टेक्सासको युलेशमा साँस्कृतिक तथा अध्यात्मिक सम्बन्धि समर क्याम्प सम्पन्न
करिब दुई सय बढी बालबालिकाहरु लाभान्वित
घण्टेश्वर अनलाईन
युलेश, टेक्सास
नेपाली समाज टेक्सास, नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्र र ग्लोवल नेपाली स्कुलद्वारा टेक्सासको युलेशमा सन्चालित गरिएको साँस्कृतिक तथा अध्यात्मिक सम्बन्धि एक साता लामो समर क्याम्प शनिबार सकिएको छ । टेक्सासको युलेश स्थित पशुपतिनाथ बुद्ध मन्दिरको सभाकक्षमा सन्चालन भएको उक्त शिविरमा ड्यालस÷फोर्टवर्थ क्षेत्रमा बसोवास गर्ने नेपाली समुदायका १ सय ७४ वालवालिका र ५४ जना वालवालिका स्वयँसेवकहरुको सहभागिता रहेको थियो ।
उक्त शिबिरको समापन कार्यक्रममा बोल्दै शिबिरका प्रमुख प्रशिक्षक तथा अन्तराष्ट्रिय आध्यात्मिक गुरु डाक्टर चिन्तामणीनाथ योगीले प्रवासमा नेपालीहरुका बीचमा एकता र भातृत्वको भावना हुनु पर्ने खाँचो औंल्याउनु भयो ।
हामीले मन्दिर त बनायौं तर मन जोड्न बाँकी छ । मन जोड्नका लागि एकता र भातृत्वको भावना हुनु पर्दछ । अध्यात्मिक हुनु पर्दछ । मन शुद्ध हुनु पर्दछ । त्यसैले नयाँ पुस्तालाई अध्यात्मिक ज्ञान दिनु पर्दछ, डा. योगीले बताउनु भयो ।
हामी प्रवासा बडो दुःख गरेर सम्पत्ति आर्जन गरिरहेका छौं । सम्पत्ति रहेर सन्तती नरहे सम्पत्तिको कुनै अर्थ छैन । त्यसैले अहिले देखि नै असल सन्तती बनाउनका लागि उनिशरुलाई धार्मिक, साँस्कृतिक तथा अध्यात्मिक ज्ञान दिनु पर्ने अन्तराष्ट्रिय आध्यात्मिक गुरु डाक्टर चिन्तामणीनाथ योगीको जोड थियो ।
नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेको अध्यक्षता तथा ग्लोवल नेपाली स्कुलका सँयोजक भोजबहादुर बलायरको सन्चालनमा सम्पन्न समापन कार्यक्रममा बोल्दै युलेश सिटी काउन्सिलका सदस्य टीका पौडेलले नेपाली समुदायमा अभाव देखिएको धार्मिक, साँस्कृतिक तथा अध्यात्मिक ज्ञान समर क्याम्पले केही हद सम्म पुरा गरेको धारणा ब्यक्त गर्नु भयो । समर क्याम्पलाई आगामी दिनमा अझ व्यवस्थित बनाउदै प्रभावकारी बनाउनु पर्ने कुरामा पौडेलले जोड दिनु भयो ।
नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्रका ट्रस्टीका अध्यक्ष रमेश पोखरेलले नयाँ पुस्तालाई नेपालसँग जोड्नका लागि साँस्कृतिक तथा अध्यात्मिक ज्ञानको आबश्यकता रहेको चर्चा गर्दै आगामी दिनमा शिबिरलाई अझ व्यवस्थित गर्न प्रयास गरिने बताउनु भयो ।
कार्यक्रममा बोल्दै नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेले ग्लोबल नेपाली स्कुल र समर क्याम्प नेपाली समाज टेक्सासको प्रमुख कार्यक्रम भएकाले नेपाली समुदायको सल्लाह सुझावका आधारमा अझ स्तरीय परिस्कृत बनाउदै लैजाने बताउनु भयो ।
कार्यक्रममा सहभागि बालबालिकाहरु त्था शिबिर व्यवस्थापनमा सहयोग गर्ने स्वयँसेवकहरुलाई प्रमाण पत्र बितरण गरिएको थियो । भने उत्कृष्ट ५ जना स्वयँसेवकलाई अवार्ड बितरण गरिएको नेपाली समाज टेक्सासले जनाएको छ ।शिबिरमा सहयोग गर्ने बिभिन्न सँस्था तथा ब्यक्तिहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।
समापन कार्यक्रमका अवसरमा बिबिध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिनु साथै पन्चे वाजाको प्रदर्शन सहित मन्दिर परिक्रमा गरिएको थियो ।
उक्त शिविरमा अन्तराष्ट्रिय आध्यात्मिक गुरु डाक्टर चिन्तामणीनाथ योगीद्वारा अध्यात्मिक जागरण सम्बन्धि प्रेरक कथाहरु, योगा तथा ध्यान लगायतका बिभिन्न नेपाल चिनाउने धार्मिक, साँस्कृतिक, आध्यात्मिक ज्ञान दिनुका साथै मनोरन्जन, कथा बाचन, भजन,नृत्य, पेन्टिङ, आपतकालिन चिकित्सा जागरण, साथी बनाउने, आत्मबल बिकास, कलेजको लागि बचत सँकलन जस्ता बिषयमा जानकारी दिईएको ग्लोबल नेपाली स्कुलका सँयोजक भोजबहादुर बलायरले जानकारी दिनु भयो ।