घण्टेश्वर अनलाईन
अस्टिन टेक्सास
नेपाली बालबालिकाहरुलाई अध्यात्मिक ज्ञान दिन टेक्सासको अस्टिनमा एक हप्ते समर क्याम्प आयोजना गरिएको छ । ग्रेटर अस्टिन नेपाली समाज (ग्यान्स) अस्टिनद्वारा आयोजना गरिएको समर क्याम्प आजबाट शुरु भएको हो । शिबिरमा टेक्सासको राजधानी अस्टिन क्षेत्रका नेपाली समुदायका बालबालिकाहरुको सहभागिता रहेको छ ।
उक्त शिविरमा अन्तराष्ट्रिय आध्यात्मिक गुरु डाक्टर चिन्तामणीनाथ योगीद्वारा अध्यात्मिक जागरण सम्बन्धि प्रेरक कथाहरु, योगा तथा ध्यान लगायतका बिभिन्न नेपाल चिनाउने धार्मिक, साँस्कृतिक, आध्यात्मिक ज्ञान दिने कार्यक्रम रहेको छ भने अन्य स्वयँसेवकहरुले मनोरन्जन, आपतकालिन चिकित्सा जागरण, साथी बनाउने, आत्मबल बिकास, कलेजको लागि बचत सँकलन जस्ता बिषयमा जानकारी दिने कार्यक्रम रहेको ग्रेटर अस्टिन नेपाली समाज अस्टिनले जनाएको छ ।
ग्यान्सको सामुदायिक भवनमा शुरु भएको उक्त शिबिरको उद्घाटन गर्दै शिबिरका प्रमुख प्रशिक्षक तथा अन्तराष्ट्रिय आध्यात्मिक गुरु डाक्टर चिन्तामणीनाथ योगीले अध्यात्मिक ज्ञानले मात्र मानिसलाई सभ्य, असल नागरिक बनाउने बिचार व्यक्त गर्नु भयो ।
प्रवासमा नेपाली समुदायको बढ्दो जनसँख्यासँगै नयाँ पुस्तालाई नेपालसँग जोड्न धार्मिक, साँस्कृतिक र अध्यात्मिक ज्ञान दिन जरुरी भईसकेको बताउदै त्यस तर्फ नेपाली समुदायका अगुवाहरुको ध्यान जानु पर्ने कुरामा जोड दिनु भयो ।
ग्रेटर अस्टिन नेपाली समाजका उपाध्यक्ष कृष्ण जिसीको सन्चालनमा सम्पन्न उक्त कार्यक्रममा समाजका अध्यक्ष भोजराज भट्टले साँस्कृतिक तथा अध्यात्मिक शिबिरको उद्देश्य माथी प्रकाश पार्दै स्वागत गर्नु भयो ।
उक्त कार्यक्रममा गैरआवासीय नेपाली सँघ आईसिसिका सदस्य पदम ठकुराठी र महेश रेग्मी, ग्रेटर अस्टिन नेपाली समाजका पूर्ब अध्यक्ष देवराज यौपाने , ग्यान्स उपाध्यक्ष निरज मानन्धर, सामाजिक अगुवा दिपक हुमागाई, रामकुमार महतो, धर्मानन्द गौतम, योगगुरू बिष्णु पाण्डेय लगायत समाजका पदाधिकारी सदस्यहरु, अभिभावकहरुको सहभागिता रहेको थियो । शिबिर आगामी शनिबारसम्म सन्चालन हुने ग्यान्सले जनाएको छ ।