घण्टेश्वर अनलाईन
झिग्राना, डोटी
सुदूर पश्चिम प्रदेशको प्रमुख धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल खप्तड र बडिमालिका क्षेत्रको पर्यटन प्रबर्द्धन गर्न यसबर्ष पनि हेलिकोप्टर भ्रमणको प्याकेज सन्चालनमा ल्याईने भएको छ । माउन्टेन हेलिकोप्टर प्रा.लि.सँगको सहकार्यमा खप्तड होमस्टे झिग्राना तथा खप्तड एडभेन्चर टुर्स डोटीले आगामी फागुन १ देखि १० गतेसम्म हेलीकोप्टर भ्रमण योजना सन्चालन गर्न लागेको प्रबन्ध निर्देशक दीपकबहादुर खड्काले बताउनु भयो ।
गत बर्ष पहिलो पटक परिक्षणको रुपमा सन्चालन गरिएको हेलिकोप्टरबाट खप्तड तथा बडिमालिका भ्रमण प्याकेजले आन्तरिक पर्यटकहरुलाई निकै आकर्षित गरेपछि यसबर्षपनि निरन्तरता दिने योजना बनाएका हौं – प्रबन्ध निर्देशक खड्काले भन्नु भयो, गत बर्ष हेलीकोप्टरबाट १ सय ३५ जना आन्तरिक पर्यटकले खप्तड तथा बडिमालिका भ्रमण गरेकोमा यो बर्ष कम्तीमा पनि ३ सय ५० जनालाई हेलिकोप्टरबाट घुमाउने लक्ष्य लिएका छौं ।
हिउँदको मौसममा खप्तड तथा बडिमालिका क्षेत्रमा भारी हिमपात हुने गर्दछ । हिउँ खेल्ने तथा खप्तड तथा बडिमालिका क्षेत्रको दृश्यावलोकन गर्न चाहने पर्यटकहरुका लागि यो उपयुक्त मौसम पनि हो । पैदल र सडक मार्गबाट खप्तड तथा बडिमालिका घुम्न जाने अवस्था नभएका तथा समय अभावका कारण जान नसक्ने पर्यटकहरुका लागि लक्षित गरि ल्याईएको हेलि टुरले यस क्षेत्रको पर्यटन बिकासमा टेवा पुग्ने खप्तड क्षेत्र पर्यटन बिकास समितिका पूर्ब अध्यक्ष तथा दिपायल सिलगढी नगरपालिकाका पूर्ब नगर प्रमुख पूर्ण राज जोशी बताउनु हुन्छ ।
पछिल्लो समयमा कोरोना जोखिम कायमै रहेको भए पनि स्वास्थ्य मापदण्ड पूरा गरी ‘हेली प्याकेज’ सन्चालन गर्ने ब्यवस्था मिलाइएको आयोजकहरुले बताएका छन । खप्तडमा पर्यटकका लागि उचित आवासको सुविधा नभएकाले हिँउदमा पर्यटक प्राय शून्य नै हुन्छन् । गत वर्षदेखि हेली प्याकेज ल्याएसँगै आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ । खप्तड घुम्ने हेलिकोप्टर भ्रमण प्याकेजको व्यवस्था भएपछि गतवर्षको हिउँदे सिजनमा खप्तड तथा बडिमालिका क्षेत्रमा पर्यटकको चहलपहल बढेको थियो ।खप्तड तथा बडिमालिका क्षेत्रमा दर्जनौं धार्मिक,ऐतिहासिक तथा पर्यटकीय स्थलहरु भएपनि उचित प्रचार प्रसार र पर्यटन प्रबद्र्धनका कार्यहरु हुन नसक्दा आन्तरिक तथा पर्यटकहरुलाई आकर्षित गर्न नसकिएको स्थानिय बासिन्दाहरु बताउछन ।
आयोजक सँस्थाले जारी गरेको बिज्ञप्ती अनुसार डोटीको दिपायलदेखि खप्तड भ्रमण गरि जानआउन प्रतिव्यक्ति १२ हजार रुपैयाँ र बडिमालिका भ्रमणको लागि ३० हजार भाडा तोकिएको छ ।