
घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
अमेरिकाका बिभिन्न राज्यमा रहेका नेपाली समुदायका अगुवाहरु तथा सँचारकर्मीहरुले गैरआवासीय नेपाली समुदायहरुलाई केन्द्र बिन्दुमा राखेर काम गर्नुपर्ने कुरामा जोड दिनु भएको छ ।
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिका र नेपाल अमेरिका पत्रकार संघ (नेजा)द्वारा आयोजना गरिएको सँयुक्त अनलाईन अन्तरकृया कार्यक्रममा बोल्ने बक्ताहरुले गैरआवासीय नेपाली संघ र नेजाका लक्षित बर्ग भनेका गैरआवासीय नेपाली समुदाय भएकाले आपसी सहकार्य र साझेदारी भएमा समुदायको पक्षमा नतिजामुखी काम गर्न सकिने धारणा व्यक्त गरे ।
उक्त कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदका अध्यक्ष डा. अर्जुन बन्जाडेले अमेरिकालाई कर्म क्षेत्र बनाएर सन्चारकर्म गरिरहेका पत्रकारहरु पनि गैर आवासीय नेपाली नै भएकाले गैरआवासीय नेपाली समुदायको पक्षमा भएका राम्रा प्रयासहरु, समुदायका साझा सवालहरु उजागर गर्न आग्रह गर्नु भयो ।
हामी गैरआवासीय नेपालीका साझा सवालमा समुदायका सबै संस्थाहरुसँग सहकार्य गर्न चाहान्छौं । आफ्नो नेतृत्वमा रहेको नयाँ कार्य समितिले बिगतका घट्नाक्रमबाट शिक्षा लिदै कार्य योजना बनाएर दिगो सहकार्यको वातावरण निर्माण गर्न लागेको डा. बन्जाडेको भनाई थियो ।
गैरआवासीय नेपाली संघका बरिष्ठ उपाध्यक्ष बिकास उप्रेतीले मिडिया बलियो भएमा समुदाय पनि बलियो हुने भएकाले मिडियाको प्रबद्र्धनका लागि गर्न सकिने कामको वारेमा आफुहरु छलफल गर्न तयार रहेको बताउनु भयो ।
उक्त अवसरमा अमेरिकाका बिभिन्न राज्यमा रहेका नेपाली पत्रकारहरुले अमेरिकामा पत्रकारिता क्षेत्रको बर्तमान अवस्थाको बारेमा जानकारी गराउदै मिडियाबाट समुदायले अपेक्षा गरेको तर समग्र मिडियालाई प्रबद्र्धन गर्न चासो नदेखाएको गुनासो गरेका थिए ।
नेपाल अमेरिका पत्रकार संघ(नेजा) का अध्यक्ष सुरज भण्डारीले अमेरिकामा रहेका नेपाली पत्रकारहरुले सामुदायिक पत्रकारिताको माध्यमबाट गैर आवासीय नेपाली समुदायलाई सूचना, शिक्षा र मनोरन्जन दिईरहेको धारणा व्यक्त गर्नु भयो ।
अमेरिकामा सन्चालित मिडियाका लक्षित बर्गपनि गैरआवासीय नेपालीहरु नै भएको बताउदै अध्यक्ष भण्डारीले गैरआवासीय नेपाली संघसंगको साझेदारी र सहकार्यमा नेपाली समुदायका पक्षमा धेरै काम गर्न सकिने सम्भावना रहेको बताउनु भयो ।
कार्यक्रममा नेपाल अमेरिका पत्रकार संघ (नेजा) का पूर्ब अध्यक्ष गिरिश पोखरेल, आङछिरिङ शेर्पा, गौतम दाहाल, भोला आचार्य लगायतका पत्रकारहरुले एनआरएनए र पत्रकार बीचको आपसी सम्बन्ध र सहकार्य, मिडियाले खेल्न सक्ने भूमिका, अमेरिकामा नेपाली पत्रकारिता क्षेत्रको प्रबद्र्धनमा समुदायका अगुवाहरुको भूमिकाको वारेमा बोल्नु आ आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।
नेपाल अमेरिका पत्रकार संघ(नेजा) का महासचिब बाबुराम दाहालले सन्चालन गर्नु भएको उक्त अन्तरकृया कार्यक्रममा गैरआवासीय नेपाली संघ एनसिसि अमेरिकाका पदाधिकारीहरु तथा नेपाल अमेरिका पत्रकार संघ (नेजा) सम्बद्ध पत्रकारहरुले एनआरएनए र नेजा बीचको अन्तर सम्बन्धका वारेका बोलेका थिए । कार्यक्रममा उद्देश्य माथी प्रकाश पार्दै गैर आवासीय नेपाली संघ एनसिसिका प्रबक्ता डा. राजन पन्तले नेपाली समुदायलाई सहि सूचना प्रवाह गर्न संघ र मिडियाका बीचमा सहकार्य र समन्वयको वातावरण निर्माण गरिनु पर्ने कुरामा जोड दिनु भएको थियो ।
उक्त अवसरमा गैर आवासीय नेपाली संघ, एनसिसि अमेरिका र नेपाल अमेरिका पत्रकार संघ (नेजा) का नयाँ पदाधिकारी सदस्यहरुका बीचमा शुभकामना आदान प्रदान तथा परिचय गराईएको थियो ।