घण्टेश्वर अनलाईन
काठमाण्डौं
काठमाडौं महानगर पालिका वडा नम्बर १६ का वडाध्यक्ष तथा नेपाली काँग्रेसका नेता मुकुन्द रिजालको निधन भएको छ ।
डेंगु रोगको संक्रमणपछि ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको बिहिवार निधन भएको वडा सचिब प्रकाश खड्काले जानकारी दिनु भयो ।
वडा अध्यक्ष रिजाललाई उच्च ज्वरो र निमोनियाँ देखिएपछि ग्राण्डी अस्पताल लगिएको थियो । अस्पतालका अनुसार ५ दिनको उपचार अवधिमध्ये २ दिन आइसीयू र २ दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । वडा अध्यक्ष रिजालको निधन भएको समाचार वाहिर आएपछि मेयर वालेन शाह र उप मेयर सुनिता डंगोल अस्पताल पुगेका थिए ।
रिजाल काठमाडौं कांग्रेस क्षेत्र नम्बर ७ क्षेत्रिय सभापति समेत हुन् । रिजाल गत स्थानीय तह निर्वाचनमा ४००५ मतका साथ अध्यक्षमा विजयी भएका थिए । अध्यक्षमा निर्वाचित भएसँगै रिजालको फोहोर व्यवस्थापनको विषयलाई लिएर कार्यपालिकाको पहिलो बैठकमा नै मेयर बालेन शाहसँग निकै चर्काचर्की परेको थियो ।
नगर कार्यपालिकाअन्तर्गत पूर्वाधार समितिका संयोजक समेत रहेका ५३ बर्षिय रिजालका श्रीमती र दुई छोरा छन् ।
काठमाण्डौं महानगरपालिकाले राष्ट्रिय सभागृहमा बिहिबार बिहान ११ बजे रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखेको छ । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवार स्रोतले जनाएको छ ।