घण्टेश्वर अनलाईन
दिपायल
सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणको लागि हालसम्म १६ लाखभन्दा बढी ब्यक्तिलाई कोरोना भाईरस विरुद्धको खोप लगाएकोे पाईएको छ । यो तथ्याँक अनुसार जिल्लागत रुपमा हेर्नेहो भने कोरोना भाईरस बिरुद्ध सबैभन्दा बढी कैलाली जिल्लामा र सबैभन्दा कम डडेल्धुरा जिल्लामा खोप लगाईएको देखिन्छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याँक अनुसार प्रदेशका ९ वटै जिल्लामा हालसम्म १६ लाख ६ हजार ६ सय ७३ जनाले कोरोना विरुद्धको पहिलो मात्राको खोप लगाएका छन भने पूर्ण मात्राको खोप भने ११ लाख ४ हजार ९ सय ४६ जनाले मात्र लगाएका छन ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार प्रदेशको सबैभन्दा बढी कैलालीमा ४ लाख ७२ हजार ९ सय ७४ जनाले पहिलो मात्रा पाएका छन् भने ३ लाख ५५ हजार ७ सय २० जनाले पूर्ण मात्राको खोप लगाएका छन । यस्तै सबैभन्दा कम डडेल्धुराका ६५ हजार ६ सय ७ जनाले पहिलो र ५९ हजार ५ सय ५७ जनाले पूर्ण मात्रा लगाएका स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांकमा उल्लेख गरिएको छ ।
हाल सम्म प्रदेशको डोटी जिल्लाका १ लाख २० हजार ५ सय ७२ जनाले पहिलो र ६५ हजार ५७५ जनाले पूर्ण मात्रा, अछाम जिल्लाका १ लाख ३७ हजार ४सय ५२ जनाले पहिलो र ९१ हजार २१ जनाले पूर्ण मात्रा, कञ्चनपुर जिल्लामा ३ लाख ४२ हजार ६ सय ५१ जनाले पहिलो र २ लाख ४४ हजार २ सय ५१ जनाले पूर्ण मात्रा, बैतडीका १ लाख ५२ हजार ६ सय २९ जनाले पहिलो र ९४ हजार १ सय ८३ जनाले पूर्ण मात्रा, बाजुरामा १ लाख २४ हजार ९ सय २५ जनाले पहिलो र ७४ हजार ३४५ जनाले पूर्ण मात्रा, बझाङका ९९ हजार ८ सय ४४ जनाले पहिलो र ५६ हजार ३८ जनाले पूर्ण मात्रा, दार्चुलाका ९० हजार १९ जनाले पहिलो र ६२ हजार २ सय ५६ जनाले पूर्ण मात्रा लगाएको सम्पर्क ब्यक्ति जोशीले जानकारी दिनुभयो ।
कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि कोरोनाविरुद्धको खोप अभियान बढाइएको र प्रदेशका सबै स्थानीय तहमा हाल कोरोनाविरुद्धको खोप अभियान पनि जारी रहेकोले सबैलाई खोप लगाउन पनि आग्रह गरिको निर्देशनालयले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लामा कोभिसिल्ड, एस्ट्राजेनिका, मोडर्ना, जन्सन, भेरोसेल र फाइजर खोप दिइने गरिएको छ । यसअघि खोप लगाउन छुटेका सबैलाई खोप लगाउन समेत निर्देशनालयले भनेको छ ।
सुदूरपश्चिम प्रदेशमा हालसम्म ४ लाख ८१ हजार १ सय २ जनाको कोरोना परीक्षण गरिएकोमा ५८ हजार २ सय ८२ जनामा संक्रमण भइसकेको छ । कोरोना संक्रमणकै कारण यस प्रदेशमा ६ सय २४ जनाको ज्यान गइसकेको निर्देशनालयको तथ्याँकमा उल्लेख छ ।