घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास
गत सेप्टेम्बर १ तारेखमा टेक्सासको अर्भिङमा निधन भएका काठमाण्डौं बनस्थलीका २७ बर्षिय आशिष भट्टको आज ड्यालसको दाहासंस्कार गृहमा दाहासँस्कार गरिएको छ ।
नेपाली समाज टेक्सासको पहलमा भट्टको हिन्दु सँस्कार अनुसार दाहासँस्कार गरिएको हो । दाहासँस्कार कार्यक्रममा नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्ले, सदस्य बिजय भुषाल लगायत नेपाली समुदायका अगुवाहरुको उपस्थिती रहेको थियो ।
भट्टका परिवारको ईच्छा अनुसार नेपाली समाज टेक्सासको पहलमा शबलाई नेपाल पठाउन पहल भएको थियो । तर शब परीक्षण गर्ने निर्देशकले शबको अवस्थाका कारण नेपाल नलैजान सिफारिस गरेपछि ड्यालसमै दाहासंस्कार गरिएको नेपाली समाज टेक्सासका सदस्य बिजय भुषालले जानकारी दिनु भयो ।
टेक्सासको अर्भिङमा बस्दै आएका भट्ट आफ्नै आवासको कोठामा मृत अवस्थामा फेला परेका थिए । अर्भिङ प्रहरीको प्रतिबेदन अनुसार भट्टको सेप्टेम्बर १ मा निधन भएको र ५ दिनसम्म उनको शब कोठामा रहेको थियो ।
भट्टका एक स्पानेली महिला साथीले सेप्टेम्बर ५ तारेख साँझ ५ बजे तिर प्रहरीलाई खबर गरेकी थिईन् । नेपाली समाज टेक्सासले उक्त घट्नाको वारेमा सेप्टेम्बर ८ तारेखमा मात्रै जानकारी पाएको थियो ।
भट्टको शब व्यवस्थापनको लागि उनका आफन्त सुजन भट्टको पहल र नेपाली समाज टेक्सासको व्यवस्थापनमा खोलिएको गो फण्डमीमा संकलन भएको १५ हजार ६ सय ८१ डलर दाहासंस्कार र बांकी रकम नेपालमा रहेका परिवारलाई हस्तान्तरण गरिने नेपाली समाज टेक्सासले जनाएको छ ।
आमा बुवाका एक्ला छोरा आशिष भट्ट डिभि भिसामा सन २०१६ मा अमेरिकाको टेक्सासमा आएका थिए ।