घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास
यस बर्षको हरितालिका तीज अमेरिकाका बिभिन्न राज्यमा धुमधामका साथ मनाईएको छ । नेपाली समुदायको बाक्लो बसोवास रहेको टेक्सासका राज्यका प्रमुख शहरहरुमा त उत्सबका रुपमा तीज बिशेष कार्यक्रम आयोजना गरिएको थियो । एक महिना अघि देखि प्राय दैनिक जसो र टोलै पच्छिे तीज मनाउन थालेपछि महिलाहरु तथा सामाजिक अभियन्ताहरुलाई भ्याई नभ्याई भएको थियो । दर खाएको र तीज मनाएको फोटोले सामाजिक सन्जालका भित्ताहरु रँङ्गीन बनेका थिए ।
नेपाली समुदायको उल्लेख्य बसोवास रहेको टेक्सासको ड्यालस फोर्टवर्थ क्षेत्रमा नेपाली समुदायका बिभिन्न सँस्थाहरुले बृहत तीज कार्यक्रम आयोजना गरेका थिए । टेक्सासको युलेश स्थित पशुपतिनाथ मन्दिरमा आईतबार र सोमबार महिलाहरुले तीजको अवसरमा पूजाआजा गरेका छन । हामीले ड्यालस फोर्टवर्थ क्षेत्रमा बसोवास गर्ने बिभिन्न पेशा व्यवसायमा आबद्ध महिलाहरुलाई तीज कसरी मनाउनु भयो ? भनेर सोधेका थियौ । प्रस्तुत त कुराकानीको सारसँक्षेप
शान्ता गिरी, सामाजिक अभियन्ता (नेपाली समाज टेक्सास) : तीज नेपाली महिलाहरुको प्रमुख साँस्कृतिक चाड हो । यस बर्षको तीज पनि बिगतका बर्ष झैं दरखाने, तीजका भाकामा नाच्ने, पशुपतिनाथ मन्दिरमा पूजाआजा गर्ने आफन्त, छरछिमेकी ईष्टमित्रहरुसँग भेटघाट गरेर रमाईलो गरियो ।
बिगतको बर्ष भन्दा यस बर्षको तीज उल्लासपूर्ण रह्यो । एक महिनादेखि प्रायजसो दैनिक दरखाने र तीज आयोजना गरिएकाले कता जाने कता नजाने भयो । तर भ्याए सम्म सहभागी हुने प्रयास गरियो ।
हामी भौतिक रुपमा अमेरिका छौं । हामी पहिले नेपाली हौं । हाम्रो पहिचान नेपाली हो । अहिले नेपाली समाज बिगतको जस्तो छैन बिस्तार हुँदै गएको छ । नेपाली चाडपर्बहरुमा पनि बिगतको तुलनामा सहभागीता उल्लेख्य रुपमा बृद्धि भएको छ । तर अमेरिकामा जनमेको र हुर्केको नयाँ पुस्ता नेपाली भाषा र सँस्कृति प्रति अनभिज्ञ छ । त्यसैले अगामी दिनमा थप व्यवस्थित गर्दै नेपाली चाडपर्बहरु मनाउनु पर्दछ ।
गुन्जन भण्डारी (महिला सँयोजक नेपाली समाज टेक्सास) ः नेपाली चाडपर्बहरुमा सबै भन्दा रमाईलो लाग्ने नै हरितालिका तीज हो । मैले पनि अन्य महिला दिदी बहिनी जस्तै तीजको समयमा ब्रत बस्ने, पूजाआजा गर्ने, दरखाने, नाचगान गरेर रमाईलो गरियो । नेपाली चाडवाडको महत्व प्रवासमा रहँदा बढी हुने गर्दछ । ड्यालस फोर्टवर्थ क्षेत्रमा आयोजना गरिएका टोलै पिच्छेका सामुहिक दरखाने र तीज कार्यक्रममा सम्भव भएसम्म सहभागी भएँ । म नेपाली समाज टेक्सास र मन्दिरसँग पनि आबद्ध भएकाले मैले बिगतका बर्षभन्दा नेपाली चाडपर्बहरुमा समुदायको सहभागीता उल्लेख्य रुपमा बृद्धि हुँदै गएको पाएको छु । ड्यालस फोर्टवर्थ क्षेत्रमा त यस बर्षको तीजलाई उत्सबको रुपमा मनाईयो । यसले पनि नेपाली समाज फराकिलो बन्दै गएको बुझिन्छ । नेपाली भाषा र सँस्कृति हाम्रो पहिचान हो । हामीले प्रवासमा नेपाली चाडपर्बहरु मनाउनु भनेको आफ्नो पहिचान जोगाउनु हो । भावी सन्ततीहरुलाई नेपाली भाषा सँस्कृतिको वारेमा परिचित गराउनु हो । आगामी दिनमा अझ व्यवस्थित रुपमा नेपाली चाडपर्बहरुलाई मनाउनु पर्दछ ।
यमुना भट्टराई, सामाजिक अभियन्ता तथा व्यवसायी ः तीज हिन्दू नारीहरुले मनाउने एउटा महत्वपूर्ण चाड हो । यो पर्बको धार्मिक र ऐतिहासिक महत्व छ । यसको महत्वको वारेमा जति चर्चा गरेपनि कमै हुन्छ जस्तो लाग्छ । यो पर्बलाई नेपाली महिलाहरुले साँस्कृतिक चाडको रुपमा हर्षोल्लासका साथ मनाउने गर्दछन । पछिल्लो समय अन्य धर्म र जातजातिका नेपाली महिलाहरुले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन । यसपालि टेक्सासको ड्यालस फोर्टवर्थ क्षेत्रका महिला दिदी बहिनीहरुले मा एक महिना सम्म तीज मनाए । यो कोरोनो पछिको भब्य तीज हो । प्राय जसो नेपाली समुदायका टोलहरुमा तथा नेपाली समुदायका बिभिन्न सँस्थाको आयोजनामा तीज बिशेष कार्यक्रम आयोजना भए । हामीले पनि घर परिवार, ईष्ट मित्र, छरछिमेकमा सँगै दरखाने, तीजका भाकामा नाचगान गरि रमाईलो गरियो । हिन्दू नारी भएकाले पशुपति नाथ मन्दिरमा पूजाआजा गरियो ।
तीज पर्ब आफ्ना पतिलाई सम्मान गर्ने दिन पनि हो जस्तो लाग्छ । प्रवासको व्यस्त जीवनशैली अनुसार श्रीमान श्रीमति फुर्सदमा कमै हुन्छ । त्यसैले तीज पर्बमा श्रीमान श्रीमतिसँगै बसेर आफ्ना श्रीमानको दीर्घायुको कामना गर्ने, एक अर्कालाई सम्मान गर्ने माया प्रेमलाई प्रगाढ बनाउने अन्यथा हो जस्तो लाग्दैन । तीज मनाउने शैली आधुनिकता तिर जान थालेको देखिन्छ । यसको मौलिकपनलाई जोगाउन प्रयास गर्नु पर्छ जस्तो लाग्छ ।
लक्ष्मी ढुँगाना, ड्यालस एभरेष्ट लाईन्स क्लब ः तीज महिला बिशेष पर्ब भएपनि पछिल्लो समय शारीरिक तथा मानसिक थकान हटाउने, महिला पुरुष जमघट भई रमाईलो गर्ने माध्यम बनेको छ ।तीज महिलाहरुको बिशेष पर्ब हो । प्रवासमा भएपनि हामीले परम्परा अनुसार नेपालमा जस्तै व्रत बसेर, पूजाआजा गरेर, नाचगान तथा रमाईलो गरेर तीज मनाईयो । गत बर्ष पनि तीज मनाईएको थियो । तर अघिल्लो वर्षको कोरोनाको प्रभावका कारण तीजमा सहभागिता उल्लेख्य रुपमा देखिएको थिएन । तर यस बर्षको तीज ऐतिहासिक नै भयो ।
तीजमा सामुहिक रुपमा दरखाने खुवाउने काम भयो । तीज व्रत बसेर पतिको सुस्वास्थ्य एबं दीर्घायुको कामना गरियो । अरु वेलामा व्यस्त भएपनि तीजको बेलामा पर्याप्त फुर्सद निकालियो । बिभिन्न नेपाली सँस्थाहरुले आयोजना गरेको तीज कार्यक्रममा सहभागी भईयो । महिला मात्र नभएर पुरुषहरु पनि तीजमा छमछमी नाचे । नेपाली समुदायको बसोवास रहेको टोलटोलमा नेपालको झल्को दिने गरि तीज मनाईए । तीज बर्ष दिनमा एक पटक आउने पर्ब हो । आमा हजुर आमाको पालामा एक दिन तीज मनाईन्यो । तर अहिले एक महिना अघिदेखि तीज मनाउदा पनि अपुग भएजस्तो लाग्यो । तीज हाम्रो सँस्कृति हो । यसलाई जोगाउनु पर्दछ । नयाँ पुस्तालाई पनि सिकाउनु पर्दछ ।
रिता कार्की, बिमा व्यवसायी ः तीज पर्ब जमघटको एक रुप हो । घर परिवार, नाता, आफन्तहरुसँग मिलन हुने उपयुक्त अवसर पनि हो । हामी प्रवासको व्यस्त जीवन शैलीमा अलि फुर्सद निकालेर बाहिर निस्किने गछौं । सामाजिकीकरण हुन्छौं । समुदायसँग घुलमिल हुन्छौं । चिन्ता तनाब हटाउने माध्यम पनि तीज हो ।
यो वर्षको तीज पनि हामीले परम्परा अनुसार नै मनायौं । व्रत बसेर, नेपाली मन्दिरमा पूजाआजा गरियो । आफ्ना पतिको सुस्वास्थ्य एबं दीर्घायुको कामना गरियो । सामुहिक रुपमा दर खाई छरछिमेकमा तीजका भाकामा नाचगान गरि रमाईलो गरियो । बिभिन्न नेपाली समुदायका सँस्थाहरुले आयोजना गरेका तीज बिशेष कार्यक्रममा अधिकाँशमा सहभागी भईयो ।
जव हामी नेपाली समुदायहरु सँगै बसेर तीज मनाउँछौं हामीलाई नेपालमै भएको अनुभूति हुन्छ । अहिले ड्यालस फोर्टवर्थ क्षेत्रमा नेपाली समुदायको बसोवास बढ्दै गएको देखिन्छ । हाम्रा साना नानी बाबुहरुलाई नेपाली भाषा सँस्कृतिको वारेमा जानकारी दिन, परिचय गराउन पनि नेपाली साँस्कृतिक चाडपर्बहरुलाई मनाउन आबश्यक देखिन्छ ।
हरिना शाहु, सामाजिक अभियन्ता ः नेपालका बिभिन्न चाड पर्बहरु मध्य तीज एउटा महत्वपूर्ण चाड हो । दर खाने, तीजका भाकामा नाचगान गर्ने, एकआपसमा सहिष्णुता बाँड्ने तीज पर्बको बिशेषता पनि हो । प्रवासमा सबै भन्दा अभाव महसुस हुनेपनि नेपाली चाडपर्ब नै हुन्छ । हामी समय र परिस्थितीले जहाँ भएपनि हामी नेपाली हौं । हाम्रो परिचय नेपाली हो । हामी आफ्नो भाषा सँस्कृतिलाई बिर्सन सक्दैनौं । प्रवासमा सामुहिक रुपमा आयोजना गरिेने नेपाली चाडपर्बले नेपालको झल्को पनि दिने गरेको छ ।
अमेरिकामा नेपाली चाडपर्ब मनाउन प्रायजसो बिदाको दिन कुर्नु पर्दछ । अधिकाँश मानिसहरु काममा हुने भएकाले शनिबार आईतबारको दिन नेपालीहरुले चाडपर्बहरु मनाउने गर्दछन । यस बर्षको तीज ड्यालस फोर्टवर्थ क्षेत्रमा उत्सवको रुपमा मनाईयो । हाम्रो हिन्दू परम्परा अनुसार व्रत बस्ने, घरमा तथा पशुपतिनाथ मन्दिरमा पूजाआजा गर्ने, दरखाने, तीजमा रमाईलो गरि हर्षोल्लासका साथ मनायौं । अमेरिकामा जन्मेका र हुर्केका नयाँ पूस्ताहरु यतैको सँस्कृतिसँग परिचित छन । नेपाली भाषा सँस्कृति प्रति रुची छैन । त्यसैले नयाँ पुस्तालाई नेपाल, नेपाली भाषा सँस्कृति परम्परासँग जोड्न प्रवासमा नेपाल परिचयका बिभिन्न कार्यक्रम आयोजना गर्न आबश्यक छ ।
अन्जु बलायर, शिक्षक ः नेपालमा जस्तो विदा नमिल्ने भएकाले समय मिलायर तीज मनाईयो । यस बर्षको तीज बिगतका बर्ष भन्दा रमाईलो भयो । ड्यालस फोर्टवर्थ क्षेत्रका नेपाली दिदी बहिनीहरुले त एक महिनासम्म तीज मनाए । विदेशमा भएपनि हरितालिका तीज आफ्नो मौलिक परम्परा अनुसार स्वदेशमा जसरी नै मनाउदै आएकी छु । अरु दिन काममा व्यस्त हुनुपर्ने भएकाले शनिबार आईतबार छरछिमेक, साथीसङ्गी, ईष्टमित्रहरुसँगै दर खाने खुवाउने, नाचगान गरियो । तीजको व्रत बसेर युलेश स्थित पशुपतिनाथ मन्दिरमा पूजाआजा गरियो । श्रीमानको सुस्वास्थ्य एबं दीर्घजीवनको कामना गरियो ।
हरितालिका तीज हिन्दू नेपाली महिलाहरुको सुन्दर पर्ब हो । तीजको महत्वको वारेमा जति चर्चा गरेपनि कमी हुन्छ जस्तो लाग्छ । तीजले आफन्तजनसँग भेटघाट र रमाईलो गर्ने वातावरण सिर्जना गर्दछ । यसको महत्व स्वदेशमा भन्दा बिदेशमा बढ्न थालेको छ । अमेरिकामा नेपालीहरुको बसोवास पनि बाक्लिदै गएको छ । तीज साँस्कृतिक पर्ब भएकाले पनि बिभिन्न जातजाती र धर्मालम्बीहरुले तीजका भाकामा नाच्ने रमाईलो गर्न थालेका छन । यो राम्रो पक्ष हो । प्रवासमा नेपाली चाडपर्बहरु मनाउदा नयाँ पुस्तालाई पनि सहभागि बनाउँन सकियो भने नेपाली सँस्कृति पुस्तान्तरण गर्न सकिन्छ जस्तो लाग्छ ।
मिरा भट्ट, रेनडोल्फ ब्रोक्स फेडरल क्रेडिट युनियन ः तीज बर्ष दिनमा एक पटक मनाईने नारीहरुको लोकप्रिय पर्ब हो । आफु जन्मेको माईतीघरलाई चटक्क छोडी पराईघरमा जीवन विताउदा आउने माईतीको यादलाई कम गर्ने एउटा महत्वपूर्ण अवसर तीज हो जस्तो लाग्छ । अरु वेलामा काममा व्यस्त भएपनि तीजको बेलामा भेटघाट जमघट हुने गर्दछ । तीज सामुहिक रुपमा मनाईने साँस्कृतिक पर्ब भएकाले आफन्तका बीचमा हुने भेटघाट र मनोरन्जन आदान प्रदानबाट मानसिक तनाव न्यूनिकरण गर्न मद्दत गर्दछ ।
मेरो माईतीहरु पनि अमेरिकामा नै भएकाले मैले बिगत देखि तीज माईतीघर मै मनाउने गरेकी छु । यस बर्षको तीज पनि मैले पेन्सिलभिनिया स्थित माईती घरमै मनाएँ । एउटा चेलीलाई माईती घरमा तीज मनाउन पाउँदा जस्तो खुशी त अरु के नै हुन्छ र ? तीजमा परम्परा अनुसार तीजमा व्रत बस्ने पूजाआजा गर्ने काम त हुने नै भयो । यस पटकको तीजमा फरक ठाउँको अनुभव गरियो । बिभिन्न समुदायले आयोजना गरेका तीज कार्यक्रममा समय मिलेसम्म सहभागि भएर रमाईलो गरियो ।
गिता अधिकारी, व्युटिसियन ः ः तीज त हरेक बर्ष मनाउदै आएको हो । तर यस बर्षको तीज स्मरणीय रह्यो । अमेरिकाको व्यस्त जीवनशैलीका बीचमा पनि ड्यालस फोर्टवर्थ क्षेत्रमा नेपाली समुदायले करिब एक महिनासम्म तीज मनाए । हामीले पनि यसपालिको तीजमा सामुहिक रुपमा दरखाने र तीजका भाकामा नाचगान गरि रमाईलो गर्ने काम गर्यौं । मैले परम्परागत रुपमा तीज मनाउदै आएकी छु । हामी घरदेखि टाढा छौं । तीज पर्ब आउँदा आफ्नो देश घर छरछिमेक माइतीको सम्झना त आउछ नै । भौगोलिक रुपमा टाढा भएपनि स्वदेशमा रहेका घरपरिवर, माईतीघर साथीसङ्गी सम्झेर दर खाईयो । तीज मनाईयो । सामाजिक सन्जाल मार्फत तीवको शुभकामना आदान प्रदान गरियो ।
तीज नेपाली नारीहरुको प्रमुख चाड हो । नेपालका हरेक चाडहरु लोकप्रिय नै छन । हरेक चाडको महत्व छ । हामी जहाँ भएपनि हाम्रा धर्म, सँस्कृति तथा परम्पराहरुलाई निरन्तरता दिनु पर्दछ । यसो गर्न सकियो भने हाम्रा परम्पराहरु पनि आगामी पुस्तामा पुस्तान्तरण हुँदै जाने छन । अन्यथा खानपिन र रँग रमाईलो मात्र गर्ने क्रम पुस्तान्त्रण हुने तर खास परम्परा र संस्कार भने लोप हुने खतरा रहन्छ जस्तो लाग्छ ।
अनु तामाङ्ग, रियलस्टेट व्यवसायी ः तीज नेपाली महिलाहरुले महत्वका साथ बर्षमा एक पटक मनाउने चाड हो । तीजमा परिवार तथा आफन्तजन, छरछिमेकसँग पुनर्मिलन हुन्छ । तीज महिलाहरुका लागि वाहिर निस्किने अवसर पनि हो । यसपटक ड्यालस फोर्टवर्थ क्षेत्रमा बडो उल्लासका साथ तीज मनाईयो । तीजमा नेपाली समुदायको सहभागिता देख्दा नेपालीहरु जहाँ भएपनि आफ्नो सँस्कृति र चाडपर्बहरु बिर्सन सक्दैनन भन्ने झल्को देखिन्थ्यो ।
मैले पनि अन्य दिदी बहिनीहरुले जस्तै परम्परागत रुपमा तीज मनाएँ । छरछिमेक तथा समुदायले आयोजना गरेका हरेक तीज बिशेष कार्यक्रममा सहभागी बनेको थिएँ । छरिएर रहेका नेपाली समुदायहरु एकै स्थानमा जमघट हुँदा रमाईलो हुने नै भयो । सामुहिक रुपमा दरखाने तथा तीजमा नाचगान गरियो । दर्जनौ. साथीसङ्गीसँग भेटघाट भयो । नयाँ साथीहरुसँग परिचय भयो । प्रवासमा एक्लो महसुस भएन । नेपाली चाडपर्बले नेपाली समुदायलाई एकताबद्ध बनाएको छ । नेपालीहरुको एकता कहिले पनि टुट्नु हुँदैन । आगामी दिनमा अझै व्यवस्थित भएर रचनात्मक काम गर्नु पर्दछ ।