एनआरएनएमा सबै गैरआवासीय नेपालीको आकर्षण बढाउँछौं ः राजेन्द्रकुमार शर्मा, उपाध्यक्ष एनआरएनए ,आईसीसी

घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास
कतारका ब्यवसायी तथा गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष राजेन्द्रकुमार शर्माले संघको आगामी नेतृत्वको लागि हुने निर्बाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन ।
बुधबार टेक्सासको ड्यालस फोर्टवर्थ क्षेत्रमा रहेका नेपाली समुदायका अगुवाहरुसंग भेटघाट गर्दै उपाध्यक्ष शर्माले आफु नयाँ नेतृत्वको लागि हुने निर्बाचनमा अध्यक्ष पदको आकाँक्षी रहेको जानकारी गराउनु भयो ।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाले ड्यालसको युलेशमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष संस्थालाई सबै गैरआवासीय नेपालीको पहुँचमा पुर्याउँदै हाम्रो र राम्रो बनाउने उद्घोष गर्नु भयो ।
अहिले संस्थामा गैरआवासीय नेपाली समुदायको आकर्षण घट्दो अवस्थामा रहेको छ । एनआरएनएलाई धनी, पैसावाल, हुनेखानेको संस्था हो भन्ने आम बुझाई हुन थालेको छ । यसमा परिबर्तन गर्न संस्थालाई आम गैरआवासीय नेपालीको पहुँचमा पुर्याउन आबश्यक रहेको उपाध्यक्ष शर्माको भनाई रहेको थियो ।

अहिले गैरआवासीय नेपाली संघमा साझा र स्वतन्त्र चरित्र जोगाउने चुनौती रहेकाले संस्थाको छबि जोगाउँदै सबै गैरआवासीय नेपाली अट्ने अखण्ड संस्था बनाउन आफ्नो पहिलो प्राथमिकता हुने शर्माले बताउनु भयो ।
गैरआवासीय नेपाली संघका सबै पंजिकृत सदस्यहरुले मतदान गर्न पाउने, सदस्यता शुल्क ३ डलर कायम गर्दै संस्थालाई गैरआवासीय नेपालीहरुको पहुँचमा पुर्याउने, नेपाली नागरिकताको निरन्तरता लगायतका एजेण्डाहरु समेत प्रस्तुत गरे ।
राष्ट्रिय समन्वय परिषदका बरिष्ठ उपाध्यक्ष बिकास उप्रेतीको अध्यक्षता उपाध्यक्ष भानु खरेलको सँचालनमा सम्पन्न कार्यक्रममा बोल्दै गैरआवासीय नेपालीका केही सम्बोधनको क्रममा रहेपनि धेरै सवालहरु बाँकी रहेकाले त्यसका लागि सरकार तथा प्रतिपक्ष दलसँग सहकार्य र समन्वय गरेर सामाधानको लागि पहल गरिने बताउनु भयो ।
उक्त अवसरमा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदमा टेक्सासबाट उम्मेदवारी घोषणा गरेका उपाध्यक्ष पदका उम्मेदवार सुनिल साह, महासचिब पदका उम्मेदवार गौरीराज जोशी, सचिब पदका उम्मेदवार आरसी पोख्रेल, अमेरिका क्षेत्रका क्षेत्रीय संयोजकका उम्मेदवार बेदराज बस्नेत र अमृत सापकोटा, सह कोषाध्यक्ष पदका उम्मेदवार सिपी पौडेलले पनि आफु कुरा भन्दा पनि संस्थामा काम गर्नका लागि उम्मेदवारी दिन लागेकाले आफुहरुलाई बिजयी गराउन आग्रह गर्नु भएका थियो । उक्त अवसरमा गैरआवासीय नेपाली संघका सह कोषाध्यक्ष यमुना भट्टराई, गैरआवासीय नेपाली सँघका पूर्ब उपाध्यक्ष सुमन थापाले पनि बोल्नु भएको थियो ।


उक्त अवसरमा उपाध्यक्ष राजेन्द्रकुमार शर्माले ड्यालसका पत्रकारहरुसँग छुट्टै अन्तरकृया समेत गरेका थिए । शर्माले पत्रकारहरुको बिभिन्न जिज्ञासाहरुको जवाफ दिदै गैरआवासीय नेपाली संघ भनेको धनी, पैसावाल र हुनेखानेको मात्र संस्था भन्ने आम बुझाई रहेकाले आफुले सबैको पहुँचमा रहेको साझा संस्था निर्माण गरेरै छाड्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
को हुन राजेन्द्रकुमार शर्मा ?
चितवनका राजेन्द्रकुमार शर्माको जन्म बाग्लुङ्ग जिल्लामा भएको हो । त्रिभुवन बिश्व बिद्यालयबाट एमबिए उत्तिर्ण गरेका शर्मा सन २००६ मा रोजगारीका लागि भारत हुँदै कतार आएका थिए । सन २००९ मा कतारमा पिजन ईन्जिनियरिङ्गको नाममा व्यवसाय शुरु गरेका शर्माले अहिले नेपाल र कतारमा दर्जन बढी व्यवसाय सन्चालन गरिरहेका छन । ह्युमन रिसोर्स, भौतिक पूर्बाधार निर्माण, सेक्युरिटी, जलबिद्युत, बित्त तथा बैंकिङ्ग, रेमिट्यान्स र शेयर बजारको क्षेत्रमा शर्मासँग करिब १४ बर्ष बढीको अनुभव रहेको छ । सन २००६ मा एनआरएनए अभियान र २००८ देखि समाज सेवाको क्षेत्रमा समेत सकृय रहँदै आएका शर्माले कतारमा सम्पन्न विश्व कप २०२२ को दौरानमा भौतिक पूर्बाधारको क्षेत्रमा उच्च योगदान गरे वाफत फिपाबाट सम्मानित भएका थिए ।
गैरआवासीय नेपाली सँघको आईसीसीसदस्य, मध्यपूर्ब क्षेत्रको क्षेत्रीय संंयोजक तथा आईसीसी सचिब हुँदै हाल आईसीसीको उपाध्यक्ष रहेका छन ।

Leave A Reply

Your email address will not be published.