घण्टेश्वर अनलाईन
राजपुर
दिपायल राजपुरस्थित सुजङ्ग अस्पतालले डोटी जिल्लामा कार्यरत पत्रकार र उनीहरूका परिवारका सदस्यलाई सहुलियत रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ । सो अस्पतालले सोमबार पत्रकार सम्मेलन मार्फत उक्त जानकारी गराएको हो । सुदूरपश्चिमका पहाडी जिल्लामा एक मात्र ५० शैयाको उक्त अस्पतालले पत्रकार र उनीहरुका परिवारलाई स्वास्थ्य सेवा दिनेसम्बन्धमा नेपाल पत्रकार महासँघ डोटी शाखासँग एक सम्झौता पनि गरेको छ । नेपाल पत्रकार महासंघ डोटी शाखाले पत्रकार तथा उनीहरुका परिवारलाई सहुलियत रुपमा स्वास्थ्य सेवा दिनका लागि अस्पतालसँग पहल गरेको थियो ।
पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार पत्रकार तथा उनीहरूका परिवारका सदस्यहरुलाई उपचार गर्न आउँदा औषधिमा २० प्रतिशत छुट दिईने छ । त्यस्तै ल्यावका सबै प्रकारका जाँच, एक्सरे , भिडियो एक्सरे लगायतका सेवा नि:शुल्क गरिएको छ । विषेशज्ञ सेवा ( अप्रेशन, सर्जन) मा बाहेक अन्य सेवामा सहुलियत प्रदान गरिने अस्पतालले जनाएको छ ।
अस्पतालले नेपाल पत्रकार महासंघसँग गरेको सम्झौता अनुसार अस्पतालबाट सहुलियत रुपमा स्वास्थ्य सेवा लिनका लागि नेपाल पत्रकार महासँघको साधारण सदस्य हुनु पर्ने शर्त राखेको छ । स्वास्थ्य सेवा लिन जाँदा नेपाल पत्रकार महासंघको सदस्यताको परिचय–पत्र र महासंघको सिफारिस पेश गर्नु पर्ने छ ।
सामाजिक उत्तरदायित्व अन्तरगत पत्रकार तथा उनीहरुका परिवारलाई सहुलियत दिने निर्णय गरेको अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले बताए ।
त्यस्तै नेपाल पत्रकार महासँघ डोटी शाखाका अध्यक्ष मोहन शाहीले मोफसलमा पत्रकारिता गरिरहेका पत्रकारहरूको आर्थिक अवस्था अहिले पनि दयनिय रहेकाले अस्पतालले गरेको निर्णयले ठूलो राहात पुगेको बताउनु भयो ।
महासंघले जिल्लामा रहेका अन्य अस्पतालहरूसँग पनि समन्वय गर्ने जनाएको छ । यसैगरि निजी तथा आवासिय विद्यालयहरूसँग पनि समन्वय गरेर पत्रकारहरुका लागि शिक्षामा पनि सहुलियत उपलब्ध गराउन प्रयास भईरहेको महासँघ डोटी शाखाले जनाएको छ ।