गजलले गुन्जियो, “टेक्सासको युलेश”

घण्टेश्वर अनलाईन
युलेश, टेक्सास
टेक्सासको युलेश स्थित पशुपतिनाथ मन्दिरसँगै रहेको सामुदायिक भवनको सभाकक्ष शनिबार दिउसो भिडभाड थियो । नेपाली समाज टेक्सास र गजल यात्राको सँयुक्त आयोजनामा हुन लागेको गजल महफिल कार्यक्रममा गजल सुन्न सहभागिहरु हतार देखिन्थे । कार्यक्रमका सहजकर्ता तथा टेक्ससका चर्चित गजलकार राधाकृष्ण काफ्लेले सहभागि स्रष्टा तथा गजलकारहरुलाई मन्चमा परिचय गराएपछि सहभागिहरुले तालीले स्वागत गरे । कार्यक्रममा स्रष्टाहरुले प्रस्तुत गरेको गजल सहभागिहरुले रुचिपूर्बक सुनेका थिए ।
गजल महफिलको शुरुवातमा ड्यालसका युवा स्रष्टा गजलकार पवन लामिछानेले आफ्नो गजल गजल बाचन गरेका थिए ।
मन भित्रको हुरी कसले देखेको छ ?
जिब्रोको खुकुरी कसले देखेको छ ?
हामीसँग हाँसेको दुनियाँले देख्यो,
सम्बन्धको दूरी कसले देखेको छ ?
गजल महफिलमा युवा गजलकारहरुले क्रमस आफ्नो रचना गजल बाचन गर्दा कार्यक्रम गजलमय बन्नुका साथै टेक्सासको प्रचण्ड गर्मीले तातेका सहभागिहरुलाई शितलता प्रदान गरेको थियो ।
गजल महफिल कार्यक्रममा दुई चरणमा गजल प्रस्तुत गरिएको थियो । सबै गजलकारहरुले कम्तीमा दुई दुई वटा गजल प्रस्तुत गरेका थिए । कार्यक्रममा सुनाईएका गजलहरु मिश्रित भावका थिए । स्रष्टाहरुले सुनाएका धेरैजसो गजल प्रण्य भावका थिए भने राजनीतिक वेथिती, देश प्रेम, नेपाली सामाजिक परिबेश लगायतका बिषयमा रचना गरिएका गजलहरु थिए ।
डेन्टनकी गजलकार सरु कालीले प्रस्तुत गरेको गजलले सहभागिहरुलाई भावुक बनाएको थियो । सरु कालीले बाचन गरेको गजल यस्तो थियो ः
जिन्दगी जिउने चाहाना मै जिन्दगी सकिएछ ।
मेरो भाग्य लेख्दा लेख्दै मसी सकिएछ ।
लामो धर्ना पछि डाक्टर पायो अस्पतालले,
डाक्टर छ, बिरामी छ, ओखती सकिएछ ।।
यसैगरि अर्का गजलकार कृष्ण कुसुमको गजल पनि सरु कालीको जस्तै समाजको चरित्रलाई व्यँग्य गरिएको थियो ।
‘जिन्दगी छ रिनै रिनमा, यत्ति बुझिराख्नु
तिर्छु तर कुनै दिनमा यत्ति बुझिराख्नु
साथीभाई नातागोता, समाज भन्नुमात्र
कोही हुन्नन् कठिनमा, यत्ति बुझिराख्नु ।’
अर्का युवा गजलकार बासुपुष्पा अधिकारी, मेरिल्याण्डका गजलकार रोहित राना, ह्युस्टनका गजलकार सतिष त्रिपाठी, गजलकार डिलु चम्लागाईले पनि आफ्नो गजल मार्फत सहभागीहरुलाई भारी मनोरन्जन दिलाएका थिए ।
गजल सुन्न आएका नेपाली समुदायको बाक्लो उपस्थिती रहेको थियो । नेपाली समाज टेक्सासको २५ औं स्थापना दिवस तथा रजत जयन्तीको सन्दर्भ पारेर आयोजना गरिएको गजल महफिल कार्यक्रममा सहभागि स्रष्टा गजलकारहरुलाई नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेले कदर पत्र प्रदान गर्नु भएको थियो । कार्यक्रमको सहजिकरण बरिष्ठ गजलकार राधाकृष्ण काफ्लेले गर्नु भएको थियो ।

फोटो सौजन्य ः रिपोर्टस क्लब अमेरिका

 

Leave A Reply

Your email address will not be published.