पत्रकारिता क्षेत्रमा आत्मालोचना सहितको रुपान्तरण आबश्यकता छ ः उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठ

घण्टेश्वर अनलाईन
काठमाण्डौं
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको राजनीतिक परिवर्तनमा नेपाली पत्रकारिता क्षेत्रले खेलेको भूमिकाको प्रशँसनिय रहेको बताउनु भएको छ ।
नेपाल पत्रकार महासंघ र नेपाल अमेरिका पत्रकार संघ (नेजा) द्वारा सँयुक्त रुपमा आयोजना गरिएको नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार –२०२२ बितरण समारोहमा बोल्दै प्रमुख अतिथी गृहमन्त्री श्रेष्ठले अन्य क्षेत्रमा जस्तै पत्रकारिता क्षेत्रमा पनि सुधारको आवश्यकता रहेको भन्दै आत्मालोचना सहित रुपान्तरण हुनुपर्ने कुरामा जोड दिनु भयो । बर्तमान सरकारले सञ्चार सम्बन्धी कानुन निर्माणलाई प्रथामिकताका साथ अघि बढाउने समेत प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
यसै गरि नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पत्रकारिता क्षेत्रलाई मर्यादित र व्यवस्थित गर्न आमसञ्चार प्रतिष्ठानको आवश्यकता रहेको बताउँदै सञ्चार सम्बन्धी कानुनलाई पूर्णता दिनुपर्ने बताउनुभयो ।
अध्यक्ष पोखरेलले सन्चार सम्बन्धी कानुन निर्माण प्रकृयालाई सरल बनाई पत्रकारिताका सबै क्षेत्रलाई समेट्ने गरी कानुन निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । नेपाल अमेरिका पत्रकार सँघ (नेजा) सँग निरन्तर सहकार्य निरन्तर रुपमा अघि बढाउन नेपाल पत्रकार महासँघ प्रतिबद्ध रहेको अध्यक्ष पोखरेलको भनाई थियो ।


प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नेपाली पत्रकारिता क्षेत्रको अवस्थाको वारे चर्चा गर्दै नेपाली पत्रकारिताको समीक्षा गर्नुपर्ने बेला आएको बताउनुभयो ।
यस्तै नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीले नेजासँगको सहकार्यको चर्चा गर्दै पत्रकारिता पुरस्कारमा मात्र नभई पत्रकारिता क्षेत्रका हरेक सवालमा सँगै सहकार्य गरिरहेको बताउनु भयो ।
नेपाल अमेरिका पत्रकार सँघ(नेजा) का अध्यक्ष सुरज भण्डारीको अध्यक्षता तथा महासचिव बाबुराम दाहालको सन्चालनमा सम्पन्न पुरस्कार बितरण कार्यक्रममा महासंघका सल्लाहकार निर्मला शर्मा, नेजाका पूर्व अध्यक्ष गौतम दाहाल लगायतका बक्ताहरुले पनि बोल्नु भएको थियो ।
उक्त अववसरमा नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पुरस्कृत दिलमाया शाही (सन्धान अनलाइन, जुम्ला, कर्णाली प्रदेश) र कमला तामाङ ‘पाख्रिन’ (कान्तिपुर टेलिभिजन, सिन्धुपाल्चोक, बागमती प्रदेश) लाई नगद पुरस्कार प्रदान गरिएको थियो । पुरस्कारको राशी प्रतिव्यक्ति १ लाख ११ हजार १ सय ११ रूपैयाँ र प्रमाणपत्र सहित सम्मान रहेको छ ।
पुरस्कार छनोट समितिका संयोजक गोविन्द आचार्यले २ सय २३ आवेदक मध्येबाट उत्कृष्ट दुईजनालाई छनोट गरिएको जानकारी गराउनु भएको थियो ।  यो पुरस्कार नेजाले नेपाल पत्रकार महासंघसँगको सहकार्यमा सन् २०१३ देखि ग्रामीण क्षेत्रका सक्रिय पत्रकारलाई प्रदान गर्दै आएको छ ।

 

 

Leave A Reply

Your email address will not be published.