घण्टेश्वर अनलाईन
बोस्टन, अमेरिका
मासाच्युसेट्स राज्यका बिभिन्न स्थानमा रहेका नेपाली समुदायका अगुवाहरुले प्रवासमा रहेका नेपाली समुदायका सँस्थाहरुका बीचमा समन्वय र सहकार्य हुनु पर्ने कुरामा जोड दिएका छन ।
नेपाल अमेरिका पत्रकार संघ(नेजा) द्वारा आज बोस्टनमा आयोजना गरिएको सामुदायिक अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले प्रवासमा स्थापना भएका सामाजिक सँस्थाहरु नेपालीका लागि नेपाली भन्ने भावनाले स्थापना भएकाले भातृत्व, एकता र सहकार्यको सम्बन्धलाई थप मजबुत बनाउनु पर्ने बताएका थिए ।
नेपाली समुदायका सँस्थाहरु दर्जनौं भएपनि एक आपसमा समन्वय र सहकार्य नभएको बताउदै नेपाल अमेरिका पत्रकार सँघ(नेजा)ले सबै सँस्थाहरुलाई एकै थलोमा ल्याउने प्रयास गरेको भन्दै खुलेरै प्रशँसा गरेका थिए ।
कार्यक्रमा नेपाल अमेरिका पत्रकार संघ(नेजा) का क्षेत्रीय (उत्तर–पूर्व)संयोजक सुपेन्द्र बस्नेतले नेपाल अमेरिका पत्रकार सँघ(नेजा) को बारेमा जानकारी गराउदै नेपाली समुदायका सँस्थाहरु र मिडियाका बीचको सहकार्यबाट नेपाली समुदायको लागि काम गर्न सकिने धारणा व्यक्त गर्नु भयो ।
उक्त अवसरमा नेपाली चाड पर्वहरु बडा दशैं, तिहार, न्यू दयाः भिम्तुना, छठको शुभकामना आदानप्रदान पनि गरिएको थियो । कार्यक्रममा मासाच्युसेट्स तथा न्यू इंग्ल्याण्ड क्षेत्रका मूलवासी नेपालीहरु आबद्ध रहेका बिभिन्न क्रियाशील संघ संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरु, मिडियाकर्मीहरुको सहभागिता रहेको थियो।