नेपालको पर्यटन प्रबर्द्धन गर्न अमेरिकाको टेक्सासमा भिजिट नेपाल कार्यक्रम

घण्टेश्वर अनलाईन
युलेश, टेक्सास
अमेरिकाको टेक्सासमा रहेका नेपाली समुदायले आईतबार टेक्सासको युलेशमा एक कार्यक्रमको आयोजना गरि नेपाल भ्रमण गर्न अमेरिकी समुदायलाई निम्तो दिएका छन । गैरआवासिय नेपाली संघ अमेरिका र टेक्सास च्याप्टरद्वारा टेक्सासको युलेश सिटी लाईव्रेरीको सभाकक्षमा आयोजना गरिएको “भिजिट नेपाल २०२४–२०२५” कार्यक्रममा बोल्दै नेपाली समुदायका अगुवाहरुले नेपालको प्रमुख पर्यटकीय स्थलको वारेमा जानकारी दिदै नेपाल भ्रमण गर्न सार्बजनिक रुपमा आग्रह गरे ।
कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष डा. अर्जुन वन्जाडेले नेपालमा पर्यटकहरुका लागि दर्जनौं रमणीय गन्तब्य स्थलहरु रहेको बताउदै नेपाल भ्रमण गर्न अमेरिकी समुदायलाई आग्रह गर्नु भयो । अध्यक्ष बन्जाडेले गैरआवासीय नेपाली संघ अमेरिकाले आफ्ना राज्य कमिटीहरु मार्फत नेपालको पर्यटन प्रबद्र्धन गर्न बिभिन्न कार्यक्रम आयोजना गर्न लागेको समेत उक्त अवसरमा जानकारी दिनु भयो ।
गैरआवासीय नेपाली संघ अमेरिकाका टुरिज्म एंड ट्रेड डिपार्टमेन्ट टास्क फोर्सका प्रमुख सबिन्द्र थापाले अमेरिकी समुदायलाई नेपाल भ्रमणको निम्तो दिदै नेपालका प्रमुख पर्यटकीय स्थलहरुको वारेमा आबश्यक जानकारी र भ्रमणका लागि आफु सहजिकरण गर्न तयार रहेको बताउनु भयो । त्यस्तै युलेस सिटी काउन्सिल सदस्य टिका पौडेलले सगरमाथाको देश नेपालका हरेक ठाउँ घुम्न लायक भएकोले सुन्दर देश नेपाल भ्रमण गरेर आनन्द लिन अमेरिकी समुदायलाई आग्रह गर्नु भयो ।
नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेले नेपालका प्रमुख पर्यटकीय स्थल र पर्यटकहरुले पाउने सेवा सुबिधाहरुको वारेमा जानकारी दिदै “भिजिट नेपाल २०२४–२०२५” लाई सफल बनाउन अमेरिकामा रहेका सबै नेपाली समुदायलाई आग्रह गर्नु भयो । गैरआवासीय नेपाली संघ अमेरिका टेक्सास च्याप्टरका अध्यक्ष दीपेन्द्र गुरागाईले “भिजिट नेपाल २०२४–२०२५” को वारेमा जानकारी दिदै टेक्सास च्याप्टरको तर्फबाट सन २०२४÷२५ मा बिभिन्न कार्यक्रमको आयोजना गरिने बताउनु भयो ।
उक्त अवसरमा गैरआवासीय नेपाली सँघ अमेरिकाका उपाध्यक्ष नेत्र पाण्डे, नेपाली समाज टेक्सासका पूर्ब अध्यक्ष बैकुण्ठ थापा, पूर्ब महासचिब कमल सत्याल, मनोज कटुवाल, सुरज पौडेल, अजय बगाले, नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्रकी अध्यक्ष सीता सापकोटा र भर्जिनिया निवासी एड्रियन पोख्रेलले नेपालको पर्यटकीय क्षेत्रको जानकारी गराउदै नेपाल भ्रमणको लागि जान प्रेरित गरेका थिए ।
त्यस्तै कार्यक्रममा सहभागी अमेरिकी समुदायले पनि नेपालको पर्यटकका लागि आकर्षक र सुरक्षित गन्तब्य स्थल रहेको बताएका थिए । कार्यक्रममा बोल्दै भारतीय समाज डिएफडब्लुकी अध्यक्ष सुष्मा मल्होत्राले नेपाली र भारतीयहरुको धेरै कुरामा समानता रहेको बताउदै आफु नेपाल भ्रमणको लागि चाँडै जाने योजना बनाईरहेको बताईन ।
कार्यक्रममा सहभागी टेक्सास राज्य सभाका साँसद सलमान भोजानीले आफुले हालैमात्र नेपाल भ्रमण गरेको र नेपालमा भ्रमण गर्न लायक दर्जनौं स्थानहरु रहेको बताउनु भयो । उक्त अवसरमा भोजानीले नेपाल भ्रमणका क्रममा सगरमाथाको आधार शिविरको यात्राको बारेमा रोचक अनुभव सुनाएका थिए ।
यसैगरि युलेश सिटीका मेयर लिण्डा मार्टिनले आफ्नो सिटी बहुभाषिक र बहुसाँस्कृतिक सिटीका रुपमा बिकसित भईरहेको र त्यसको श्रेय नेपाली समुदायलाई जाने बताईन । आफुले नेपालको पर्यटीय स्थलका वारेमा आफ्ना नेपाली साथीहरुबाट जानकारी लिएको बताउदै मेयर मार्टिनले आफु चाहेर पनि नेपाल जान नसक्ने अवस्थामा रहेको सुनाईन । श्रृष्टि उप्रेतीको सन्चालनमा सम्पन्न भएको उक्त कार्यक्रममा बेड्पÞmोर्ड सिटीका मेयर डन कोगनले पनि बोल्नु भएको थियो । उक्त अवसरमा नेपाली सँस्कृति झल्किने बिभिन्न साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।

 

 

फोटो साभार ः रिपोटर्स क्लब अमेरिका

Leave A Reply

Your email address will not be published.