
कबिराम डाँगी
सहजपूर, कैलाली
धनगढी डडेल्धुरा भीमदत्त राजमार्ग अन्तर्गत पर्ने भासु भिर नजिकै बुधवार बेलुकी एम्बुस बिस्फोट भएको छ । चुरे गाउँपालिका ३ भासुभीर नजिकै बाटो खन्ने क्रममा भएको विद्युतीय धराप(एम्बुस) बिष्फोटमा परि चार जना घाईते भएको प्रहरीले जनाएको छ । उक्त एम्बुस द्वन्द्वकालिन अवस्थामा राखिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दका अनुसार भासु भिर नजिकै जेसिबीले सडक चौडा तथा मर्मत गरिरहेको बेला अकस्मात बिस्फोट भएको थियो । बिस्फोटमा परि घाईते हुनेहरुमा क्रमस ः जेसिबी चालक कैलालीका ४५ वर्षीय वसन्त खडायत, रोलर अप्रेटर सुर्खेतका २२ वर्षिय हिरा थापा, आलिताल गाउँ पालिका वडा नं. ८ का बिकास थापा र कञ्चनपुरका नविन देव अवस्थी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाईते चार जना मध्ये विकास थापाको अवस्था सामान्य रहेको छ । थापाको सहजपुरस्थित स्वास्थ्य चौकीमा उपचार भईरहेको छ भने अन्य तीन जना घाईतेको धनगढीको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ।
बिष्फोटपछि प्रहरीले घट्नास्थल नियन्त्रणमा लिई सवारी साधन आवतजावतमा रोक लगाएको छ । घट्ना लगत्तै नेपाली सेनाको बम डिष्पोजल टोली घट्नास्थलमा पुगेको छ ।