घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास
नेपाली समाज टेक्सासले समुदायका लागि निःशुल्क कानूनी परामर्श सेवा सन्चालन गर्ने भएको छ । समुदायलाई आबश्यक पर्ने कानूनी सल्लाह प्रदान गर्ने उद्देश्यले नेपाली समाज टेक्सासले हरेक महिनाको पहिलो मँगलबार भर्चुअल माध्यमबाट एनएसटी कानूनी परामर्श सेवा सन्चालन गर्न लागेको हो । परामर्श सेवा कार्यक्रम बेलुकी ६ः३० देखि ७ः३० बजे सम्म १ घण्टा सन्चालन हुने नेपाली समाज टेक्सासका प्रबक्ता किरण पौड्यालले जानकारी दिनु भयो ।
प्रबक्ता पौड्यालका अनुसार एनएसटी कानूनी परामर्श सेवा कार्यक्रम यही मार्च महिनाको ५ तारेख देखि शुरु हुने छ । समुदायलाई आबश्यक पर्ने कानूनी परामर्श नेपाली समाज टेक्सासका कानूनी सल्लाहकार बरिष्ठ कानून व्यवसायी केशबराज सेढाँईले भर्चुअल माध्यमबाट दिनु हुने छ । कानूनी परामर्श सेवा कार्यक्रम नेपाली समाज टेक्सासका फेसबुक लगायत बिभिन्न सामाजिक सन्जाल पेजहरुबाट प्रत्यक्ष प्रसारण हुने छ । दर्शक श्रोताहरुले तोकिएको दिन र समयमा प्रत्यक्ष प्रसारण भईरहेको फेसबुक पेजमा सुनेर आफ्ना समस्या र आबश्यक परेको सल्लाह कमेन्ट बक्समा लेख्नु पर्ने छ । दर्शक श्रोताहरुले इम्रिगेशन, कर्पोरेशन, म्यारिज र डिभोर्स, रियल स्टेट लगायत अमेरिकाको पछिल्ला ऐन कानूनको बारेमा जिज्ञासा राख्न सक्ने छन । दर्शक श्रोताले लेखेका प्रश्नहरुको बरिष्ठ कानून व्यवसायी (अटोर्नी) केशवराज सेढाईले क्रमस दिदै जाने प्रबक्ता पौड्यालले बताउनु भयो ।
पछिल्लो समय अमेरिकामा रहेका नेपाली समुदायहरु बिभिन्न कानूनी सल्लाहको अभावमा पीडित बनिरहेका छन । एनएसटी कानूनी परामर्श सेवाबाट नेपाली समुदाय प्रत्यक्ष रुपमा लाभान्वित हुने नेपाली समाज टेक्सासले जनाएको छ ।
