नेपाल पत्रकार महासङ्घको केन्द्रीय महाधिवेशन लुम्बिनीमा हुने

घण्टेश्वर अनलाईन
काठमाण्डौं
नेपाल पत्रकार महासङ्घले केन्द्रीय महाधिवेशन लुम्बिनीमा हुने भएको छ । महासंघको बुधबार बसेको केन्द्रीय समितिको बैठकले विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) अर्थात २०८१ साल वैशाख २१ र २२ गते केन्द्रीय महाधिवेशन लुम्बिनीमा गर्ने निर्णय गरेको हो ।
महाधिबेशनमा केन्द्रीय साधारणसभामा सहभागी भएका राष्ट्रिय परिषद् सदस्यहरू सहभागी हुने छन । महाधिवेशनमा सांगठानिक, आर्थिक प्रतिवेदन र समसामयिक प्रस्तावमा छलफल हुने महासंघले जनाएको छ ।
महासंघका महासचिब रोशन पुरीद्वारा प्रकाशित बिज्ञप्ती अनुसार बैठकले महासंघका सबै प्रदेशको अधिवेशन २०८१ वैशाख १ देखि १२ गते र त्यसअघि महासंघका सबै शाखा समिति, प्रतिष्ठान शाखा तथा एसोसिएट संस्थाको अधिवेशन गर्न निर्देशन दिएको छ । अधिवेशन सम्पन्न गर्दा महासंघबाट केन्द्रीय प्रतिनिधिको अनिवार्य सहभागिता हुनुपर्ने समेत बैठक मार्फत निर्देशन दिईएको छ ।
महाधिवेशन तयारीका सन्दर्भमा अध्यक्ष विपुल पोख्रेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोसन पुरी रहेको एक स्टेरिङ कमिटी पनि गठन गरिएको छ । सो कमिटीले महाधिवेशनको सम्पूर्ण तयारीलगायत प्रदेश तथा शाखा समितिको अधिवेशन सम्पन्न गर्न आवश्यक समन्वय गर्नेछ ।
केन्दीय समितिको बैठकले १० वटै प्रदेशमा केन्द्रीय पदाधिकारीलाई प्रदेश संयोजकको जिम्मेवारी तोकेको छ । महासंघका अनुसार कोशी प्रदेशमा उपाध्यक्ष बाला अधिकारी, मधेस प्रदेशमा सचिव दीपेन्द्र चौहान, वाग्मती प्रदेशमा सचिव सिर्जना अर्याल, गण्डकी प्रदेशमा लेखा संयोजक लेखनाथ न्यौपाने, लुम्बिनी प्रदेशमा उपाध्यक्ष उदय जिएम, कर्णाली प्रदेशमा कोषाध्यक्ष कलेन्द्र सेजुवाल, सुदूरपश्चिम प्रदेशमा सचिव हेमकर्ण विक, एसोसिएट प्रदेशमा सचिव पवन आचार्य, प्रतिष्ठान प्रदेशमा सचिव नारायण किलम्बु र उपत्यका प्रदेशमा सचिव गोविन्दप्रसाद चौलागाईंलाई संयोजकको जिम्मेवारी दिईएको छ ।

Leave A Reply

Your email address will not be published.