नवराज भट्ट
फोर्टवर्थ, टेक्सास
करिब दुई साता अघि टेक्सासको फोर्टवर्थ क्षेत्रमा सामुहिक रुपमा रमाईलो होली कार्यक्रम आयोजना हुने सम्बन्धि व्यानर पोष्ट भयो । घर छेउमै होली कार्यक्रम आयोजना हुने खबरले फोर्टवर्थ क्षेत्रमा रहेका नेपालीहरुका बीचमा चर्चा नपाउने कुरै भएन । मार्च २४ आईतबार सबेरै फोर्टवर्थको वेष्ट फोर्क रेन्च पार्क जम्मा हुने क्रम शुरु भयो । एकै छिनमा पार्क परिसर नेपालीहरुको उपस्थितीले भरियो र पार्क होलीले रङ्गियो । होलीमय बन्यो ।
“के हुन्छ खै भोली, खेलौं आजै होली
ह्याप्पी होली, ह्याप्पी होली, ह्याप्पी होली”
दुर्गेश थापा र लक्ष्मी मल्लको स्वरमा रहेको होली सम्बन्धि गीत डिजेमा बज्न शुरु भएपछि पार्कमा जम्मा भएका युवा युवतीहरु छमछमी नाच्न थाले । पार्कमा जम्मा भएका नेपालीहरु एक आपसमा रङ्ग लगाएर, रङ्ग छरेर पार्कलाई नै रङ्गिन बनाए । फोर्टवर्थ नेपाली समाज, नेपाली पाठशाला र नेप्लिज दिभाज फाउन्डेशनद्वारा आयोजना गरिएको होली कार्यक्रममा फोर्टवर्थ क्षेत्रमा रहेका नेपाली समुदायको उल्लेख्य सहभागिता रहेको थियो ।
फोर्टवर्थ क्षेत्रमा नेपाली समुदायको बाक्लो बसोबास हुन थालेको छ । भौगोलिक बनावट अनुसार अन्य स्थानमा आयोजना हुने होली कार्यक्रममा सहभागि हुन कठिनाई भएको गुनासो आउन थालिएकोले पहिलो पटक प्रयास गरिएको फोर्टवर्थ क्षेत्रका सामाजिक अभियन्ता मधुर खरेलले बताए ।
नेपाली समुदायले मनाउने चाडपर्बहरु छुट्टा छुट्टै मनाउदा समुदायलाई समय व्यवस्थापन गर्न कठिनाई हुने भएकाले पनि भौगोलिक बनावट अनुसार सँयुक्त रुपमा मनाउन प्रयास गरिएको हो । आगामी दिनमा नेपाली समुदायका चाडपर्बहरुलाई अझ व्यवस्थित गरि बृहत रुपमा आयोजना गरिने छ, खरेलले भने ।
नेपाल अमेरिका पत्रकार संघ(नेजा)का अध्यक्ष सुरज भण्डारीको अध्यक्षता र भगवती कोईरालाको सन्चालनमा सम्पन्न रमाईलो होली कार्यक्रममा नेपलिज दिभाज फाउन्डेशनका लक्ष्मी राना, नेपाली पाठशालाका अध्यक्ष निर्मल पाण्डेले होली पर्बको शुभकामना दिनु भएको थियो ।
बिगतका बर्षमा अमेरिकाको टेक्सासमा रहेका नेपाली समुदायका जातीय तथा क्षेत्रीय स्तरमा सँस्थाहरुले होली लगायत नेपाली चाडपर्बहरु छुट्टा छुट्टै रुपमा मनाउदै आएका थिए । भौगोलिक बनावट अनुसार पछिल्लो समय सँयुक्त रुपमा चाड पर्बहरु मनाउन थालिएको छ । नेपाली समाज टेक्सास सहित एक दर्जन बढी नेपाली समुदायका सँस्थाहरुको सँयुक्त आयोजनामा शनिबार टेक्सासको युलेशमा मेघा होली कार्यक्रम आयोजना गरिएको थियो ।



