न्यूयोर्कमा रहेका सुदूरपश्चिमेलीहरुले आफ्नै मौलिकतामा मनाए “होली पर्ब”

घण्टेश्वर अनलाईन
न्यूयोर्क, अमेरिका

“ट्रम्पले खेल्यो, बाईडेनले खेल्यो ह्वाईट हाउसका आगनमा
कति राम्रो होली फागुनमा, अति राम्रो होली होली अम्रिकामा”
अमेरिकाको न्यूयोर्क स्थित कोरोना पार्कमा आईतबार आयोजना गरिएको होली कार्यक्रममा सम्बन्धि गीत बज्न शुरु भएपछि सुदूरपश्चिमेलीहरु हातमा हात जोडेर खुट्टाकोे ताल मिलाउन थाले । होली गीतमा छमछमी नाचे । सुदूरपश्चिम समाज अमेरिका न्यूयोर्कद्वारा आयोजना गरिएको होली बिशेष कार्यक्रममा सहभागि भएका अन्य नेपाली तथा अमेरिकनहरुले पनि सुदूरपश्चिमेलीहरुको होली कार्यक्रमलाई रुचीपूर्बक अबलोकन गरे ।
होली पर्ब सुदूरपश्चिमेली समुदायको प्रमुख साँस्कृतिक चाड हो । सुदूरपश्चिममा होली पर्बलाई आफ्नै मौलिकतामा मनाउने गर्दछन । सुदूरपश्चिमेलीहरुको होली खेल्नको लागि आफ्नै पोशाक छ । होली पर्बको महत्व झल्किने मौलिक गीत पनि छ । अमेरिकाको न्यूयोर्कमा रहेका सुदूरपश्चिमेलीहरुले हरेक बर्ष आफ्नै मौलिकतामा होली पर्ब मनाउने गरेको सुदूरपश्चिम समाज अमेरिका न्यूयोर्कका अध्यक्ष दानसिं बिष्टले बताए ।
कोरोना पार्कमा आयोजना गरिएको होली कार्यक्रममा सुदूरपश्चिमको प्रमुख बाजा दाईन दमाहको तालमा सहभागिहरु नाचेका थिए । कार्यक्रममा प्रस्तुत गरिएको बिभिन्न मौलिक कार्यक्रमले सुदूरपश्चिमको सँस्कृति झल्किन्थ्यो । उक्त अवसरमा एक आपसमा रंग लगाएर होलीको शुभकामना आदान–प्रदान, सुदूरपश्चिमको सँस्कृति झल्किने विविध साँस्कृतिक कार्यक्रमहरू, बालबालिकाहरूका लागि रमाइलो खेलहरू, चिठ्ठाका साथै आकर्षक उपहारहरू र स्वादिष्ट खानका परिकारहरूको व्यवस्था पनि गरिएको थियो ।
बिदेशमा भएपनि आफ्नै मौलिकतामा होली पर्ब मनाउन पाउँदा सुदूर पश्चिमेलीहरुले जन्मभूमिमा रहेको अनुभूती गरेको होली कार्यक्रमका सँयोजक रैभान महराले बताए । होली कार्यक्रमको व्यवस्थापन तथा होली गीत भट्याउने समेतको अगुवाई समाजका उपाध्यक्ष समेत रहेका महराले गरेका थिए ।
सुदूरपश्चिम समाज अमेरिका न्यूयोकका अध्यक्ष दानसिंह बिस्टकोे अध्यक्षता तथा महिला सदस्य लक्ष्मी पन्तको सन्चालनमा सम्पन्न होली बिशेष कार्यक्रममा उपाध्यक्ष रैभान महराले स्वागत मन्तव्य दिनु भएको थियो ।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष रामबहादुर देउवा, पूर्व अध्यक्ष गणेश विष्ट, मेरिल्याण्ड राज्य प्रतिनिधि ह्यारी भन्डारी, सुकरानी धनपत (दक्षिण एसियाली समुदायका लागि मेयरको सामुदायिक मामिला इकाई वरिष्ठ सामुदायिक सम्पर्क व्यक्ति), न्यूयोर्क शहरका मेयरका सल्लाहकार नवराज केसी लगायत विभिन्न नेपाली समुदायका अगुवाहरु तथा सुदूरपश्चिमेलीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
होली कार्यक्रमको लागि न्यूयोर्क स्थित बिभिन्न व्यवसायी तथा व्यक्तिहरुले सहयोग गरेको समाजका महासचिब हरिदत्त जोशीले बताउनु भयो ।

 

Leave A Reply

Your email address will not be published.