गैर आवासिय नेपाली सँघ अमेरिकाको टेक्सास शाखाद्वारा वार्षिक कार्यक्रम सार्बजनिक

घण्टेश्वर अनलाईन
टेक्सास
गैर आवासिय नेपाली सँघ अमेरिकाको टेक्सास शाखाले सन २०२२ को लागि आफ्नो वार्षिक कार्यक्रम सार्बजनिक गरेको  छ । ‘नेपालीका लागि नेपालीद्वारा’ भन्ने नाराका साथ टेक्सास शाखाले सार्बजनिक गरेको वार्षिक कार्यक्रमहरुमा बिभिन्न सहयोग, क्षमता बिकास, जागरण तथा सचेतना कार्यक्रमहरु समाबेश गरिएका छन ।
सार्बजनिक गरिएका कार्यक्रमहरुमा महिलाहरुका लागि नि:शुल्क हल्का सवारी चालक तालीम, बिभिन्न तहका माध्यमिक तह तथा स्नातक तहका बिद्यार्थीहरुका लागि छात्रबृत्ति सहयोग कार्यक्रम, नेपाली सँस्कृति, भेषभुषा, पुरातत्व झल्काउने बिषयमा बक्तृत्वकला प्रतियोगिता, हिज्जे प्रतियोगिता रहेका छन ।
यसै गरि टेक्सास राज्यका सरोकारवाला निकायहरुसँग नेपालीहरुको पक्षमा वकालत गर्ने कार्यक्रम पनि टेक्सास शाखाको प्राथमिकता सूचिमा परेको छ । विभिन्न खेलका लागि खेल मैदानको माग गर्दै युलेस र अर्भिङ शहरको कार्यालयमा डेलिगेसन जाने, सवारी चालक अनुमति पत्रको लागि लिने परिक्षामा नेपाली भाषा समाबेश गर्नका लागि हस्ताक्षर सँकलन सहित डेलिगेशनमा जाने, माध्यमिक तहमा अन्य भाषा जस्तै नेपाली भाषा पनि ऐच्छिक रुपमा अध्ययन गर्न पाउनु पर्ने माग सहित टेक्सास स्थित विभिन्न सम्बन्धित पक्ष तथा सरोकारवालाका बिचमा बहस तथा पैरवी गर्ने, साथै अस्टिनमा डेलिगेशन जाने, कुनै एउटा मार्गलाई नेपालीको अपनत्व हुनेगरि नामकरण गर्न प्रयत्न गर्ने र त्यसका लागि टेक्सासका सम्बन्धित निकायमा डेलिगेशन जाने कार्यक्रम रहेको गैर आवासिय नेपाली सँघ अमेरिकाको टेक्सास शाखाका अध्यक्ष सोफिन थापाले जानकारी दिनु भयो ।
यसैगरि टेक्सासका बिभिन्न शहर तथा नेपाली समाजका बिचमा अन्तरकृया तथा छलफल कार्यक्रम, गैरआवासिय नेपाली सँघ स्थापना दिवसको अवसर पारेर बनभोज कार्यक्रम, बित्तिय सचेतना कार्यक्रमलाई निरन्तरता दिने, मानसिक स्वास्थ्य तथा शारीरिक स्वास्थ्य सम्बन्धि सचेतना कार्यक्रम सन्चालन गर्ने, अमेरिकाको मूलधारको राजनीतिमा लाग्न नेपाली समाजका व्यक्तिहरुलाई प्रोत्साहित गर्ने तथा उम्मेदवारी दिएका दिनेश शर्मा र मोहन ज्ञवाली लगायतका नेपालीहरुलाई विनापूर्बाग्रह साथ र सहयोग गर्ने र सन २०२२ मा Minority Community Mobilization: Minority Wave(Cultural exchange and showcase events) योजना बनाई सन २०२३ मा समापन गर्ने कार्यक्रम रहेको टेक्सास शाखाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.