घण्टेश्वर अनलाईन
युलेश, टेक्सास
टेक्सासको ड्यालस स्थित युलेशमा आयोजना हुन लागेको श्रीमद् देवी भागवत महापुराण ज्ञान महायज्ञ (अध्यात्मिक महोत्सब) भोली मँगलबार बिशेष कार्यक्रमका बीचमा उद्घाटन हुँदैछ । महायज्ञ उद्घाटनको पूर्बसन्ध्यामा बिहान ९ बजे युलेशमा भब्य कलश यात्राको आयोजना हुने भएको छ । श्रीमद् देवी भागवत महापुराण ज्ञान महायज्ञ (अध्यात्मिक महोत्सब) को लागि पर्याप्त पार्किङको व्यवस्था गरिएकोले भोली आयोजना हुने कलश यात्रा तथा उद्घाटन कार्यक्रममा सहभागि भईदिन ड्यालस फोर्टवर्थ क्षेत्रमा बसोवास गर्ने नेपाली समुदायलाई मूल तयारी समितिले अनुरोध गरेको छ ।
श्रीमद् देवी भागवत महापुराण ज्ञान महायज्ञ (अध्यात्मिक महोत्सब) नेपाली समुदायको सर्वाधिक महत्वको कार्यक्रम भएकाले महायज्ञको व्यवस्थापन पक्षलाई प्रभावकारी बनाउन प्रयास गरिएको आईतबार बेलुकी आयोजना गरिएको पत्रकार भेटघाटमा अध्यक्ष सापकोटाले बताईन् ।
महायज्ञ नेपाली समुदायको पहिचान तथा आफ्नो भाषा, कला सँस्कृतिलाइ पुस्तान्तरण गर्ने विषय पनि हो । महायज्ञ अवधिभर अप्रिल ९ देखि १७ सम्म अर्थात (चैत्र २७) देखि नवमी (वैशाख ५) सम्म सहभागि हुँदा छोराछोरी सहित सपरिवार सहभागि भई धार्मिक तथा अध्यात्मिक ज्ञान लिन सापकोटाले आग्रह गरिन् ।
पत्रकार भेटघाट कार्यक्रममा महायज्ञ तयारीको वारेमा जानकारी दिईएको थियो । हामीले एक पटकमा एक हजार बढी सवारी साधन अट्न सक्ने गरि पार्किङको चाँजोपाँजो मिलाएका छौं । महायज्ञ आसपासको पार्किङ्गका लागि फस्ट कम फस्ट सर्भ भएकोले महायज्ञ परिसर भन्दा केही टाढा पनि पार्किङ्गको व्यबस्था गरिएको नेपाली समाज टेक्सासका महासचिब बिजय भुसालले बताए । महासचिब भुसालका अनुसार मन्दिरको आफ्नै पार्किङ्गलटका अतिरिक्त नजिकै रहेको रिह्याभ सेन्टर पछाडीको पार्किङ्गलट पनि प्रयोग गर्न सकिन्छ । दुबै स्थानमा मात्र ४ सय बढी पार्किङ्ग क्षमता रहेको छ ।
महायज्ञको सन्दर्भमा छिमेकी बेडफोर्ड सिटीसँग आबश्यक समन्वय गरेर मन्दिरबाट २ माईल टाढा रहेको पेनिङ्गटन फिल्डलाई पनि कार्यक्रम अबधिभर पार्किङ्गको लागि प्रयोग गर्न सकिने छ । सो स्थानमा एकै पटकमा सातसय गाडी पार्किङ्ग गर्न सकिन्छ । महायज्ञ अबधिभर पेनिङ्गटनबाट महायज्ञ स्थलसम्म हरेक १५ मिनेटमा आवत जावतको लागि नि ः शुल्क शटल बसको व्यबस्था समेत गरिएको समेत तयारी समितिका पदाधिकारीहरुले जानकारी दिए ।
महायज्ञमा सहभागि हुन आउँदा प्रबेशद्वार वा अनलाईन SHREE PASHUPATINATH TEMPLE & BOUDDHA VIHAR (ourncsc.org) मा गएर भक्तजनहरुले अनिबार्य रुपमा नाम दर्ता गर्नु पर्ने व्यवस्था मिलाईएको छ । युलेस सिटीले महायज्ञमा सहभागीहरुको संख्या माग गरेकाले नाम दर्ता गर्नु पर्ने अवस्था आएको हो । दर्ता गरिएको सूचना गोप्य रहने मन्दिरका पूर्ब अध्यक्ष सुरेशचन्द्र पोखरेलले बताए ।
पत्रकार भेटघाट कार्यक्रममा मन्दिरका उपाध्यक्ष छबीमणि चापागाई, स्वयमसेवक परिचालन समितिका जीवन घिमिरे, मन्दिरका सचिव दिनेश ज्ञवाली लगायतले नौ दिनसम्म सन्चालन हुने महायज्ञको तयारीको वारेमा जानकारी दिएका थिए ।