महायज्ञमा नेपाली समुदायको सहभागिताले उत्साहित भएका छौं ः सीता सापकोटा, अध्यक्ष नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्र

टेक्सासको युलेशमा गत मँगलबार देखि श्रीमद् भागवत ज्ञान महायज्ञ सन्चालन भईरहेको छ । महायज्ञमा ड्यालस फोर्टवर्थ क्षेत्रमा बसोवास गर्ने नेपाली समुदायहरु उत्साहजनक रुपमा सहभागि भईरहेका छन । टेक्सासको ड्यालस (युलेश) मा पशुपतिनाथ तथा बौद्ध स्तुपा निर्माणको लागि आर्थिक श्रोत जुटाउने उद्देश्यले आयोजना गरिएको महायज्ञमा नेपालका चर्चित कथाबाचक दिनबन्धु पोखरेलले कथा बाचन गरिरहनु भएको छ । महायज्ञको बिबिध बिषयमा केन्द्रित रहेर नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्र (पूजा समिति) की अध्यक्ष सीता सापकोटासँग सँक्षिप्त कुराकानी गरेका छौं । प्रस्तुत छ, अध्यक्ष सापकोटासँग गरिएको कुराकानी
घण्टेश्वर अनलाईन ः अध्यक्ष ज्यू, स्वागत छ अनि नेपाली नयाँ बर्षको शुभ कामना पनि छ ।
अध्यक्ष सीता सापकोटा ः धन्यवाद, तपाई अनि तपाईको लोकप्रिय अनलाईन पत्रिका घण्टेश्वर अनलाईन परिवारलाई पनि नेपाली नयाँ बर्षको शुभकामना छ ।
घण्टेश्वर अनलाईन ः महायज्ञ कसरी चलिरहेको छ ? बताई दिनुस न ।
अध्यक्ष सीता सापकोटा ः गत मँगलबार देखि हामी युलेशमा श्रीमद् भागवत ज्ञान महायज्ञ(नवाह) आयोजना गरिरहेका छौं । आज चौथो दिन हो । महायज्ञमा नेपाली समुदायको निकै उत्साहजनक सहभागिता रहेको छ । अमेरिकाको व्यस्त समयमा हामीले अनुमान गरे भन्दा बढी नेपालीहरुको सहभागिता देखिएको छ । हामीले महायज्ञमा आउने भक्तजनहरुको नाम दर्ता गरिरहेका छौं । हरेक दिन अद्याबधिक पनि गर्छौ । आज मात्रै नाम दर्ता गरेका नेपाली समुदायको सँख्या १ हजार ५ सय बढी रहेको पाईएको छ । कतिपयले नाम दर्ता नगरि पनि सहभागि हुनु भएको छ । नेपालीहरुको सहभागिताले हामी उत्साहित भएका छौं ।
घण्टेश्वर अनलाईन ः महायज्ञमा सहभागि हुन आउने भक्तजनहरुको लागि पार्किङको ब्यवस्था कसरी व्यवस्थापन गरिरहनु भएको छ ?

अध्यक्ष सीता सापकोटा ः हामीले महायज्ञको सन्दर्भमा हरेक कामको जिम्मेवारी वाँडफाँड गरेका छौं । पार्किङका जिम्मेवारी बलराम पौडेलजीको नेतृत्वमा रहेको टोलीले गरिरहेको छ । हामीले महायज्ञ परिसरमा रहेका पार्किङका अतिरिक्त बेडफोर्डका पेनिङ्गटन फिल्डलाई पनि पार्किङ स्थलको रुपमा प्रयोग गरिरहेका छौं । महायज्ञ स्थलबाट पेनिङ्गटन फिल्ड सम्म जान आउन सटल बसको व्यवस्था गरिएको छ । पार्किङका कारणले कुनै समस्या झेल्नु पर्ने अवस्था छैन । पार्किङको समस्या भएमा हामीलाई जानकारी गराउनु भएमा तत्काल सामाधान गरिने छ ।
घण्टेश्वर अनलाईन ः महायज्ञको प्रमुख उद्देश्य नै पशुपति नाथ तथा बौद्ध स्तुपा निर्माण परियोजना सम्पन्न गर्ने हो । आर्थिक श्रोत कसरी सँकलन भईरहेको छ , बताउन मिल्छ ?
अध्यक्ष सीता सापकोटा ः हामीले सार्बजनिक रुपमा भनिरहेको कुरा हो, महायज्ञको मूल उद्देश्य पशुपति नाथ तथा बौद्ध स्तुपा निर्माण परियोजनाको लागि आर्थिक सँकलन गर्ने हो । कुल लागतको ५० प्रतिशत रकम सँकलन गर्ने लक्ष्य राखेका छौं । आज चौथो दिन हो । अहिले वास्तबिक तथ्याँक मसँग छैन तापनि करिब ९ लाख डलर सँकलन भएको छ । सहयोग गर्ने अभियान जारी रहेको छ । खासगरि नेपाली समुदायहरु ठूलो सँख्यामा शनिबार, आईतबार महायज्ञमा सहभागि हुने अनुमान गरेका छौं ।
घण्टेश्वर अनलाईन ःमहायज्ञमा लक्ष्य पूरा हुनेमा कत्तिको आशावादी हुनु हुन्छ ?
अध्यक्ष सीता सापकोटा ः लक्ष्य राख्न पाईन्छ । आशावादी छौं । यो परियोजना नेपाली समुदायको व्यापक सहभागितामा सम्पन्न हुँदैछ । नेपाली समुदाय खुला दिलले सहयोग गरिरहनु भएको छ ।
घण्टेश्वर अनलाईन ः अन्तमा घण्टेश्वर अनलाईन मार्फत के भन्न चाहानु हुन्छ ?
अध्यक्ष सीता सापकोटा ः टेक्सास लगायत प्रवासमा रहनु भएका समस्त नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा नेपाली नयाँ बर्षको हार्दिक मँगलमय शुभकामना व्यक्त गर्न चाहान्छु । हामीले बिदेशी भूमिमा नेपाली पहिचान स्थापित गर्ने उद्देश्यले पशुपति नाथ तथा बौद्ध स्तुपा निर्माण गर्दैछौं । यो नेपाली समुदायको गौरवको विषय पनि हो । बिदेशमा जन्मेका र हुर्केका नेपाली समुदायका बालबालिकाहरुलाई भाषा, सँस्कृति र नेपाली चिनाउने अभियान पनि हो । त्यसैले महायज्ञमा प्रत्यक्ष रुपमा सहभागि हुनु होस । आउन नसक्नेहरु पनि महायज्ञका कार्यक्रम बिभिन्न सामाजिक सन्जाल मार्फत प्रत्यक्ष प्रसारण भईरहेका छन । सुन्नु होस । महायज्ञमा खुल्ला दिलले सहभागि भई सहयोग गर्नुहोस तपाईको सानो सहयोगले हाम्रो गौरवको परियोजना सम्पन्न सहयोग पुग्दछ ।

Leave A Reply

Your email address will not be published.