न्याय पालिकामा सुधारका सकारात्मक सँकेत देखिन थालेका छन ः प्रधान न्यायाधीश श्रेष्ठ

घण्टेश्वर अनलाईन
सिलगढी, डोटी
सर्वोच्च अदालतका प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकालाई सुधार गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताउनु भएको छ ।
उहाँकोे सम्मानमा गृह जिल्ला डोटीबासीको तर्फबाट आईतबार सिलगढीमा आयोजना गरिएको नागरिक अभिनन्दन कार्यक्रममा बोल्दै प्रधान न्यायाधीश श्रेष्ठले आफु प्रधान न्यायाधीशमा नियुक्त भएपछि न्याय पालिकामा सुधारका लागि योजनाबद्ध रुपमा प्रयास गरिरहेको र त्यसको सकारात्मक सँकेतहरु पनि देखिन लागेको दावी गर्नु भयो ।
आफ्नो गृह जिल्लामा पाएको माया र सम्मानले खुशी लागेको बताउँदै प्रधान न्यायाधीश श्रेष्ठले नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको मान्यता अक्षुण राख्ने प्रतिबद्धता समेत जनाउनु भयो ।
नागरिक अभिनन्दन कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिका प्रमुख बाजीसिं खड्काले न्याय क्षेत्रको सर्वोच्च तह सर्वोच्च अदालतको नेतृत्वमा एक डोटेली पाउँदा गौरव महसुस भएको वताउनु भयो ।
यसैगरि पूर्बिचौकी गाउँ पालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले डोटी जिल्लाको पछिल्लो अवस्थाको वारेमा बताउँदै डोटीले उत्पादन गरेका हरेक व्यक्तिले आफ्नो जन्मभूमि प्रति आ आफ्नो क्षेत्रबाट योगदान दिने हो भने डोटीको समृद्धि र बिकासमा सहयोग पुग्ने धारणा व्यक्त गर्नु भयो ।
पारिवारिक भेटघाटका क्रममा डोटी पुग्नु भएका प्रधानन्यायाधीश श्रेष्ठलाई शैलेश्वरी मन्दिरको प्राङ्गणमा एक समारोहको आयोजना गरि नागरिक अभिनन्दन गरिएको थियो । प्रधानन्यायाधीश श्रेष्ठलाई नागरिक अभिनन्दन गर्नु अघि सांस्कृतिक झाँकी सहित सिलगढी बजारमा नगर परिक्रमा गराईएको थियो ।
प्रधान न्यायाधीश श्रेष्ठ नेपालको इतिहासमै डोटीबाट प्रधान न्यायाधीश बन्ने पहिलो डोटेली हुन् । उहाँको पुख्र्यौउली घर डोटीको सिलगढी बजारमा हो । शाखा अधिकृतका रूपमा २०३८ सालमा सरकारी सेवामा प्रवेश गरेका श्रेष्ठ २०८० भदौ ४ गते सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा नियुक्त भएका थिए ।
प्रधान न्यायाधीश श्रेष्ठले उच्च अदालत दिपायल, जिल्ला अदालत डोटीकोे निरीक्षण समेत गरेका थिए ।

Leave A Reply

Your email address will not be published.