कबिराम डाँगी
जोरायल
गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टको डोटीको जोरायलमा नागरिक अभिनन्दन गरिएको छ । जोरायल गाउँ पालिकाका अध्यक्ष दुर्गादत्त ओझा तथा उपाध्यक्ष जमुना बोहराले जोरायल गाउँ पालिकाबासीको तर्फबाट प्रदेश प्रमुख भट्टलाई दोसल्ला, खादा तथा अभिनन्दन पत्र दिएर अभिनन्दन गर्नु भएको थियो ।
नागरिक अभिनन्दन गर्नु पूर्ब जोरायल गाउँ पालिकाबासीको तर्फबाट गाउँ पालिका अध्यक्ष दुर्गादत्त ओझा, उपाध्यक्ष जमुना बोहरा सहित स्थानीय बासिन्दाहरुले प्रदेश प्रमुख भट्टलाई बिभिन्न झाँकी तथा खादा माला सहित रावतकट्टेमा स्वागत गरेका थिए ।
स्थानीय जोरायल गाउँ पालिका वडा नं. ३ रावतकट्टे स्थित रत्न आधारभूत बिद्यालयको प्राङ्गणमा आयोजना गरिएको समारोहमा बोल्दै प्रदेश प्रमुख भट्टले जोरायल गाउँ पालिकाबासीले आफुलाई दिएको माया र सम्मानको लागि धन्यवाद दिनु भयो ।
आफुले जीवनको महत्वपूर्ण समय जोरायलवासी दाजुभाई तथा दिदी बहिनीहरुसँगै बिताएको स्मरण गर्दै प्रदेश प्रमुख भट्टले जोरायलबासीको साथ र सहयोगले नै आफु राज्यको महत्वपूर्ण निकायमा पुग्न सफल भएको बताउनु भयो । आफु जिम्मेवारीको हैसियतले गण्डकी प्रदेशको प्रमुख भएपनि जोरायलको बिकास र समृद्धिमा आफ्नो सधैं साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा बोल्दै जोरायल गाउँ पालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जीवनको महत्वपूर्ण समय राजनीति तथा समाजसेवामा बिताएका डिल्लीराज भट्टलाई ढिलै भएपनि राज्यले सम्मान गरेको धारणा व्यक्त गर्नु भयो । प्रदेश प्रमुख भट्ट जोरायल गाउँ पालिकाबासीको अभिभावक रहेको बताउँदै जोरायल गाउँ पालिकाबासीको तर्फबाट सम्मान तथा अभिनन्दन गर्न पाउँदा खुशी लागेको बताउनु भयो ।
यसै गरि जोरायल गाउँ पालिकाकी उपाध्यक्ष जमुना बोहराले जीवनमा सधैं त्याग र निष्ठाको राजनीति गरेका डिल्लीराज भट्टलाई राज्यले गरेको सम्मानले जोरायल गाउँ पालिकाबासीलाई हर्षित बनाएको बताउनु भयो ।
उक्त कार्यक्रममा पूर्ब सँबिधानसभा सदस्य किर्पासिं राना लगायतका बक्ताहरुले बोल्नु भएको थियो । जोरायल महोत्सबको समापनको अवसरमा नागरिक अभिनन्दन कार्यक्रम आयोजना गरिएको थियो ।