घण्टेश्वर अनलाईन
युलेश, टेक्सास
नेपालीहरु भौतिक रुपमा जहाँ भएपनि नेपाली नयाँ बर्षलाई महत्वका साथ मनाउने गर्दछन । नेपालमा हरेक बर्ष बैशाख १ गते नयाँ बर्ष मनाउने गरिन्छ भने बिदेशमा रहेका नेपालीहरुले आफुलाई पायक पर्ने विदाको दिनमा नयाँ बर्ष मनाउने गर्दछन । नेपाली समुदायको बाक्लो बसोवास रहेको टेक्सासको ड्यालस फोर्टवर्थ क्षेत्रमा बसोवास गर्ने नेपाली समुदायले भने आउँदो अप्रिल २८ गते आईतबारका दिन बनभोज सहित नयाँ बर्ष मनाउने भएका छन ।
नेपाली समाज टेक्सासको आयोजनामा बनभोज सहित नयाँ बर्ष उत्सवको रुपमा मनाउन लागिएको छ, नेपाली समाजका प्रबक्ता किरण पौड्यालले बताउनु भयो । नयाँ बर्षको अवसरमा बनभोज, बिबिध साँस्कृतिक कार्यक्रम, बालबालिका तथा अन्यका लागि पनि बिबिध खेलकुद कार्यक्रम आयोजना गरिने नेपाली समाज टेक्सासले जनाएको छ ।
बनभोज सहितको नयाँ बर्ष मनाउने कार्यक्रममा आउने सहभागि र व्यवस्थापनको लागि लागत अनुमान गर्न RSVP अनिबार्य गरिएको छ । बनभोज कार्यक्रममा सहभागि हुन चाहने व्यक्तिहरुले नेपाली समाज टेक्सासको आधिकारिक फेसबुक पेजको NST Picnic (google.com) मा गएर विवरण भर्न नेपाली समाजले अनुरोध गरेको छ ।
नेपाली समुदायहरु काममा व्यस्त हुने भएकाले नयाँ बर्ष लगायत बिभिन्न चाड पर्बहरु बिदाको दिन सबैलाई पायक पर्ने मिति समय र स्थानमा आयोजना गरि सामुहिक रुपमा मनाउने गर्दछन ।
यस अघि लुम्बिनी सेवा समाज अमेरिकाले पनि युलेशमा मौलिक बनभोज सहितको नयाँ बर्ष कार्यक्रम आयोजना गरेको थियो । यसैगरि सुदूरपश्चिम नेपाली समाज टेक्सासले पनि मे को पहिलो साता मौलिक बनभोज सहित नयाँ बर्ष कार्यक्रम मनाउन लागेको अध्यक्ष गगन केसीले जानकारी दिनु भयो ।