ड्यालसको ग्रेपभाईन लेकमा गुन्जियो “सुदूरपश्चिमेली डेउडा”

घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास
डेउडा नेपालको सुदूरपश्चिम क्षेत्रको साँस्कृतिक पहिचान हो । सुदूरपश्चिमेलीहरु भौतिक रुपमा जहाँ भएपनि डेउडालाई बिर्सन सक्दैनन् । एक्लै हुँदा होस वा सुदूरपश्चिमेलीहरुको जमघट हुँदा होस डेउडा गीत सुन्ने, गुनगुनाउने र डेउडामा नाच्ने गर्दछन ।
ड्यालसको ग्रेपभाईन लेकमा आईतबार आयोजना गरिएको बनभोज कार्यक्रममा सहभागि भएका सुदूरपश्चिमेलीहरु पनि डेउडामा रमाए । हातमा हात, खुट्टाको पैतल मिलाएर धित मरिन्जेल डेउडा खेले र रमाईलो गरे ।
सुदूरपश्चिम नेपाली समाज टेक्सासले नेपाली नयाँ बर्षको अवसर पारेर आईतबार बनभोज कार्यक्रमको आयोजना गरेको थियो । बनभोज कार्यक्रममा सहभागि भएका झण्डै ५ सय बढी सुदूरपश्चिमेलीहरु एक आपसमा चिनजान, दुःख सुखका कुराका साथै डेउडामा रमाईलो गरेर सुदूरपश्चिमको झल्को मेटाउने प्रयास गरका थिए ।
अमेरिका भ्रमणमा आएका सुदूरपश्चिमका केही बुढापाकाहरु सुदूरपश्मिेलीको जमघट देखेर चकित परेका थिए । आफु पहिलो पटक अमेरिका भ्रमणमा आएको र सुदूरपश्चिमेलीको यसरी जमघट होला भनेर कल्पना समेत नगरेको कन्चनपुरका रामबहादुर चन्दले बताए ।
यस्तै अमेरिका भ्रमणमा रहेकी जयन्ती जोशीको पनि रामबहादुर चन्दको जस्तै धारणा थियो । आफुले बनभोज कार्यक्रममा धेरै सुदूरपश्चिमेलीहरुसँग चिनजान गर्न पाएको र आफु सुदूरपश्चिममै रहेको अनुभूति गरेको बताईन् ।
अमेरिकाको बिभिन्न राज्यमा स्थापित सुदूरपश्चिम नेपाली समाजहरुले सुदूरपश्चिमका प्रमुख साँस्कृतिक चाड पर्बहरु सामुहिक रुपमा आयोजना गरेर सुदूरपश्चिमेलीहरुलाई जमघट गराउँदै आएको छ ।
हामी भौतिक रुपमा बिदेशमा छौं । नेपालीे चाडपर्बहरु नजिकिदै जाँदा एक्लोपन महसुस हुने गर्दछ । त्यसैले सुदूरपश्चिम नेपाली समाज टेक्सासले सुदूरपश्चिम क्षेत्रमा मनाईने गौरा, होली, बिसु जस्ता साँस्कृतिक चाडहरु सामुहिक रुपमा आयोजना गर्दै आएको अध्यक्ष गगन केसीले बताउनु भयो ।
बिदेशमा नेपाली चाडपर्बहरु सामुहिक रुपमा आयोजना गर्दा चाड पर्बको समयमा देखिने एक्लोपन नहुने, एकआपसमा परिचय, भेटघाट दुःखसुख साटासाट त हुने नै भयो, अमेरिकामा जन्मेका र हुर्केका बालबालिकाहरुलाई सुदूरपश्चिमको भाषा सँस्कृतिसँग परिचय गराउन पनि सहयोग पुग्ने केसीको धारणा रहेको छ ।
सुदूरपश्चिम क्षेत्रका प्रमुख चाड पर्बहरु सामुहिक रुपमा आयोजना गर्दा प्रयोग गर्ने उद्देश्यले सुदूरपश्चिम क्षेत्रका साँस्कृतिक बाजाहरु दाईन, दमाहा, झ्याली लगायत चाडपर्बमा लगाईने पोशाक समेत खरिद गरिएको समाजले जनाएको छ ।
अमेरिकामा सबै काममा व्यस्त रहने भएकाले बिदाको दिन पारेर सबैलाई अनुकुल हुने मिति समय र स्थानमा नेपाली चाडपर्बहरु सामुहिक रुपमा आयोजना गर्ने गरिन्छ ।

 

 

Leave A Reply

Your email address will not be published.