घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास
ईन्द्रेणी साँस्कृतिक संघ टेक्सासले आईतबार आयोजना गर्ने पारिवारिक बनभोज कार्यक्रमको सबै तयारी गरिसकेको थियो । आईतबार बिहान ड्यालस फोर्टवर्थ क्षेत्रको मौसम बदलिएपनि बिस्तारै सुधार हुँदै गयो । दिउसो करिब १ बजे तिर ड्यालस फोर्टवर्थ क्षेत्रको चर्चित पन्चेवाजा टीम कार्यक्रम स्थलमा प्रवेश गर्यो । त्यस लगत्तै बज्न थाल्यो लाईभ पन्चे बाजा धुन । पन्चे बाजाको धुनमा सबै सहभागिहरु छमछमी नाच्न थाले । एकाएक बियरक्रिक पार्क सँगीतमय बन्यो ।
ड्यालस फोर्टवर्थ क्षेत्रमा रहेका कलाकारहरुको सँस्था ईन्द्रेणी साँस्कृतिक संघले नेपाली नयाँ बर्षको अवसर पारेर आईतबार पारिवारिक बनभोज कार्यक्रमको आयोजना गरेको थियो । नेपालीहरुको बाक्लो बसोवास रहेको युलेश शहर नजिक रहेको बियरक्रिक पार्कमा ईन्द्रेणीसँग आबद्ध कलाकर्मीहरुले सपरिवार बनभोज त खाए नै । संगै नाचगान गरेर शारीरिक तथा मानसिक थकान मेट्ने प्रयास गरे ।
बिहान बेलुकी हातमुख जोर्न बिदेशमा काम गर्नै पर्दछ । व्यस्त जीवनशैलीले हुने शारीरिक तथा मानसिक थकान मेट्न, एकआपसमा सुख दुःख साटासाट गर्न पारिवारिक साँस्कृतिक कार्यक्रम सहितको बनभोज कार्यक्रमको आयोजना गरिएको ईन्द्रेणी साँस्कृतिक संघका कार्यबहाक अध्यक्ष सन्जिव पराजुलीले बताउनु भयो ।
उक्त अवसरमा पन्चे बाजामा नृत्य, महिला तथा बालबालिकाको नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्ले, युलेश सिटी काउन्सिल सदस्य टीका पौडेल सहित नेपाली समुदायका अगुवाहरु, पत्रकारहरुको समेत सहभागिता रहेको थियो । संघका महासचिब तेज अर्यालले सन्चालन गर्नु भएको कार्यक्रममा कार्यबहाक अध्यक्ष सन्जिव पराजुलीले सहभागिहरुलाई स्वागत गर्नु भएको थियो ।
ईन्द्रेणी साँस्कृतिक संघले नेपालीहरुको प्रमुख चाड पर्बहरु नयाँ बर्ष, होली, तिज, देउसी भैलो कार्यक्रम बिशेष रुपमा आयोजना गर्दै आएको छ । ईन्द्रेणी साँस्कृतिक संघले आयोजना गर्ने हरेक कार्यक्रमहरु संगीतमय हुने भएकाले नेपाली समुदायले रुचाउने गर्दछन र सबैलाई आकर्षित गर्ने गर्दछ ।


