घण्टेश्वर अनलाईन
दिपायल
सुदूरपश्चिम प्रदेशको धार्मिक, ऐतिहासिक तथा प्रमुख पर्यटकीय स्थलका रुपमा चिनिने खप्तडमा हेलि टुरमार्फत यस बर्ष दुई सय ५० जना स्वदेशी तथा बिदेशी पर्यटकले भ्रमण गरेका छन् । यहि फागुन १ गतेबाट १४ गते सम्म सञ्चालन भएको हेलिटुर मार्फत दुई जना विदेशी पर्यटक सहित दुई सय ५०जना पर्यटक खप्तड भ्रमण गरेको पर्यटन ब्यवसायी दीपकबहादुर खड्काले बताउनु भयो ।
खड्काका अनुसार कम्तीमा पनि ३ सय ५० जना पर्यटक भ्रमण गराउने लक्ष्य रहेकोमा २ सय ५० जनाले सफलताका साथ खप्तड भ्रमण गरेका छन । अत्यधिक हिमपातका कारण बडिमालिका क्षेत्रमा पर्यटकलाई भ्रमण गराउन नसकिएको उनले घण्टेश्वर अनलाईनलाई बताउनु भयो ।
चिसोको समयमा सुनसान जस्तै देखिने खप्तड क्षेत्रमा हेलिटुर सञ्चालन भएपछि पर्यटकलाई आवत जावतका लागि सहज भएको थियो । कोरोना महामारीले केही वर्ष थला परेको यस क्षेत्रको पर्यटन क्षेत्रले हेलिटुर सञ्चालन पछि गति लिएको छ । माउन्टेन हेलिकोप्टर प्रा.लि.सँगको सहकार्यमा खप्तड होमस्टे झिग्राना तथा खप्तड एडभेन्चर टुर्स डोटीले उक्त भ्रमण योजना सन्चालन गरेको थियो ।
गत बर्ष पहिलो पटक परिक्षणको रुपमा सन्चालन गरिएको हेलिकोप्टरबाट खप्तड तथा बडिमालिका भ्रमण प्याकेजले आन्तरिक पर्यटकहरुलाई निकै आकर्षित गरेपछि यसबर्षपनि निरन्तरता दिईएको खप्तड होमस्टे झिग्राना तथा खप्तड एडभेन्चर टुर्सका प्रबन्ध निर्देशक खड्काले भन्नु भयो । गत बर्ष हेलीकोप्टरबाट १ सय ३५ जना आन्तरिक पर्यटकले खप्तड तथा बडिमालिका भ्रमण गरेका थिए ।
हिउँदको मौसममा खप्तड तथा बडिमालिका क्षेत्रमा भारी हिमपात हुने गर्दछ । हिउँ खेल्ने तथा खप्तड तथा बडिमालिका क्षेत्रको दृश्यावलोकन गर्न चाहने पर्यटकहरुका लागि यो उपयुक्त मौसम पनि हो ।