बोस्टनमा नेजाको १७ औं साधारण सभाको तयारी तिब्र
संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी प्रतिनिधि लोकबहादुर थापाले उद्घाटन गर्ने
घण्टेश्वर अनलाईन
बोस्टन अमेरिका
नेपाल अमेरिका पत्रकार संघ (नेजा) को १७ औं साधारण सभा यही मे महिनाको २५ र २६, २०२४ (शनिबार र आइतबार) मा अमेरिकाको ऐतिहासिक शहर बोस्टनमा हुने भएको छ । संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी प्रतिनिधि लोकबहादुर थापाद्वारा उद्घाटन गरिने १७ औं साधारण सभाको तिब्रताका साथ भईरहेको तयारी समितिका सँयोजक तथा नेजाका उत्तर–पूर्व क्षेत्रीय संयोजक सुपेन्द्र बस्नेतले जानकारी दिनु भयो ।
तयारी समितिका सँयोजक बस्नेतका अनुसार अनुसार साधाण सभा 594 Washington Street, Braintree, MA– 02184 स्थित प्रवासी नेपालीहरुको संस्था ‘पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङल्याण्ड (प्याब्फोन–PABFONE ) को सामुदायिक भवनमा गर्ने निधो गरिएको छ ।
यसैगरी, साधारण सभामा सहभागी हुने नेजा सदस्यहरुलाई कार्यक्रम स्थलबाट झण्डै पाँच माइल दुरी रहेको 1374 N Main Street, Randolph, MA–02368 मा अवस्थित होटल कम्फोर्ट इन ड्यानरफ (Comfort Inn Randolph) मा बास बस्ने व्यवस्था मिलाईएको छ भने, विहानको नास्ता बासस्थानमा र दिउसो र साँझको खाना कार्यक्रम स्थलमै व्यवस्था गरिने भएको छ । कार्यक्रम स्थल र बासस्थानमा आवतजावतको व्यवस्था भने स्थानीय संघ संस्थाका प्रतिनिधि एवम् सहयोगीहरुको सहयोगमा गरिने छ ।
बार्षिक साधारण सभामा प्रस्तुत गरिने नेजाको प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, विभिन्न उपसमितिहरुको कार्यसम्पादन प्रतिवेदन, विधान संशोधनका लागि प्रस्तावलाई अन्तिम रुप दिने काम भईरहेको नेजाले जनाएको छ । नेजाले वार्षिक साधारण सभाको अवसर पारेर संस्थाको स्मारिका ’प्रयास’ प्रकाशन गरिने छ । विद्यमान नेपाली पत्रकारिता एवम् भाषाको महत्व’ विषयलाई प्राथमिकताका दिईएको उक्त स्मारिकाको सम्पादन वरिष्ठ पत्रकार एवं भाषाविज्ञ शरच्चन्द्र वस्तीलाई जिम्मेवारी दिईएको क्षेत्रीय सँयोजक बस्नेतले जानकारी दिनु भयो ।
उत्तर अमेरिकामा रहेका नेपाली मूलका पत्रकारहरुको साझा संस्था नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले हरेक बर्ष वार्षिक साधारण सभा र प्रत्यक दुइ वर्षमा अधिवेशन गर्दै आएको छ । सन २००७ मा स्थापना भएको नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले गत बर्षको मे २० र २१ मा टेक्सासको ह्युस्टनमा सम्पन्न आठौं अधिवेशन तथा १६ औं साधारण सभाले सुरज भण्डारीको अध्यक्षतामा २ बर्षको लागि नयाँ नेतृत्व चयन गरेको थियो ।