घण्टेश्वर अनलाईन
बोस्टन, अमेरिका
नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले १७ औं साधारण सभामा सहभागी हुने आफ्ना सदस्यहरुलाई अग्रिम नाम दर्ता गराउन आग्रह गरेको छ ।
यही मे २५ र २६, २०२४ (शनिबार र आइतबार) मा बोस्टनमा आयोजना हुने साधारण सभामा सहभागी सदस्यहरुले मे १७ तारिख शुक्रबार रातको १२ बजे (अमेरिकाको पूर्वीय समय अनुसार) सम्म नाम दर्ता सक्नुपर्ने नेजाले जनाएको छ । साधारण सभाको व्यवस्थापनको लागि नाम दर्ता अनिबार्य गरिएको मूल आयोजक समितिका संयोजक सुपेन्द्र बस्नेतले बताए ।
संयोजक बस्नेतका अनुसार साधारण सभाको अवसर पारेर नेजाका सदस्यहरु सपरिवार बोस्टन आउन सक्ने छन । बोस्टन अमेरिकाको ऐतिहासिक तथा पर्यटकीय शहर हो । साधारण सभाको अवसर पारेर नेजा सदस्यहरु सपरिवार बोस्टनका ऐतिहासिक तथा पर्यटकीय स्थलहरु भ्रमण गर्ने सदस्यहरुलाई नेजाले होटल व्यवस्थापनमा सहयोग गर्ने छ । हामीले साधारण सभामा सहभागी हुन चुले निम्तो नै पठाएका छौं, बस्नेतले बताए ।
साधारण सभामा सहभागी हुने नेजा सदस्यहरुले प्रति ब्यक्ति १ सय पचास डलर र परिवार सहितका लागि २ सय डलर दर्ता शुल्क तिर्नु पर्ने मूल तयारी समितिले जनाएको छ । त्यसका लागि सबै सदस्यहरुलाई बिद्युतीय फाराम पठाईएको समेत नेजाले जानकारी गराएको छ ।
तर, साधारण सभामा सहभागी हुने परिवारका सदस्यहरुले साधारण सभामा सहभागिता जनाए तापनि, संस्थाको आधिकारिक निर्णय प्रक्रियाहरुमा भाग लिएर मत तथा अभिमत दिन नपाउने समेत नेजाले स्पष्ट पारेको छ । नेजाको साधारण सभा 594 Washington Street, Braintree, MA– 02184 स्थित प्रवासी नेपालीहरुको संस्था ‘पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङल्याण्ड (प्याब्फोन–PABFONE) को सामुदायिक भवनमा हुने गरी आवश्यक तयारी गरिएको छ ।
नेजाका अनुसार साधारण सभामा सहभागी हुने नेजा सदस्यहरुले निम्न लिंकमा गएर नाम दर्ता गराउन सक्ने छन ।