
घण्टेश्वर अनलाईन
बोस्टन, अमेरिका
नेपाल अमेरिका पत्रकार संघ (नेजा) को १७ औं साधारण सभा आईतबार सम्पन्न भएको छ । अमेरिकाको म्यसाच्युसेट्स राज्यको बोस्टन स्थित पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू ईंग्ल्याण्डको सामुदायिक भवनमा सम्पन्न साधारण सभाले संघको विधान संशोधन गर्नुका साथै महासचिब बाबुराम दाहालद्वारा प्रस्तुत सांगठनिक तथा कोषाध्यक्ष जानु पंगेनीद्वारा प्रस्तुत आर्थिक प्रतिबेदन छलफल सहित पारित गरिएको नेजाले जनाएको छ ।
नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष सुरज भण्डारीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा बोल्ने पत्रकारिता क्षेत्र तथा नेपाली समुदायका अगुवाहरुले प्रवासमा नेपाली समुदायको पहिचान स्थापित गर्न समुदाय बलियो हुनु पर्ने र त्यसका लागि मिडियाको महत्वपूर्ण भूमिका रहने बिचार व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै नेपाल सरकारको राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिली थापाले समुदाय र मिडियाको सम्बन्धको वारेमा चर्चा गर्दै पत्रकारिता क्षेत्र स्वचालित हुने भएकाले कसैद्वारा सन्चालित हुन नहुने कुरामा जोड दिनु भयो । यसैगरि कार्यक्रममा गभर्नर्स एडभाइजरी काउन्सिल अन रेफ्युजी एण्ड इमिग्रेन्ट अफ कमनवेल्थ, म्यासाच्युसेट्सका अध्यक्ष प्रल्हाद केसीले नेपाली पहिचान स्थापित गर्नका लागि नेपाली समुदायले अमेरिकी मूलधारको राजनीतिमा चासो र सहभागिता जनाउनु पर्ने खाँचो औंल्याउनु भयो ।
उद्घाटन कार्यक्रममा शुभकामना व्यक्त गर्दै नेपाल पत्रकार महासंघका पुर्ब उपाध्यक्ष यशोदा तिम्सिनाले प्रवासीहरुलाई पत्रकारिताको माध्यमबाट नेपालसंग जोड्न पत्रकारहरुले भूमिका खेल्नु पर्ने कुरामा जोड दिनु भयो । यस्तै नेपाल अमेरिका पत्रकार संघ (नेजा) का संस्थापक अध्यक्ष गिरिश पोखरेलले पत्रकारहरुले पत्रकारिता क्षेत्रको माध्यमबाट समाजलाई सशक्तिकरण गर्नु पर्ने कुरामा जोड दिनु भयो । नेजाका पूर्व अध्यक्ष भोला आचार्यले प्रवासीहरुलाई सही सूचना र जानकारीको आबश्यक हुने बताउँदै प्रवासमा पत्रकारिता गरिरहेका पत्रकारहरुले समुदायका सवाल पहिचान गरेर कलम चलाउनु पर्ने बताउनु भयो ।
कार्यक्रममा नेपाली समुदायका अगुवाहरु एनआरएनए, एनसिसि, अमेरिकाका उपाध्यक्ष प्रेम तामाङ, बोर्ड अफ एजुकेशन, ब्राण्डफोर्ड टाउन, कनेक्टिकटका डाइरेक्टर रामचन्द्र श्रेष्ठ, ब्राण्डफोर्ड टाउन रेप्रिजेन्टेटिभ द्वय चिरन न्यौपाने र ज्ञानु श्रेष्ठ, बोस्टनका लागि नेपाल सरकारका पर्यटन प्रवद्र्धक मिलन गुरुङ, एनआरएनए, एनसिसि, अमेरिकाका मिडिया संयोजक सतिस चापागाईं, नेजाका संस्थापक मध्येका एक शिव प्रकाश पौडेल, बरिष्ठ खेल पत्रकार विनोद पाण्डे, अन्तराष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष गोबद्र्धन पूजा, एनआरएनए अमेरिकाको म्यासाच्युसेट्स च्याप्टरका अध्यक्ष प्रचण्ड श्रेष्ठ, पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इंग्ल्याण्ड(एब्द्यँइल्भ्) का अध्यक्ष बिरोचन नेपाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, म्यासाच्युसेट्स च्याप्टरका अध्यक्ष महेश्वर पन्त, नेपाली वोमन्स ग्लोबल नेटवर्क न्यू इंग्ल्याण्ड च्याप्टर(NWGN) की सल्लाहकार रुक्मिणी कार्की लगायतका बक्ताहरुले पत्रकारिता क्षेत्रको भूमिकाको वारेमा बोलेका थिए ।
साधारण सभाको उद्घाटन कार्यक्रममा नेजाको बार्षिक प्रकाशन स्मारिका ‘प्रयास’ विमोचन गर्नुका गरिनुका साथै अतिथीहरुलाई मायाको चिनो र सहयोगीहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।