घण्टेश्वर अनलाईन
ड्यालस टेक्सास
टेक्सासको ड्यालस फोर्टवर्थ क्षेत्रमा रहेका नेपाली समुदायका ३८ जना महिलाको शनिबार स्तन क्यान्सर सम्बन्धि निःशुल्क परीक्षण गरिएको छ । मोन्सक्रिफ क्यान्सर ईन्स्टिच्युट सँगको सहकार्यमा आयोजना गरिएको स्तन क्यान्सर परीक्षण शिबिरमा मेमोग्राम परीक्षण गरिनुका साथै नेपाली स्वास्थ्यकर्मीहरुद्वारा महिलाहरुलाई स्तन क्यान्सर सम्बन्धि जानकारी दिईएको थियो ।
नेपाली समुदायका महिलाहरुमा स्तन क्यान्सर सम्बन्धि परीक्षण तथा स्तन क्यान्सर सम्बन्धि जानकारी दिई स्तन क्यान्सरको जोखिम कम गर्ने उद्देश्यले शिबिर आयोजना गरिएको नेपाली समाज टेक्सासका महिला बिभाग प्रमुख शान्ता गिरीले बताउनु भयो ।
निःशुल्क स्तन क्यान्सर परीक्षण शिबिरमा मोन्सक्रिफ क्यान्सर ईन्स्टिच्युटको स्वास्थ्यकर्मी टोलीले स्तन क्यान्सर परीक्षण तथा डा. बिष्णुमाया उपाध्याय स्वास्थ्यकर्मीको टोलीले महिलाहरुको स्वास्थ्य परीक्षण गरेको थियो ।
‘स्तनका सबै गाँठागुँठी क्यान्सर हुँदैनन्, तर गाँठागुँठी देखिए क्यान्सर हो या होइन भन्ने यकिन गर्नुपर्छ । ‘बेलैमा यसको पहिचान भए निको भएर पूर्ववत जीवन जिउन सकिन्छ ।’ मेमोग्राम र युएसजी गरेर स्तन क्यान्सर भएको वा नभएको पत्ता लगाउन सकिने डा. बिष्णुमाया उपाध्यायले जानकारी दिनु भयो ।
नेपाली समाज टेक्सास महिला बिभागको आयोजना तथा ड्यालस हेल्थ लाईन्स क्लब, लाईन्सहेल्थ फाउन्डेशन र मोवाईल मेडिकल केयर युनिटको सहयोग र सहभागितामा शिबिर आयोजना गरिएको थियो ।