घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास
राष्ट्रिय स्वतन्त्र पार्टीका सह प्रबक्ता तथा सामाजिक अभियन्ता रमेश प्रसाईले सहकारी पीडितहरुको रकम फिर्ता गराउने जिम्मेवारी गृहमन्त्री रबि लामेछानेको भएको बताउनु भएको छ ।
रिपोर्टस क्लब अमेरिकाद्वारा आज टेक्सासको ड्यालसमा आयोजना गरिएको साक्षात्कार कार्यक्रममा बोल्दै सह प्रबक्ता प्रसाईले सरकारको जिम्मेवार मन्त्रालयमा रहनु भएकाले पनि सहकारीको रकम हिनामिनामा सँलग्न व्यक्तिहरुलाई कानूनी दायरामा ल्याउने र रकम फिर्ता गराउने कार्यमा गृहमन्त्रीले प्राथमिकताका साथ भूमिका खेल्नु पर्ने कुरामा जोड दिनु भयो ।
पत्रकारहरुको एक जिज्ञासामा सहकारी रकम अपचलनको मुद्दामा पार्टी अध्यक्ष रबि लामिछाने निर्दोष रहेको जिकिर गर्दै आरोप प्रमाणित भएमा अन्यलाई भन्दा तिनगुना बढी दण्ड हुनु पर्ने आफ्नो धारणा रहेको बताउनु भयो ।
अन्तरदृष्टि नामक बाल गृहको लागि सहयोग जुटाउन पत्नी नन्दा सिंह सहित अमेरिका भ्रमणमा रहनु भएका प्रसाईले प्रवासी नेपालीहरुको समस्याका वारेमा सबै भन्दा बढी आफ्नो पार्टी जानकार रहेको दावी गर्नु भयो । नागरिकतासँग सम्बन्धित अन्य ऐन कानूनहरुलाई पनि संशोधन गरि गैर आवासीय नेपाली नागरिकताको प्राप्ती र अधिकार उपभोग गर्ने प्रकृयालाई सरलिकृत गर्नु पर्ने कुरामा जोड दिदै त्यसका लागि आफ्नो पार्टीले सँसदमा बुलन्द आवाज उठाउने प्रतिबद्धता जनाउनु भयो ।
आफ्नो अमेरिका भ्रमण राजनैतिक नभएर बिशुद्ध सामाजिक भएको बताउँदै टेक्सासमा रहेका केही व्यक्तिहरुले सामाजिक सन्जाल मार्फत अतिरन्जित हुने गरि गरिएको टिप्पणी प्रति प्रसाईले दुःख व्यक्त गर्नु भयो । अन्तरदृष्टि नेपालले १४ जना अनाथ बालबालिकाहरुलाई बालगृहमा राखेर शिक्षा स्वास्थ्य सहित आश्रय दिईरहेको बताउँदै उक्त बालगृहलाई अमेरिकाका नेपाली समुदायबाट प्राप्त सहयोग प्रति धन्यवाद समेत दिनु भयो । कार्यक्रम रिपोर्टस क्लब अमेरिकाका अध्यक्ष किसन रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
यसअघि सामाजिक अभियन्ता समेत रहेका प्रसाईले नेपाली समाज टेक्सासद्वारा नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्रको सभाकक्षमा आयोजना गरिएको अन्तरकृया कार्यक्रममा ड्यालस फोर्टवर्थका नेपाली समुदायसँग अन्तरकृया गर्नु भएको थियो ।